उत्कृष्ट काम गर्ने दुई जना प्रहरी कर्मचारी एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार – Nepal Press

उत्कृष्ट काम गर्ने दुई जना प्रहरी कर्मचारी एक तह बढुवा, ५ जनालाई नगद पुरस्कार

काठमाडौं । नेपाल प्रहरीले आफूलाई तोकिएको जिम्मेवारी पूर्ण निष्ठा र लगनका साथ सम्पादन गरी प्रहरी संगठनको प्रतिष्ठा र गौरव बढाउनमा उल्लेखनीय कार्य गर्ने २ जना प्रहरी कर्मचारी एक तह बढुवा गरेको छ भने अन्य ५ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ ।

उत्कृष्ट काम गर्ने सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बहादुर थापालाई प्रहरी नायव निरीक्षकमा र ईलाका प्रहरी कार्यालय राजापुर बर्दियामा कार्यरत प्रहरी जवान नर बहादुर थापालाई प्रहरी हवल्दार पदमा बढुवा गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको हो ।

उनिहरुलाई कार्य कुशलताको कदरस्वरुप प्रहरी नियमावली २०७१, (संशोधन सहित) परिच्छेद (४) को नियम ३९ को देहाय (क) बमोजिम एकतह माथिल्लो पदमा पदोन्नति गरिएको हो ।

उनिहरुमध्ये प्रहरी नायव निरीक्षक पदम बहादुर थापाले बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन माध्यामिक विद्यालय बैतडीमा अध्ययनरत १७ वर्षका भागरथी भट्टको गत माघ २१ गते जबरजस्ती करणी पछि हत्या भएको घटनामा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

त्यस्तै उनले कैलालीको धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थाई प्रहरी पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोबिन्द विक तथा प्रहरी जवान रामबहादुर साउँदलाई तस्करको समूहले गत कात्तिक १ गते हत्या गरेको घटना र कञ्चनपुर पुनर्वास नगरपालिका–१ बस्ने ७१ वर्षका खण्टी भुलको गत पुस ११ गते भएको हत्यामा संलग्न प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रहरी हवल्दार नर बहादुर थापाले माथीका तीन वटै घटना तथा बझाङ मष्टा गाउँपालिकामा बालिका सम्झना विकको जबरजस्ती करणीपछि हत्या भएको घटना अनुसन्धानमा सक्रिय रुपमा खटिई प्रतिवादीलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

यस्तै भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको सफल अनुसन्धान तथा घटनामा संलग्न अभियुक्तलाई पक्राउ गर्नमा कुशलतापूर्वक पूर्ण इमानदारी एवं निष्ठाका साथ प्रशंसनीय कार्य गर्ने ५ जना प्रहरी कर्मचारी नगद पुरस्कारद्वारा पुरस्कृत भएका छन् ।

जसमा नगद पुरस्कारबाट पुरस्कृत हुनेमा सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख, प्रहरी नायव महानिरीक्षक (डिआइजीपी) उत्तमराज सुवेदी, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी नायव उपरीक्षक पञ्च कुमार बाखु छन् ।

यस्तै महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्षमा कार्यरत प्रहरी नायव निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुलामा कार्यरत प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीको कार्य सम्पादन स्तरमा समेत सकारात्मक प्रभाव पर्न गई प्रहरी मनोबल उच्च रहने विषयलाई दृष्टिगत गरी उनिहरुले सम्पादन गरेको प्रशंसनीय कार्यको कदर स्वरूप प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को परिच्छेद १५ को नियम १ सय ९७ को देहाय (क) बमोजिम अभिलेखमा जनिने गरी उनिहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर