‘दसैंभित्र बन्दीपुरमा चढ्न पाइन्छ केबुलकार’ – Nepal Press

‘दसैंभित्र बन्दीपुरमा चढ्न पाइन्छ केबुलकार’

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दसैंसम्ममा सञ्चालनमा आउने भएको छ । दसैंमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो ।

पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दसैंमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार बटम स्टेशनको काम सकिएको छ भने सामान पनि आइपुगेको छ । ‘दुई महिनाभित्र केबुलकारको टर्मिनल भवन पनि निर्माण सकिन्छ’, शर्माले भने ।

वर्ष कोभिड महामारीका कारण केही समय काम प्रभावित भएको थियो । ‘कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार सञ्चालनमा आइसक्थ्यो’, उनले भने, ‘अब दसैंमा सञ्चालन गर्ने गरी तयारी गरेका छौं ।’

शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।

पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना छ । १५ तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ । बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ । होटेलबाट सूर्योदय देख्न सकिनेछ ।

यहाँ सिसमहल, वाक्स म्युजियम, प्लानेटरियम, भूत बङ्गला, एक हजार क्षमताको सम्मेलन केन्द्र, रेस्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा रहनेछन् । माथिल्लो स्टेशनमा निर्माण हुने क्विन टावरको लागत रु ८० करोड छ ।

कम्पनीले परियोजना थप आकर्षक बनाउन संसारकै अग्लो बन्जीजम्प, अग्लो मेकानिकल स्वीङ, म्युजिकल वाटर शोसमेत बनाउने तयारी गरेको सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए । परियोजनाले दशौं हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ ।

बन्दीपुर गाउँपालिका-४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ । ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा दुई सय वारपार गर्न सक्नेछन् । एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।

ठूल्ढुङ्गास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।

केबुलकार परियोजनाका लागि दुई बैंले कर्जा लगानी गरेका छन् । बैंकिङ पार्टनरको रूपमा नेपाल एसबिआई बैंक र एनएमबी बैंक लिमिटेड छन् । बन्दीपुर केबलकार एण्ड टुरिजमको लागत रु एक अर्ब ६६ करोड ८९ लाख रहेकामा स्वपूँजी र कर्जा अनुपात ३९/६१ रहेको छ । परियोजनामा आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेड र टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेडको ६१ प्रतिशत, पञ्चासे केबुलकार एण्ड टुर्स लिमिटेडको २५ प्रतिशत, बन्दीपुर गाउँपालिकालगायत स्थानीय लगानीकर्ताको १४ प्रतिशत सेयर रहेको छ ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर