डिमाण्ड शुल्क जोडेर विजुलीको विल आएपछि व्यवसायी आत्तिए – Nepal Press

डिमाण्ड शुल्क जोडेर विजुलीको विल आएपछि व्यवसायी आत्तिए

काठमाडौं । लकडाउन अवधिमा बन्द रहेका होटलमा पनि डिमाण्ड शुल्क जोडेर विद्युतको विल आएको होटल संघ नेपाल (हान) ले जनाएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण होटल व्यवसाय पूर्ण रुपमा बन्द थियो ।

तर, अहिले नेपाल विद्युत प्राधिकरणले लकडाउनको समयको विद्युत डिमाण्ड शुल्क जोडेर बिल पठाएको व्यवसायीले बताएका छन् । होटल व्यवसायीले पिक आवरमा बिजुली लिन डिमाण्ड शुल्क तिर्ने गरेका थिए ।

तर कोरोनाका कारण बन्द रहेका होटललाई पनि डिमाण्ड शुल्क जोडेर विल आएपछि व्यवसायी समस्यामा परेका हुन् । होटल बन्द हुँदा विद्युत खपत भएको थिएन ।

सरकारले कोरोनाको बेला विद्युत महसुलसहित विभिन्न क्षेत्रमा छुट दिने घोषणा गरेको थियो । त्यो घोषणालाई सरकारी निकायले कार्यान्वयन गर्न भने आनाकानी गरेका छन् । अहिले विद्युत प्राधिकरणले होटल व्यवसायीबाट डिमाण्ड शुल्क उठाउन ताकेता गरेको छ ।

चालु आर्थिक वर्षको बजेटमा पनि विभिन्न उद्योगलाई विद्युत शुल्कमा छुट दिने घोषणा थियो । कोरोनाबाट अति प्रभावित क्षेत्रमा राखे पनि सरकारले होटललाई अन्य उद्योगलाई जसरी विद्युतमा छुट दिएको छैन । हानका उपाध्यक्ष विनायक शाहले कोरोनाको समयमा बन्द रहेका होटललाई डिमाण्ड शुल्क जोडेर विल थमाइदा व्यवसायी समस्यामा परेको बताए ।

उनले भने, ‘सरकारले यो वर्षको बजेट मार्फत नै उत्पादनमूलक उद्योगलाई डिमाण्ड शुल्क छुट दिने भनेको थियो । तर विदेशी पर्यटक र विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसाय भने सरकारले सुविधा दिएका ५८ प्रकारको उद्योगभित्र पर्न सकेन ।’

अरुबेला होटलले डिमाण्ड शुल्क तिरेको भए पनि कोरोनाको कारणले होटल सञ्चालन नभएको अवस्थामा योल्क तिर्न नसकिने उनले बताए ।

पिक आवरमा विद्युत निरन्तर लिने भनेर निवेदन दिएका होटलले मात्रै डिमाण्ड शुल्क तिर्ने गरेको छन् । कति होटलले डिमाण्ड शुल्क तिरेर विद्युत लिएका छन् भन्ने तथ्याङ्क नभएको शाहले बताए ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमल्सिनाले सरकारले गरेका निर्णय अनुसार नै विद्युत प्राधिकरणले विल पठाएको बताए । उनले भने ‘सरकारले उत्पादनमूलक ५८ वटा उद्योगलाई डिमाण्ड शुल्क छुट दिएको छ । सरकारले सबै क्षेत्रमा विद्युतको शुल्क छुट दिन सक्दैन र कानुन अनुसार पनि दिन मल्दैन ।’

विद्युत प्रधिकरणले नियमानुसार नै उद्योगीलाई विल पठाइएको उनको भनाइ छ । नेपालमा हालसम्म पनि केही पाँच तारे होटल कोरोनाको कारणले बन्द अवस्थामा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर