‘बीमा क्षेत्र समस्याको पहाड रहेछ, अब समाधान हुन्छ’ – Nepal Press

‘बीमा क्षेत्र समस्याको पहाड रहेछ, अब समाधान हुन्छ’

काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्र समस्याको पहाड भएको बताएका छन् ।

शुक्रबार बीमा समितिमा अध्यक्षको पदवाहाली गर्दै उनले सो कुरा बताएका हुन् । ‘बीमा क्षेत्र समस्याको पहाड रहेछ । म बीमा क्षेत्रको समस्याको पहाडमा छिरेको छु । अब यी समस्यालाई चाँढोभन्दा चाँढो हटाउनेमा प्रयत्न गर्ने छु,’ उनले भने ।

बीमा क्षेत्रका समस्यालाई द्रूत गतिमा समाधान गरेर अघि बढ्ने उनको भनाइ थियो । नवनियुक्त अध्यक्षले बीमा सरहका केही प्रतिशत व्यक्तिले मात्रै बुझेर हुँदैनभन्दै यसको पहुँच गाउँ गाउँमा पुर्याउनु पर्ने बताए ।

अध्यक्ष सिलवालले आफूले प्राविधिक कुरा धेरै नबुझ्ने भएकाले बीमा क्षेत्र आफ्ना लागि नयाँ क्षेत्र भएको बताए । ‘मेरो लागि यो नयाँ क्षेत्र हो । म यसको प्राविधिक कुरा बुझ्दिन । तर, अर्थतन्त्रको रुपमा जहाँसम्म यसको विस्तार हुनु पर्ने हो । त्यहाँसम्म पुग्न सकेको छैन,’ उनले भने ।

बीमा समितिलाई नियमक निकायका रुपमा मात्रै लिएकाले पनि बीमा क्षेत्र अगाडि बढ्न नसकेको उनको जिकिर थियो ।

अहिले बैंकको पहुँच ६० प्रतिशत जनसंख्यामा छ । बीमाको पहुँच किन २७ प्रतिशतसम्म मात्र ? उनले प्रश्न गरे । यसमा पनि सोच्नु पर्ने बेला आएको उनको भनाइ थियो । ‘बीमा कम्पनीले मुनाफा कमाउनु पर्ने भएपनि त्यो मुनफा विशुद्ध हुनु पर्छ,’ उनले भने ।

आफूले अर्थतन्त्र राम्ररी बुझेको भन्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रलाई अगाडि बढाउने कुरामा कुनै कसर बाँकी नराख्ने बताए ।

कार्यक्रममा बोल्दै बीमा समितिका कार्याकारी निर्देशक राजुरमन पौडेलले अबको डेढ महिनाभित्र रोकिएका सबैको कोरोना बीमा भुक्तानी हुने बताए ।
कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले जथाभावी रुपमा वितरण भएको अभिकर्ता लाइसेन्स तत्काल रोक्न माग गरेका छन् । उनले समिति जथाभावी रुपमा अभिकर्ता लाइसेन्स बाँड्ने अखडा बनाउन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर