विद्यालय बन्द गर्ने जिम्मेवारी स्थानीय तहकै हो : गाउपालिका महासंघ र नगरपालिका संघ – Nepal Press

विद्यालय बन्द गर्ने जिम्मेवारी स्थानीय तहकै हो : गाउपालिका महासंघ र नगरपालिका संघ

काठमाडौं । विद्यालय सूचारु गर्ने वा बन्द गर्ने भन्ने अधिकार स्वयम स्थानीय सरकारको भएको गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले जनाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पुनः फैलिरहेको अवस्थामा विद्यालय शिक्षालाई कसरी निरन्तरता दिने भन्ने विषयमा विभिन्न धारण आइरहेका बेला महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र संघका अध्यक्ष अशाेक कुमार व्याञ्जुले संयुक्त रुपमा ३ वुदे अपिल जारी यस्तो आग्रह गरेका हुन् ।

‘यस सन्दर्भमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सार्वजनिक आव्हान गरेको छ । महामारीबाट समुदाय र विद्यालयलाई सुरक्षित गर्दै सिकाईलाई निरन्तरता दिने प्रमुख दायित्व स्थानीय सरकारको नै भएकोले यस सम्बन्धमा देहाय अनुसार गर्न÷गराउन हुन स्थानीय सरकारका महासंघ संघको तर्फबाट देशभरका सबै गाउँपालिका, नगरपालिकामा हार्दिक आव्हान गर्दछौं ।’ अपिलमा भनिएको छ ।

उनिहरुले संविधानत माध्यमिक शिक्षासम्मको समग्र व्यवस्थापन तथा सञ्चालनको मुख्य दायित्व स्थानीय सरकारको भएकोले आ–आफ्ना क्षेत्रमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै विद्यालय सञ्चालनको व्यवस्था गर्न आग्रह गरेका छन् । विद्यालय सुचारु गर्ने वा बन्द गर्ने भन्ने सम्बन्धमा आ–आफ्ना पालिकाको जोखिमको अवस्था विश्लेषण र सरोकारवालासँगको परामर्शको आधारमा स्वयम् गाउँपालिका, नगरपालिकाले आवश्यक निर्णय लिन महासंघ र संघको संयुक्त अपिल छ ।

यस्तै नेपाल सरकार र सम्बन्धित निकायले संवेदनशिल क्षेत्र भनि घोषणा गरेका जिल्लाका गाउँपालिका। नगरपालिकाले साविक अनुसार विद्यालय सञ्चालन गर्न सकिने वा नसकिने सम्बन्धमा सरोकारवालासँगको परामर्शमा आवश्यक निर्णय लिन र यदी विद्यालय सञ्चालन गर्ने परिस्थिती नदेखिएमा सिकाईका वैकल्पिक विधिको प्रयोग गरी सिकाई प्रकृयालाई निरन्तरता दिन पनि अपिलमा भनिएको छ ।

सरुवा रोग नियन्त्रण सम्बन्धी जिम्मेवारी संघीय सरकारको एकल जिम्मेवारीभित्र रहेता पनि विगतमा स्थानीय सरकारले कोरोना नियन्त्रणमा खेलेको भुमिका उल्लेख्य रहेको पनि अपिलमा स्मरण गराइएको छ । त्यसैले आधारभुत तथा माध्यमिक शिक्षा महत्वपूर्ण पक्ष हुँदाहुँदै पनि नागरिकको स्वास्थ्य गम्भिर विषय भएकोले यस महामारीबाट समुदायलाई सुरक्षित राख्न विगतको सिकाईको आधारमा पुर्व तयारी र त्यसको प्रभावकारी कार्यान्वयनमा योजनाबद्ध रुपमा कृयाशिल हुन अपिलमार्फत आग्रह गरिएको छ ।

साथै कोरोना भाइरस संक्रमणको जोखिमका कारण नियमित रुपमा विद्यालय सञ्चालन गर्न नसकिने क्षेत्रमा सिकाईलाई निरन्तरता दिन र सिकाई उपलब्धिको नियमित मुल्याङ्कनको वैकल्पिक व्यवस्थाको सहजिकरणको लागि सरकार र सम्बन्धित निकायुँग पनि अनुरोध गरिएको छ । महामारी नियन्त्रणमा विगतमा भएको सिकाईको आधारमा प्रभावकारी परिचालनमा तीन तहकै सरकारबीच आवश्यक समन्वय र सहकार्यको लागि पनि गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आग्रह गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *