घरबाटै झा दम्पतीकाे अपहरण, स्थानीयद्वारा प्रदर्शन – Nepal Press

घरबाटै झा दम्पतीकाे अपहरण, स्थानीयद्वारा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको पिपरा गाउपालिका ५ का एक दम्पतीकाे घरबाटै अपहरण भएकाे घटना सार्वजनिक भएको छ ।

६५ वर्षीय मोसाफिर झा र उनकी ६० वर्षीया पत्नी गीतादेवी झा सोमबार राति घरबाटै अपहरणमा परेका छन् ।

झा दम्पतीको खोजीका लागि स्थानीयले चक्काजाम गरेपछि घटना बाहिरिएको हो । झा मातपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

सोमबार राति घरमै सुतेका झा दम्पती विहान नभेटेपछि उनको परिवारले प्रहरीलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले झा दम्पती बेपत्ता भएको ठाउमा रगतको छिट्टा देखिएको जानकारी दिए ।

रगतको छिट्टा देखिएकाले कुटपिट गर्दै झा दम्पतीलाई घरबाट लगिएको हुनसक्ने प्रहरीको अनुमान छ । तर कसले अपहरण गरेको विषयमा केही खुल्न सकेका छैन । प्रहरी नायव उपरीक्षक बिष्टले झा दम्पतीको खोजीमा लागिसकेको बताए ।

झा दम्पति मोही जग्गा विवाद सम्बन्धी एक मुद्दामा केहिदिन अगाडी साक्षी बसेका थिए । सोही विषयलाई लिएर विपक्षीहरुले अपहरण गरेको हुनसक्ने स्थानीय बताएका छन् । प्रहरीले यस विषयमा पनि अनुसन्धान गरिरहेको जनाएको छ ।

झा दम्पतीको अपरण भएको र छिट्टो भन्दा छिट्टो रिहा गर भन्दै स्थानीयले जनकपुर-जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरूद्ध प्रदर्शन समेत गरेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर