चौदण्डीगढी लगातार ११औं खेलमा पराजित – Nepal Press

चौदण्डीगढी लगातार ११औं खेलमा पराजित

काठमाडौं । चन्द्रपुर नगरपालिकासँग २ -१ गोलको नतिजामा पराजित भएसँगै चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार ११औं हार बेहोरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरलाई विजयी बनाउन रजनी थोकर र दिल कुमारी राना मगरले गोल गरे । जारी सिजन चन्द्रपुरको यो तेस्रो जित हो ।

पहिलो हाफको इन्जुरी समयमा चौदण्डीगढीकी गोलकिपर रबिना माया घलानले फितलो प्रहार पनि जोगाउन नसकेपछि रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाएकी थिइन् ।

गोलकिपर रबिनाले ६६औं मिनेट अर्को गल्ती गरेपछि दिलकुमारीले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर पारेकी थिइन् ।

चौदण्डिगढीका लागि ७०औं मिनेटमा मनिता तामाङले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन । जितसँगै ११ खेलबाट ९ अंक जोडेको चन्द्रपुर छैठौं स्थानमा छ । समान खेलमा अंकविहीन चौदण्डीगढी तालिकाको पुछारमा छ ।

लिग लिडर एपिएफको १० खेलबाट ३० तथा दोस्रो स्थानको आर्मीको पनि समान खेलबाट २५ अंक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर