सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव – Nepal Press

सुदूरपश्चिममा ‘युके भेरियन्ट’ कोरोनाः जटिल संक्रमित बढ्दै, आइसियु अभाव

कैलाली । सुदूरपश्चिम प्रदेशमा ‘युके भेरियन्ट’को कोरोना भित्रिएको पुष्टि भएको छ । भाइरसको प्रकार पत्ता लगाउन विभिन्न जिल्लाका २० जनाको नमुना चैत १५ गते काठमाडौँ पठाइएको थियो । तीमध्ये ३ जनामा भेरियन्ट पुष्टि भएको हो ।

हङकङमा परीक्षण गर्दा ‘युके भेरियन्ट’ पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

‘हङकङ पठाइएकाहरूको नमूनामा ‘युके भेरियन्ट’ पुष्टि भएको हो’ उनले भने ‘अहिले ती सबै निको भइसकेका छन् ।’

डोटीको जोरायल गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका र डडेलधुराको परशुराम नगरपालिकाका एक एक जनामा युके भेरियन्ट रहेको पुष्टि भएको हो । उनीहरूमध्ये १ जना कञ्चनपुरको गड्डाचौकी र २ जना गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।

नेपालमा दोस्रो लहरको कोरोना सुरु हुँदा सुदूरपश्चिम प्रदेशमा युके भेरियन्टको कोरोना प्रवेश गरेपछि थप जोखिम बढेको छ ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले दोस्रोपटक पनि स्वाव परीक्षणको लागि पठाइएको जानकारी दिए ।

जटिल संक्रमित थपिँदै

अहिले प्रदेशमा जटिल प्रकारका कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेको छ । सेती प्रादेशिक अस्पतालमा मात्रै अहिले ३८ संक्रमितको उपचार भइरहेको छ ।

तीमध्ये ३ जना भेन्टिलेटरमा छन् । १० जना आइसियुमा र अन्य १५ जना पनि गम्भीर छन् । उनीहरूलाई बेला बेला अक्सिजन आवश्यक पर्छ ।

पहिलो चरणमा भन्दा दोस्रो चरणमा जटिल प्रकारका कोरोना सक्रमितहरुको सङ्ख्या बढिरहेको अस्पतालमा सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

‘गत वर्ष यस्तो अवस्था थिएन’ उनले भने ‘अहिले दैनिक रूपमा जटिल संक्रमितको सङ्ख्या बढिरहेको छ । ’

नेपालमा दोस्रो लहरको कोरोना सुरु भइसकेपछि सेती प्रादेशिक अस्पतालमा उपचाररत २ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

चैत्र ३० गते कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष र वैशाख ४ गते कञ्चनपुरको वेदकोट नगरपालिका– १० का ८१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

भेन्टिलेटर र आइसियुको अभाव

सेती प्रादेशिक अस्पतालमा १० वटा भेन्टिलेटर छन् । तर, तीव्र गतिमा कोरोना संक्रमित भेटिएसँगै भेन्टिलेटर अभाव हुने देखिएको छ । १५ आइसियु पनि कम हुने अस्पतालमा सूचना अधिकारी श्रेष्ठले बताए ।

उनी भन्छन् ‘अहिले नै ३ भेन्टिलेटर र १० आइसियु भरिएका छन् । थप जटिल सङ्क्रमित बढिरहेका छन् । अझै थपिए कहाँ राख्ने भन्ने चिन्ता छ ।’

कोरोना संक्रमितको सङ्ख्या बढ्न सक्नै भन्दै बुधवार मात्रै अस्पतालले ५ शय्या आइसियु थप गरेको जनाएको छ । तर, त्यो पनि पर्याप्त नहुने श्रेष्ठ बताउँछन् ।

लक्षण नभएका सङ्क्रमितहरूलाई कैलालीको धनगढी १५ कनरिमा तयार गरिएको आइसोलेसनमा राखिने गरिएको छ । ११० जनासम्म राख्न सकिने गरी तयार पारिएको आइसलेसनमा बिहीबार बिहानसम्म ५४ जना पुगी समेका छन् ।

२१ जना सङ्क्रमित बिहीबार बिहान मात्रै थपिएका हुन् । लक्षण नभएका सङ्क्रमितहरूलाई आइसोलेसनमा राखिने गरिएको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले भने, ‘लक्षण देखिएको अवस्थामा हामी अस्पताल पठाउँछौँ ।’

९ जिल्लामध्ये अहिले कैलाली कञ्चनपुर र डोटीमा मात्रै भेन्टिलेटर जडान गरिएको छ । जसले गर्दा जटिल प्रकारका सङ्क्रमितहरूले उपचार नपाउने समस्या आउन सक्ने अनुमान समेत गरिएको छ ।

कैलालीको सेती अस्पतालमा १०, महाकाली अस्पतालमा ५, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा २÷२ भेन्टिलेटर छन् ।

भेन्टिलेटर छ, प्रयोग छैन

सुदूरपश्चिममा १९ भेन्टिलेटर मात्रै प्रयोगमा छन् । कैलालीको टीकापुर अस्पतालमा ४ वटा भेन्टिलेटर छन् । तर, ती प्रयोगविहीन छन् ।

जनशक्ति अभावमा भेन्टिलेटर प्रयोग हुन नसकोको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता कार्कीले जानकारी दिए ।

‘टीकापुरमा भएको ४ वटा भेन्टिलेटर प्रयोग छैन । थप ५ वटा किन्नको लागि बजेट गएको छ’ उनले भने, ‘उपकरणको अभाव होइन जनशक्तिको अभाव छ । ’

उनले पहाडी जिल्लाहरूमा पनि भेन्टिलेटर र आइसियु भए पनि जनशक्ति नहुँदा प्रयोग नभएको बताए ।

बैतडीमा २ वटा भेन्टिलेट ६ महिनादेखि प्रयोगविहीन अवस्थामा रहेको अस्पतालमा प्रमुख डा. वसन्त जोशीले जानकारी दिए ।

जिल्ला अस्पताल अछाममा रहेको २ वटा भेन्टिलेटर पनि अहिले प्रयोगमा आउन सकेको छैन । कोरोनाका जटिल बिरामी भर्ना हुन आए रिफर गर्नुको विकल्प नरहेको जिल्ला अस्पताल अछामका प्रमुख डा. अतुल भारद्धाजले जानकारी दिए ।

‘अक्सिजन प्लान्ट र दक्ष जनशक्ति नहुँदा भएको भेन्टिलेटर पनि प्रयोग भएको छैन’ उनले भने ‘अहिले जटिल प्रकारका सङ्क्रमितहरूलाई अन्यत्रै रिफर गर्नेपर्ने बाध्यता छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर