रुपन्देहीमा दूध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइयो – Nepal Press

रुपन्देहीमा दूध उत्पादन बढाउन विशेष कार्यक्रम ल्याइयो

रुपन्देही । रुपन्देहीको वनगाई–मर्चवार रोड करिडोर आसपासका एक सय किसानलाई लक्षित गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले दूध उत्पादन कार्यक्रम शुरु गरेको छ ।

कृषि क्षेत्रको लागि पकेट मानिएको रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा दूध उत्पादन बढाउन किसान लक्षित विभिन्न योजना शुरु गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको समन्वयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीले सो कार्यक्रम शुरु गरेका हुन् ।

पशु सेवा विज्ञ केन्द्रको ५० लाख अनुदान र किसानहरुको ५० लाख २५ हजार रुपैयाँ लागतमा आयोजना शुरु गरिएको भेटेरिनरी अस्पतालले जनाएको छ ।

रुपन्देही क्षेत्रका अधिकांश नागरिकको मुख्य पेसा कृषि र पशुपालन भएकाले स्थानीय तथा प्रदेश सरकारले यस्तो योजना ल्याएको हो ।

दूध उत्पादन कार्यक्रमका लागि पहिलो वर्ष गोठ निर्माण तथा सुधार गर्ने, घाँसको बीउ तथा बेर्ना वितरण गर्ने, परजीवी नियन्त्रण गर्ने, औषधोपचार, भिटामिन तथा खनिजको व्यवस्था, इलेक्ट्रिक च्याफकटर लगायतमा अनुदान दिइने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्द्येहीका प्रमुख परवेज आलमले जानकारी दिए ।

मर्चवार क्षेत्रमा रहेको कोटहीमाई गाउँपालिकामा कार्यक्रम सञ्चालन गरी लुम्बिनी प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मर्चवार मार्ग लक्षित दूध उत्पादन कार्यक्रमको शुभारम्भ गरिसकेकी छन् ।

निर्वाहमुखी पशुपालन गर्दै आएका किसानहरुलाई व्यवसायिक बनाउन प्रदेश सरकारले कार्यक्रम शुरु गरेको मन्त्री पौडेलले बताइन् ।
यो कार्यक्रम सञ्चालन गर्न किसानहरुले सञ्चालक समिति बनाएर अगाडि बढेका छन् ।

आधुनिक तरिकाले पशुपालन गर्न पशु चिकित्सकहरुले तालिम दिने, व्यवसाय बिस्तार गर्न अनुदान पनि पाइने भएकाले किसानहरु उत्साहित बनेका हुन् ।

अहिले मर्चवार क्षेत्रमा उत्पादन भएको दुध भैरहवा तथा भारतको नौतनहवा क्षेत्रमा बिक्री हुँदै आएको छ । मुख्य पेशा कृषि, पशुपालन भएका नागरिकहरुले पनि कामचलाउ तरिकाले काम गरिरहेका छन् ।

गरिरहेको पशुपालनलाई तालिम पश्चात व्यवस्थित गरि दुध उत्पादन बढाउने स्थानीय किसान योगेन्द्र यादवले बताए । दुध उत्पादन बढ्दै गएपछि दोस्रो वर्षदेखि डेरी संचालनमा अनुदान, चिस्यान केन्द्र स्थापना, बजारीकरणमा सहयोग गर्ने कार्यक्रम छ ।

एआई सेन्टर स्थापना, घाँस स्रोत केन्द्र स्थापना, मिल्क क्यान र काउ म्याट खरिदलगायतमा अनुदान दिइने विज्ञ केन्द्रले जनाएको छ ।

पशु प्राविधिकहरुको सहकार्यमा किसानलाई प्राविधिक ज्ञान र आधुनिक तरिकाको सिकाईले मर्चवार क्षेत्रलाई दुधको पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रदेश सरकारको योजना छ ।

प्रदेश योजना आयोगले सरकारलाई कृषि पकेट क्षेत्र बनाउन यस प्रकारका क्षेत्रहरु तोकेर योजना दिएको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. इश्वर गौतमले बताए ।

उनले अबको युगमा उत्पादनमुखी र प्रविधिमैत्री कृषिबाट मात्र नागरिकलाई आत्मनिर्भर बनाउन सकिने भएकाले सरकारलाई यही अनुसारको योजना दिएको जानककारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर