ब्लग

चेलीको चीत्कार: अनि तिनीहरुलाई चिथोर्न मन लाग्छ

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको चर्चा सेलाउन नपाउँदै बझाङकी १२ वर्षीया सम्झना विश्वकर्माको बलात्कारपछि हत्या भयो । गत साता बैतडीकी भागरथी भट्टले बलात्कृत भई अनाहकमा ज्यान गुमाइन् ।

यसरी क्षणिक शारीरिक मनोरञ्जनका लागि एउटी चेलीको जीवनलीला समाप्त हुन्छ तर पीडित पक्षले न्याय पाउने कुरा ‘एकादेशको कथा’ बन्दछ । यस्ता हर्कतले मानवीयतामा विश्वास गर्ने जो–कोहीको छाती चिरिन्छ । ती सबै कुरुप मन–मस्तिष्कहरूलाई चिथोर्न मन लाग्छ जसले आफ्नो क्षणिक यौन अभिलासा पूरा गर्न भागरथी, पूजा, निर्मला, सम्झना जस्ता कलिला अबोध बालिकाको जीवनलीला समाप्त गरिदिए ।

आमाबुवा भन्नुहुन्छ, ‘म सानो छँदा नै छुवाछूतलगायत विभेदको खूबै विरोध र काम गर्ने मान्छेलाई अत्यधिक माया गर्थें रे !’ म जस्तै अन्याय र अत्याचारको गन्ध पनि मन नपराउने कतिले यो संसार छाडिसके होलान् । कतिको छाला चाउरी परिसक्यो होला । कति चश्माको सहारा विना अरूलाई नचिन्ने भइसके होलान् ।

कति त अन्यायविरुद्ध रात–दिन नभनी खटिएकै होलान् र छन् । तर बलात्कार, हिंसा जस्तो जघन्य र घिनलाग्दो कर्तुत घटेको छैन । कलिला चेलीका चीत्कार झन् बढ्दैछन् ।

के हाम्रो मानसिकतामा परिवर्तन संभव नभएको हो ? के हाम्रा नीति–नियम अन्याय, विभेद, असमानता अन्त्य गर्नेतर्फ उन्मुख नभएका हुन् ? के हाम्रो प्रयास तथा अभियानहरूले समाजमा प्रभाव पार्न नसकेका हुन् ? हामीले कल्पना गरेको समतामूलक समाज काल्पनिक मात्र हो ? यी प्रश्न नीतिनिर्माण गर्ने तथा कार्यान्वयन गराउने तहमा रहेका व्यक्तित्वहरूलाई मात्र होइन, ती हरेक व्यक्तिहरूलाई हो, जसको सानो भूमिकाले न्यायपूर्ण समाजको निर्माण सम्भव छ ।

किनकि हाम्रो घरका चेलीको रक्षा गर्न राष्ट्रपति या प्रधानमन्त्री घर–घरमा आउन सक्दैनन् । कानूनमा रहेका त्रुटि सच्याउन र कार्यान्वयनमा राज्य संचालनकर्ता तथा संयन्त्रको भूमिका महत्वपूर्ण हुन्छ । तथापि घरघर, गल्ली–गल्लीमा हुने यस्ता कुकृत्यहरूको अन्त्य गर्न नागरिक तहदेखिको जागरुकता आवश्यक छ ।

बोल्न, बताउन र ‘हुन्न’ भन्न नसक्ने कलिला बालिकाहरू तातेताते सिकाउने हजुरबुवाबाट बलात्कृत हुन्छन् भने उनीहरुलाई समाजका कोबाट, कसरी र कहिलेसम्म सुरक्षित राख्न सकिएला ? विश्वको कुनचाहिं त्यस्तो कुना होला, जुन हजुरबुवाको न्यानो काखभन्दा सुरक्षित रहोस् ?

एकपटक सोचौं— हजुरबुबा–नातिनी, बुवा–छोरी, दाजु–बहिनी, काका–ठूलोबुबा–भतिजी, गुरु–चेली यीभन्दा पवित्र र विश्वासिलो सम्बन्ध खोज्न कहाँ जाने ? के अब एउटी चेलीलाई घरको शौचालयदेखि विद्यालय तथा कार्यालयस्थलसम्म देखभाल गर्नुपर्ने हो ? किनकि, हजुरबुबा, बुबा, दाजु, काका, ठूलोबुबा, गुरु, सहपाठी या अग्रजहरू नै भक्षक भएर निस्कन्छन् भने के गर्ने !

हामीले लेखेका कानूनका पन्नाहरू यत्रतत्र छरिएर खबरदारी गर्न पनि सक्दैनन् । सबैभन्दा नजिक, प्रिय, जिम्मेवार र विश्वासिलो ठानिने सम्बन्धहरू नै दुःशासन बनेर द्रौपदीको सारी तान्न लालायित हुन्छन् भने, परब्रह्मा, जिसस क्राइष्ट, मोहम्मद, बुद्ध, कृष्णलगायतका भगवान पनि चेलीको अस्मिता जोगाउन सक्दैनन् भने, भगवान भन्दा पूजनीय व्यक्तित्वहरू नै यस्ता घृणित कार्य गर्न अघि सर्छन् भने कसलाई कसरी विश्वास गर्ने ?

एकपटक आँखा चिम्लिएर, छातीमा हात राखेर आफ्ना कर्तुतहरू नियालौं त कतै हामी पनि कलिला चेलीका चीत्कारको कारण बनेका त छैनौं ! स्वयम् आफैंले द्रौपदीको सारी तानेका छैनौं होला तर भरी–सभामा त्यस्ता दृश्य चूपचाप हेरेका पो छौं कि ! घटनामा संलग्न हुनु मात्र अपराध होइन, घटनाको मूकदर्शक साक्षी बन्नु पनि अपराध नै हो ।

बोल्न, बताउन र ‘हुन्न’ भन्न नसक्ने कलिला बालिकाहरू तातेताते सिकाउने हजुरबुवाबाट बलात्कृत हुन्छन् भने उनीहरुलाई समाजका कोबाट, कसरी र कहिलेसम्म सुरक्षित राख्न सकिएला ? विश्वको कुनचाहिं त्यस्तो कुना होला, जुन हजुरबुवाको न्यानो काखभन्दा सुरक्षित रहोस् ?

ती उँचो छाती भएका, सन्तानका खातिर लड्ने सबै हजुरबुवाहरूको काँधमा अब आफ्नो काखको महिमाको रक्षा गर्ने दायित्व थपिएको छ ।

हजार सपना साट्दै जन्माएको आफ्नै रगतको टुक्रालाई क्षणिक आवेग रोक्न नसकेर बलात्कार गर्ने मान्छे नरपिशाच हो । यस्ता व्यक्ति बुवा–छोरीबीचको प्रेमिल र निस्वार्थ सम्बन्धको कलंक हुन् ।

आफू नखाएर, नसुतेर, सन्तानका लागि पसिनामा पैसा साट्ने बुवाहरूप्रति पनि शंका गर्नुपर्ने टिठलाग्दो परिस्थिति छ । यस्ता घटनाले छोरीका निम्ति ज्यान दिन तयार ती पिताहरूको चरित्रमा सांकेतिक शंका र प्रश्नचिह्न खडा गरिदिएका छन् ।

अब यस्ता कलंकबाट मुक्ति खोज्नुपर्ने चुनौती हरेक पिताहरूलाई थपिएको छ । हरेक छोरी निर्धक्क उसको बुवासँग खेल्न, रम्न डराउनुपर्ने स्थितिको अन्त्य गर्नु सबै बुवाहरूको दायित्व हो ।

दाजु–बहिनीको सम्बन्ध हेर्नुस् त ! यस्तो अनन्त मीठो सुखदुःखको सम्बन्धलाई कसरी अविश्वास गर्ने ? कसरी एउटा दाजुले बहिनीको शरीरसँग खेल्न, दुःख दिन र उसलाई मानसिक तथा शारीरिक रूपले विक्षिप्त पार्न सक्छ भनेर कल्पना गर्ने ?

आखिर ऊ त एउटी चेलीको रक्षक हो, भक्षक होइन । तर के गर्ने बोली नफुटेका देखि आफ्नो कुरा भन्न डराउने बालिकासम्म आफ्नै दाजुले दिएको पीडा भोग्न बाध्य छन् ।

कठै ! ती अबोध बालिकाहरू जसले भन्न पनि सक्दैनन् कि ‘मलाई हजुरबुवा, बुवा, काका, ठूलोबुवा, दाजु, गुरुवर्ग दुःख दिन्छन् । मेरो शरीरसँग खेल्छन् । समूहमा तातेताते सिकाउने ती हातहरू एक्लै हुँदा मेरो शरीरका गोप्य अङ्गहरूसँग खेल्छन्, समूहमा मीठो पापासहित मायाका कोसेली दिनेहरू एकान्तमा मलाई धम्काउने र तर्साउने भाषा बोल्छन् ।’

कल्पना गर्नुस् उमेर पुगेकी महिलाले आफ्नो जीवनसाथीलाई शारीरिक सम्बन्धका लागि ‘नाइँ’ भन्ने अधिकार राख्छिन् भने ती बोली पनि नफुटेका तथा फुटेर पनि चूप लगाइएका बालिकाहरू कति पीडामा छटपटाएका हुन्छन् होला !

काठमाडाैको मैतिदेवी चोक नजिकै एउटा प्राइभेट क्लिनिकमा सेवा दिने एक प्रसिद्ध मनोचिकित्सकले दुई वर्ष अगाडि प्रसङ्गवश एउटा घटना शेयर गरेका थिए । उनका अनुसार काठमाडौंकै करीब १३ वर्षकी बालिका उनकै बावुबाट बलात्कृत भइन् ।

उनले त्यो घटना आफ्नी आमासँग भनिन् । आत्तिएको अवस्थामा उनकी आमाले छोरीलाई माइतीघरमा लगेर छाडिन् । घरभन्दा मावली सुरक्षित ठानेर उनलाई त्यहाँ राखियो तर दुर्भाग्य मावलमा आफ्नै मामाको छोराबाट उनी पुनः बलात्कृत हुन पुगिन् ।

आफू नखाएर, नसुतेर, सन्तानका लागि पसिनामा पैसा साट्ने बुवाहरूप्रति पनि शंका गर्नुपर्ने टिठलाग्दो परिस्थिति छ । यस्ता घटनाले छोरीका निम्ति ज्यान दिन तयार ती पिताहरूको चरित्रमा सांकेतिक शंका र प्रश्नचिह्न खडा गरिदिएका छन् ।

सुन्दा पनि आँखा रसाउँछन् । अन्ततः ती बालिकालाई सामान्य जीवनमा ल्याउन परामर्श सेवा दिइरहेका उनै मनोचिकित्सकलाई ‘मलाई माफ गर्नुहोला, मैले संसारसँग जुध्न सकिनँ, म हारें ! मेरी आमालाई धेरै चिन्ता नगर्न सल्लाह दिनुस् है !’ भन्ने सन्देश छाडेर उनले देहत्याग गरिछन् । छिटोभन्दा छिटो उनीसमक्ष पुग्ने र बचाउने प्रयास असफल भएछन् ।

यो सुनाइरहँदा ती मनोचिकित्सक पनि भक्कानिएका थिए । कति दर्दनाक घटना । एउटी चेलीका लागि जन्मघर, मामाघर, विद्यालय, मन्दिर कहीं सुरक्षित रहेन ।

ती मनोचिकित्सककै अनुसार त्यो घटना इज्जतका डरले बाहिर ल्याइएन, कानूनी कारबाहीमा गएन तर एउटा अबोध बालिकाको ज्यान गयो । यस्ता घटना कति घट्छन् होला जुन इज्जत, धम्की या बाध्यताले बाहिर नै आउन सकेका हुँदैनन् ।

छुनको त कुरै छाडौं हुर्कंदै गएकी बालिकाको शरीरमा एकटकले आँखा लगाउनु पनि हिंसा हो । शारीरिक परिवर्तन प्राकृतिक हो भनेर बुझ्नेहरू नै यस्ता हिंसाका मुख्य भागिदार हुन्छन् ।

यस्तो हिंसा बढ्नुमा जानेर बुझपचाउनेहरूको संख्या धेरै हुनु, शक्तिको दुरुपयोग गर्नु, नीतिनियम कार्यान्वयन नहुनु, इज्जत, डर तथा धम्कीका कारण सकेसम्म चूपचाप बस्नु, इन्टरनेटको गलत प्रयोग गर्नु र लहैलहैमा लाग्नु हुन् ।

शक्तिको दुरुपयोग गरी संरक्षण गर्ने र गरिने दुवै पात्रहरू सजायका भागिदार हुन्छन् । यसका लागि सजग हुने दायित्व नागरिकको पनि हो ।

जब न्याय संरचनागत र व्यवस्थागत रूपमा उपलब्ध हुँदैन तब हामी सबैको औंला ठडिनुपर्छ । व्यवस्थाप्रति औंला ठड्याउनुपूर्व आफ्नो अनुहारको दाग पनि पुछ्न सक्नुपर्छ । भनाइ नै छ ‘जीवनभर एउटै गल्ती गर्दै रहें, दाग थियो अनुहारमा तर म ऐना पुछ्दै रहें !’ कतै हामी पनि अरूमाथि दोषारोपण गरेर पन्छिएका त छैनौं ? यदि छौं भने हामी ती सबै चेलीका चीत्कारको कारण हौं ।

प्रतिक्रिया

One thought on “चेलीको चीत्कार: अनि तिनीहरुलाई चिथोर्न मन लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *