प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको चुनौती : चिन्ता नगर्नुहोस्, हामी ठेगान लगाइहाल्छौं – Nepal Press

प्रचण्ड-माधवलाई प्रधानमन्त्रीको चुनौती : चिन्ता नगर्नुहोस्, हामी ठेगान लगाइहाल्छौं

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले गरेको काम देख्न नसकेर आफ्नै पार्टीका केही नेता सरकार ढाल्न लागिपरेको दाबी गरेका छन्।

शनिबार सुन्दरीजलमा मेलम्चीको पानी खस्ने कार्यक्रमको अवलोकनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘यो सरकारले उधुम गर्‍यो, यसलाई तुरुन्तै ढाल्नुपर्‍यो भनेर हाम्रै पार्टीका हौं भन्ने दुइटाले केही कांग्रेसकहाँ दायाँ-बायाँ औंठाछाप गरेर निवेदन दिन गएका छन्’ उनले भने, ‘निवदेन हाल्न गएका छन् कांग्रेसकहाँ– लौन यो केपी ओलीले त उधुमै गर्न थाल्यो, हटाऊ यसलाई । यसलाई हटाउनका लागि कमसेकम तपाईंहरूले नेतृत्व लिइदिनुपर्‍यो ।’

उनले प्रचण्ड-माधव पक्षलाई प्रत्यक्षतिर १२३ सिट जितेको पार्टी भत्काएर २३ सिट जितेको कांग्रेसलाई प्रधानमन्त्री दिन खोजेको पनि आरोप लगाए।

‘हाम्रो पार्टीले ११६ सिट प्रत्यक्षमा जितेको छ’ ओलीले भने, ‘प्रत्यक्ष ११६ सिट जितेको पार्टी भत्काउने, २३ सिट जितेको कांग्रेसलाई लौन प्रभु प्रधानमन्त्री लिइदिनुपर्‍यो भन्ने । यो जनताको आदेश हो ? जनताको इच्छा हो ? जनताले आदेश दिएको त्यसैगरी हो ?’

लोकतन्त्र र विधिका कुरा गरेर भ्रममा पार्नेलाई आफूले ठेगान लगाउने भन्दै उनले त्यतातिर चिन्ता नगर्न आग्रह गरे। ‘तिनीहरू लोकतन्त्रका, विधि पद्धतिका, प्रक्रियाका कुरा गर्छन्’ ओलीको भनाइ छ, ‘झुटा र नक्कली कुरासँग भ्रममा नपर्न म साथीहरूलाई आग्रह गर्छु । त्यतापट्टि तपाईंहरु चिन्ता नगर्नुहोस्, हामी ठेगान लगाइहाल्छौं । त्यता तपाईंहरु चिन्तै नगर्नुहोस्, हामी नै ठेगान लगाउँछौं ।’

मुनामदनको भनाइ सम्झँदै ओलीले जनताको साथ भए आफूहरुले देशलाई अगाडि बढाउन सक्ने बताए।

‘विकासमा काममा आम जनताको सरकारलाई साथ चाहिन्छ’ उनले भने, ‘तपाईंहरूको साथ भएपछि मुनालाई मदनले भनेजस्तै तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन । तपाईंहरूको साथ पायौं भने हामी देश विकासको कामलाई, देशलाई अगाडि बढाउने कामलाई हाँक्न सक्छौं । तपाईंहरूको साथ चाहिएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर