डिल्लीबजारमा खुल्यो कोदो र फापर सहित १२ थरी मःमः रेरष्टुरेन्ट – Nepal Press

डिल्लीबजारमा खुल्यो कोदो र फापर सहित १२ थरी मःमः रेरष्टुरेन्ट

काठमाडौं । काठमाडौंको डिल्लीबजारमा शनिबारदेखि १२ थरी मःमः रेरष्टुरेन्ट संचालनमा आएको छ । २५ वर्षका दुई युवाले ३० लाख रुपैयाँ लगानीमा रेष्टुरेन्ट खोलेका हुन् ।

पोखरामा होटल संचालन गरिरहेका आग्रह अर्याल र लक्ष्मी समूहको जागिर छाडेका सुनिम मैनालीले खोलेको यो रेष्टुरेन्टमा १२ थरीका मःम पाइन्छ । अर्यालको पोखराको लेकसाइडमा क्राउन हिमालय होटल छ । अर्याल र मैनाली स्कुले साथी हुन् ।

‘हामी १२ वर्षदेखि सहकार्य गरिरहेका छौं । पहिलेदेखि आफ्नै व्यवसाय सरु गर्ने योजना बनाएका थियौं । खाजाको रूपमा हाम्रो देशमा मःमः नै पहिलो प्राथमिकतामा छ । हामीले आफ्नो आउटलेटमार्फत विशेषगरी विभिन्न प्रकारका मःमः को स्वादमा ल्याउने प्रयास गरेका छौं,’ अर्यालले भने ।

रेष्टुरेन्ट खोल्नु अगाडि उनीहरुले मुलुकका विभिन्न शहरमा सञ्चालित प्रख्यात रेष्टुरेण्टमा मःमःको स्वाद लिएका थिए । डिल्लीबजारमा पाँच सय स्क्वायर फिट क्षेत्रफलको आउटलेट छ ।

एक पटकमा २६ जना ग्राहकले सहजै सेवा लिन सक्ने आउटलेटमार्फत टेक अवे र होम डेलिभरी सेवा लिन सक्ने सञ्चालक मैनालीले बताए । उनका अनुसार अनलाइन डेलिभरीका लागि फूडमाण्डूलाई आवद्ध गरिएको छ ।

हालको अवस्थालाई मध्यनजर गर्दै आउटलेटमा स्वास्थ्य सुरक्षा अवलम्बनसँगै रकम भुक्तानीका लागि क्युआर कोड प्रणाली लागू गरिने उनले जानकारी दिए । ‘सुरुवाती चरणमा हाम्रो रेष्टुरेन्टमा १५० रुपैयाँमै ग्राहकले विभिन्न प्रकारको मःमःको स्वाद लिन सक्नेछन्,’ उनले भने । ग्राहकले अनलाइन अर्डर र डिजिटल पेमेन्ट गर्ने पनि सुविधा हुनेछ ।

रेष्टुरेन्टमा कोदो, फापर, ग्रीन, चिज लगायत विभिन्न थरीका मःमः पाइनेछ ।’ अहिले फापर र कोदोलाई स्वास्थ्यवर्धक मानिँदै आइएको छ । हामीले यी दुई प्रकारका मःमःलाई अझै प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘ओपनिङमा हामीले सबै प्रकारका मःमः १५० रुपैयाँमा बिक्री गर्ने योजना छ । अलि पछि हामीले मेनु सार्वजनिक गर्छौं ।’

प्रत्येक परिकारमा तीन थरीको अचार ‘चटनी’ राखिएको छ । ग्राहकले झोल मःमःमा भने गुन्द्रुक र तामाको झोलसहितको भिन्न स्वाद लिन सक्नेछन् ।

रेष्टुरेन्टमा मःमः सँगै सफ्ट ड्रिंक्स, फ्रेञ्च फ्राइ, चिकेन विङ्स लगायतको परिकार पनि राखिएको उनले जानकारी दिए । पहिलो ब्रान्चसञ्चालनमा आएसँगै तत्काल थप एउटा आउटलेट विस्तार गर्ने योजना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर