पर्यटन व्यवसायीको गुनासोः हामी चुर्लुम्म डुब्दा सरकार मूकदर्शक बन्यो – Nepal Press

पर्यटन व्यवसायीको गुनासोः हामी चुर्लुम्म डुब्दा सरकार मूकदर्शक बन्यो

काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० मा धुमधामसँग ‘भिजिट नेपाल’ मनाउने निर्णय गर्‍यो। सरकारको निर्णयबाट उत्साहित पर्यटन व्यवसायीले धमाधम लगानी थप्न थाले । नयाँ लगानीकर्ता पनि यस क्षेत्रमा हेलिए ।

तर, चीनबाट फैलिएको कोभिड–१९ का कारण ‘भिजिट नेपाल’ मात्र होइन पर्यटन व्यवसाय नै धरासायी बन्यो । धेरै वर्ष माथि उठ्न नसक्ने गरी यो क्षेत्र पछारिएको छ । सरकारले पर्यटन व्यवसायीको घाउमा मल्हम लगाउने कुनै राहतको प्याकेज दिन सकेन ।

आफूहरुलाई अप्ठयारो पर्दा सरकार मूकदर्शक मात्र बनेको भनेर पर्यटन व्यवसायी आन्दोलनमा उत्रने निष्कर्षमा पुगेका छन् । सोमबार पर्यटन व्यवसायीका ३७ ओटा छाता संगठनले पत्रकार सम्मेलन गर्दै सरकारसँग १० बुँदे माग अघि सारे ।

पर्यटन सिजनको मुखमा सरकारले विदेशी पर्यटकलाई सहजरुपमा नेपाल आउन दिनुपर्ने उनीहरुको माग छ । ७२ घण्टाको पीसीआर रिपोर्ट लिएर आउने विदेशी पर्यटकलाई पाँच दिनसम्म अनिवार्य क्वारेण्टाइनमा बस्नुपर्ने प्रावधान हटाउन पनि उनीहरुले माग गरेका छन् । नेपालमा २०२ मुलुकबाट पर्यटक आउने भएकाले अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था गराउनुपर्ने पनि उनीहरुले माग राखेका छन् ।

सरकारले एक वर्ष वित्दा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन नराखेको भन्दै त्यसकाे चाँडै व्यवस्थापन हुनुपर्ने उनीहरुको माग छ । यसैगरी हालसम्म खुल्न बाँकी रहेका अन्तर्राष्ट्रिय हवाई उडानहरु यथाशीघ्र खोल्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पर्यटन व्यवसायीलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सीमा नाका खोल्नुपर्ने, नेपाल घुम्न आउने पर्यटकलाई कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गराउनुपर्ने लगायत माग व्यवसायीले अघि सारेका छन् ।

यसैगरी अहिले विदेशबाट आउने पर्यटकलाई ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा हटाउनुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पूरा मात्रा लगाई आएका पर्यटकलाई सहज घुम्न दिनुपर्ने माग उनीहरुले सरकार समक्ष राखेका छन् ।

कोरोनाले पर्यटन क्षेत्र एक वर्षदेखि कोमामा भएको भए पनि सरकारले कुनै किसिमको राहत नदिएको र राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको सहुलियत ऋण पनि नपाएको व्यवसायीको गुनासो छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभलका अध्यक्ष अच्युत गुरागाइँका अनुसार केही हातमा गन्न सक्ने पहुँच भएकाले मात्र राष्ट्र बैंकले दिएको सहुलियत ऋण पाएका छन् । अधिकांश साना र मझौला पर्यटन व्यवसायीले सहुलियत ऋण नपाएको उनले बताए ।

कार्यक्रमा बोल्दै उनले भने, ‘एक वर्ष भयो, अर्बौको लगानी रहेको पर्यटन व्यवसाय शून्यमा झर्दा पनि सरकार के हेरेर बसेको छ ? के व्यवसायीलाई मार्न खोजेको हो ? सडकमा कोभिड मापदण्डविना हजारौंको संख्यामा कार्यकर्ता ल्याएर आन्दोलन गर्न सक्छन् । तर, विदेशबाट आउने पर्यटकलाई सबै प्रोटोकल पूरा गरेर पर्यटन भित्र्याउँछौं भन्दा किन नदिने ?’

विगत आठ महिनादेखि पर्यटन व्यवसायीले विभिन्न माग राखेर सरकारको ढोका ढक्ढकाए पनि सरकारले व्यवसायीको कुनै कुरा नसुनेको उनको भनाइ छ । ‘विभिन्न माग राखेर सरकारका कार्यालयमा थाकका थाक ज्ञापनपत्र बुझाए पनि ती मागहरुको खात मुसाले खाइसक्यो तर, माग सुनुवाइ हुँदैन । पर्यटन सिजनको मुखमा छौं । पर्यटक देशमा शून्य छन् । तर पनि सरकार मूकदर्शक मात्र बनेको छ’ उनले भने ।

पर्यटक गन्तव्यका रुपमा रहेका देश श्रीलङ्का, माल्दिभ्स, दुबईले प्रोटोकल पूरा गरेर पर्यटक भित्र्याइरहेको बेला नेपालले किन रोकिरहेको छ भन्दै उनले प्रश्न गरे । साथै उनले विदेशी पर्यटक भित्र्याउनका लागि सरकारले यथाशक्य निर्णय गर्नुपर्ने बताए । भारतीय नाका खुला नगरिए पनि भारतबाट नेपाल आउने र जाने क्रम नरोकिएको अध्यक्ष गुरागाइँले बताए ।

पर्यटन सिजन आउनै लाग्दा नेपाल आउने पर्यटकको ‘इन्क्वाइरी’ आइरहेको भए पनि आफूहरु अलमलमा परेको नेपाल होटल एसोसिएसनका उपाध्यक्ष विनायक शाहले बताए । ‘सरकारले अराइभल भिसा दिने हो कि होइन, कसरी हामीले होटल बुक गर्नु ?’ उनले भने । ठूला तारे होटलहरु बन्द जस्तै भएको अवस्थामा कुनै वैकल्पिक उपाय र प्रोटोकल अपनाएर पर्यटक नभित्र्याएको उनको गुनासो थियो ।

‘अहिले चिनियाँ नयाँ वर्षमा धेरै चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन सकिन्थ्यो तर, नेपाल सरकारले उल्टै कडा पो गरेको छ । हाम्रोमा आउने पर्यटक मलेसिया, दुबई, माल्दिप्स, श्रीलङ्का गए’ उनले भने । पर्यटन व्यवसायीले केही समयअघि विभिन्न माग राखेर बालुवाटरमा प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर