सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग – Nepal Press

सीमा नक्सा सच्याउँन प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरका नेताहरूको माग

काठमाडौं । कञ्‍चनपुरका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूले भारतसँगको सीमा नक्सा (स्ट्रीप म्याप) तयार गर्दा धेरै ठाउँमा नेपाली भूमि भारततर्फ परेकोले सच्याउँन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीसँग भेटघाटको क्रममा कञ्चनपुरका नेताहरूले भारततर्फ जान सहज हुनेगरी सीमापार यातायात सञ्चालन गर्न पनि ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीसमक्ष कञ्‍चनपुरमा प्रस्तावित औद्योगिक क्षेत्रको शिलान्यास तत्काल गर्नुपर्ने, महाकाली करीडोरका लागि बजेट लगायतका सबै तयारी भए पनि वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनको कारण भइरहेको ढिलाई अन्त्य गरिनुपर्ने, भीमदत्त विमानस्थल तत्काल सञ्चालनमा ल्याउनुपर्ने र महकालीको तटबन्ध निर्माण तत्काल थाल्नुपर्ने मागसमेत राखिएको छ ।

त्यस्तै पुनर्वास नगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने र शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित दुई हजार ७६ परिवारको पुन:र्स्थापना गर्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा नेकपाका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट तथा केन्द्रीय सदस्यहरु राजेन्द्रसिंह रावल, रामचन्द्र नेपाल, खेम सुवेदी र नरबहादुर धामीलगायतका नेताहरू सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर