सर्वोच्चको फैसलापछि प्रदेश २ सभाको अंकगणित : एमालेभित्र को बलियो ? – Nepal Press

सर्वोच्चको फैसलापछि प्रदेश २ सभाको अंकगणित : एमालेभित्र को बलियो ?

जनकपुरधाम । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र पार्टी ब्युँताएपछि प्रदेश २ सरकारको अंकगणित पनि बदलिएको छ ।

१०७ सदस्य प्रदेशसभामा नेकपा एमालेका २१ र माओवादी केन्द्रका ११ सांसद थिए । एकीकरणपछि बनेको नेकपामा यो संख्या ३२ पुग्यो । पछिल्लो समयमा एमालेका १३ सांसद प्रचण्ड-माधवतिर लागे । यी सबै माधव पक्षका हुन् । माओवादी केन्द्रका ४ सांसदले केपी शर्मा ओलीलाई साथ दिए ।

खारेज हुनुपूर्व विभाजित भएका नेकपाका सांसदहरूको अंकगणित ओलीभन्दा प्रचण्ड-माधव बलियो थियो । एमालेबाट निर्वाचित एक सांसदले भने, ‘अब हामी मूल पार्टीमै फर्किन्छौं ।’

एमालेमा संसदीय दलका नेता सत्यनारायण मण्डल र प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा थिए । यस्तै माओवादी केन्द्रका संसदीय दलका नेता रामचन्द्र मण्डल र प्रमुख सचेतक दीलिप साह थिए । नेकपा बनेपछि पनि संसदीय दलका नेतामा मण्डल नै निर्वाचित भए भने सचेतकमा रामकुमार यादव आए ।

प्रचण्ड-माधवले बीचमा संसदीय दलका नेता मण्डललाई हटाएर संसदीय दलका नेता शत्रुधन महतोलाई चुने । तर, पार्टी पुरानै अवस्थामा फर्किएपछि महतोले संसदीय दलका नेताको पद धरापमा परेको छ ।

पद गएपनि केही फरक नपर्ने भन्दै महतो भन्छन्, ‘सूर्य चिन्हबाट निर्वाचित भएका छौं । पहिले पनि एमाले थिए, अहिले पनि एमाले छु । अब एमाले संसदीय दलको बैठक बस्छ । त्यसबाटै संसदीय दलका नेता नयाँ चयन गर्ने कि पुरानैलाई मान्यता दिने छलफल हुन्छ ।’

ओलीलाई साथ दिए माओवादी केन्द्रका सचेतक मण्डल भन्छन्, ‘अब के गर्ने विषयमा छलफल भइरहेको छ । कुनै ठोस निष्कर्षमा पुगिसकेको छैन ।’ सर्वोच्चको फैसलाले संक्रमणकालको अवस्था आएकाले अहिले आफूलाई माओवादी केन्द्रको सचेतक कि ओली पक्षका नेता भन्ने आफैं अन्योलमा रहेको मण्डलले नेपाल प्रेसलाई बताए ।

प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का ५५, नेपाली कांग्रेसका १९ र संघीय समाजवादी पार्टीका १ सांसद छन् ।

सभामुख सरोजकुमार यादवका अनुसार निर्वाचन आयोगको पत्र प्राप्त भएपछि चालिने कदमबारे भने, ‘अब प्रदेशसभामा नेकपा पार्टी नै रहेन । त्यसैले नेकपाका संसदीय दलका नेता र प्रमुख सचेतक पनि रहँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर