विराटनगरबाट ओली पक्षको सन्देश : चुनाव हुन्छ, विप्लवलाई पनि ल्याइन्छ – Nepal Press

विराटनगरबाट ओली पक्षको सन्देश : चुनाव हुन्छ, विप्लवलाई पनि ल्याइन्छ

विराटनगर -प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई महिनाको बीचमा पूर्वी विराटनगरदेखि सुदूरपश्चिमको धनगढीसम्म पुगेर ठूला जनसभालाई सम्बोधन गरिसकेका छन् ।

संयोग नै मान्नुपर्छ विभाजित नेकपाका दुवै समूहबीच ठूला जनसभा र शक्तिप्रदर्शनको होडबाजी छ । प्रचण्ड-माधव पक्षले जहाँ जनसभा गर्छन् त्यसपछि ओली त्यहीं पुगेर आफ्ना कुरा जनतालाई सुनाउँछन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा बुटवल, काठमाडौं, धनगढी र विराटनगरका ठूला सभालाई सम्बोधन गरिसकेका छन् । फागुन दोस्रो साताभित्र गण्डकी र कर्णाली प्रदेशका राजधानीमा हुने सभालाई सम्बोधन गर्न जाँदैछन् ।

शनिवार आफ्नो गृहप्रदेश समेत रहेको प्रदेश १ को विराटनगरबाट ओलीले केही सन्देश दिन खोजे । पहिलो कुरा– प्रतिनिधिसभा विघटन संवैधानिक हो र देशलाई अस्थिरतामा लैजाने गरी अदालतले अन्यथा फैसला गर्दैन ।

उनले त्यसको औचित्य पुष्टि गर्न खोज्दै अहिलेसम्म नेकपाको एकल बहुमतको सरकार भएकाले प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था नभएको बताए । यदि अब संसद पुनःस्थापना भएमा बहुमतको सरकार नहुने र अस्थिरता सिर्जना हुने बताए ।

ठूलो जनमानस देखेर उत्साहित भएका प्रधानमन्त्रीले आफ्नो सरकारले धेरै काम गर्न खोज्दा पार्टीभित्रैबाट र संसदबाट असहयोग भएकाले ताजा जनादेशमा जानुपरेको सन्देश दिन खोजेका छन् । ओलीलगायत सभामा बोल्ने सबै नेताले गुमेको भूभाग फिर्ता ल्याउन नक्शा प्रकाशन गरेकै दिनदेखि पार्टीभित्रबाट प्रधानमन्त्री हटाउन खोजिएको कुरा जनतालाई बुझाउन खोजेका थिए ।

विराटनगरबाट ओली र बादल अनि सुवास नेम्वाङले दिन खोजेको अर्को सन्देश के हो भने– अब विप्लव समूहलाई पनि शान्तिपूर्ण राजनीतिमा ल्याइन्छ । नेकपाको मूलधार बनाइन्छ र प्रचण्ड–माधव पक्षको लागि कुनै स्पेस बाँकी राखिने छैन ।

ओलीले भने- मैले प्रचण्डजीलाई पार्टीमा दोस्रो अध्यक्ष बनाएको थिएँ । तर उहाँलाई त्यो पचेन । अझै पनि मौका छ, गल्ती स्वीकार गरेर पार्टीमा फर्किनूस् नत्र पछुताउनु शिवाय केही पनि छैन । हामी अरुलाई समेटेर अघि बढ्छौं ।

ओली र बादलले अरुलाई समेटेर अघि बढ्छौं भनिरहेकै बेला प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको वक्तव्य जारी गरेपछि यसलाई संयोग मात्र मान्न सकिन्न ।

ओलीले चुनाव हुन्छ र चुनाव चिन्ह पनि आफूले नेतृत्व गरेको नेकपाले नै पाउँछ भन्दै चुनाव लक्षित भाषण गरे । उनले कोभिडविरुद्धको भ्याक्सिन आइतबार नै भारतबाट आउन लागेको पनि बताए ।

चुनावी सभाकै शैलीमा आयोजित आमसभामा सुवास नेम्वाङले एक कदम अघि बढेर फागुन १५ भित्रमै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गरेर फैसला दिने दाबी गरे । उनले पनि पार्टीको आधिकारिकता ओलीसँगै रहने बताए ।

केही सन्देश, केही चेतावनी
ओलीले देशभर चुनावको पक्षमा उर्लिएका जनता अदालतले देखेकै होला भन्दै जनअपेक्षा विपरीत अदालतको फैसला आए पार्टीले निरन्तर आन्दोलन अघि बढाउँदै सबैखाले अवरोध चिर्ने बताए । उनले अदालतले जनभावना विपरीत गएर फैसला नगर्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

ओलीले भने- संसद विघटनमा अदालतले अन्यथा फैसला गर्छ भन्ने म कल्पना गर्न सक्दिनँ । यदि जनअपेक्षा विपरीत अदालतको फैसला आए आन्दोलनमा जान्छौं ।

उनले सरकारले तोकेको समयमा चुनाव हुने भन्दै प्रचण्ड–माधव समूहका नेतालाई जनताको ताजा जनादेश लिएर प्रधानमन्त्री बनेर देखाउन पनि चेतावनी दिए ।

गलत बाटोमार्फत प्रधानमन्त्री पद प्रचण्डलाई चाहिएको भन्दै ओलीले अवैधानिक बाटोमार्फत प्रधानमन्त्रीको पदको लोलुपता नदेख्न प्रचण्डलाई ओलीको सुझाव छ ।

उनले नेकपाको अर्को खेमा प्रचण्ड–माधव समूहलाई पार्टी फुटाएर गएकालाई मूल पार्टीमा फर्कन समेत आग्रह गरेका छन् । प्रधानमन्त्रीले गलत बाटो छोडेर आफ्नो पार्टीमा समाहित हुन पुनः आव्हान गरेका हुन् । उनले जनताको सागरमा सामेल हुन मन भए प्रचण्ड–माधव समूहका नेतालाई फर्किन आग्रह गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर