आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो – Nepal Press

आम हड्तालबारे उद्योगी व्यवसायी भन्छन्: काल पल्किने चिन्ता भो

काठमाडौं । कोरोनाले थला परेको नेपालको अर्थतन्त्रलाई आजको आमहड्तालले थप चोट दिएको उद्योगी व्यवसायी तथा अर्थशास्त्रीले बताएका छन् । उनीहरुका अनुसार एक दिनको बन्दले देशमा अर्बौको आर्थिक क्षति हुने गर्छ ।

अहिले अर्थतन्त्रलाई कसरी माथि उकास्ने भन्नेमा सरकार तथा राजनीतिक दल लाग्नु पर्ने बेला उल्टै आमहड्ताल गर्नु शुभ संकेत नभएको बताउँछन् अर्थविद् बिमल कोइराला । उनका अनुसार यसले देशको अर्थतन्त्रलाई दूरगामी असर पुर्‍याउनेछ ।

‘बन्द, हड्ताल, राजनैतिक अस्थिरताले देशमा दूरगामी असर ल्याउँछ,’ उनले भने, ‘खासगरि पर्यटन क्षेत्रमा यसले सबैभन्दा ठूलो असर गर्छ ।’

नेपालमा भइरहेका घटनाक्रमको सूचना क्षणभरमै विश्वसामु पुग्ने भएकाले विदेशी पर्यटकमा नेपाल सुरक्षित छैन भन्ने सन्देश प्रवाह हुने उनको भनाइ छ ।

कोइरालाका अनुसार उद्योगधन्दा, कलकारखाना, विद्यालय, साना व्यापारी र दैनिक गुजारा गर्ने मजदूरलाई बन्द, हड्तालले ठूलो असर गर्ने छ ।

‘यो दूरगामी असर हो । यसको शुरुवात गर्नै हुँदैनथ्यो । हामी लामो समय बन्द, हड्ताल जस्ता क्रियाकलापबाट गुज्रिएका थियौं । अव त देशले केही पाउने बेलामा फेरी पूरानै शैली दोहोरिएको छ । यो ठीक होइन,’ उनले भने ।

कोरोनाले सबैभन्दा बढी क्षति गरेको पर्यटन क्षेत्रलाई आजको आमहड्तालले ठूलो नकारात्मक सन्देश फैलाउने बताउँछन् पर्यटन विभागका सिइओ डा. धनन्जय रेग्मी । उनका अनुसार पहिला पनि देशमा भएको जनयुद्ध, जन आन्दोलन, त्यसपछि भएका बन्द, हड्तालजस्ता कुराले विश्व सामु नेपाल असुरक्षित रहेको सन्देश गएको थियो ।

‘विश्वसामु नेपाल सुरक्षित छ भन्ने सन्देश फैलाउन हामीले लामो समय खर्चियौं । नेपालका राजनीतिक दलले पनि अब बन्द, हड्तालजस्ता कार्यक्रम नगर्ने भनेर बाचा पनि गरेका थिए । तर, फेरी यसको शुरुवात भएको छ । यो पक्कै राम्रो होइन । यसले पर्यटन व्यवसायलाई मात्र होइन पूरै अर्थतन्नत्रलाई नै ठूलो क्षति पुग्ने छ ।’ उनले भने ।

नेपाल एक दिन बन्द हुँदा २ अर्ब रुपैयाँभन्दा बढिको आर्थिक संकुचन हुने गरेको अर्थशास्त्री तथा उद्योगी बताउँछन् । आज भएको आमहड्तालको विरोध गर्दै नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघले संयुक्त रुपमा बुधबार नै विज्ञप्ती नै जारी गरेका थिए । उनीहरुले यस्ता क्रियाकलापको भर्सना गर्दै नेपालमा बन्द, हड्ताल जस्ता काम तुरुन्त बन्द गर्न आग्रह समेत गरेका छन् ।

नाम नखुलाउने शर्तमा एक उद्योगीले भने ‘वास्तवमा यो हड्ताल जो सुकैले गरेको भए पनि ठूलो गल्ती हो । अहिलेको समयमा कसरी उद्योग, कलकारखाना बचाउने भन्ने समयमा बन्द, हड्ताल गर्नु भनेको देशलाई अधोगतितर्फ लैजानु हो ।’

नेकपाले गरेको बन्दले भविष्यमा बन्द–हड्तालको पुरानै श्रृंखलाको पुनरावृत्ति हुन सक्ने उनको चिन्ता छ ।

‘…मरी भन्दा पनि काल पल्कने चिन्ता भयो, अब अरुले पनि भटाभट बन्द–हड्तालको कार्यक्रम ल्याए भने अर्थतन्त्र तहसनहस हुन्छ,’ उनले भने ।

यातायात व्यवायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यका अनुसार नेपाल बन्द भन्नासाथ पहिलो प्रहार यायातयलाई नै हुन्छ । सार्वजानिक यातायात मध्यवर्गीय र निमुखा जनताले प्रयोग गर्ने भएकाले बन्द, हड्तालजस्ता कुराले यिनै बर्गलाई सबैभन्दा बढी असर गर्ने उनको भनाइ छ ।

‘यातायात व्यवसायमा मजदूर तथा कर्मचारीले दैनिकको रोजीरोटी गुमाउनुका साथै लाखौको नोक्सानी व्यहोर्नु पर्छ । व्यवसायीलाई पनि दैनिक करोडौंको क्षति हुन्छ ।’ उनले भने ।

कोरोनाको समयमा ६ महिना यातायात बन्द हुँदा अर्बौको क्षति भएको उनले स्मरण गरे ।

कर्मचार्यका अनुसार यातायात व्यवसायले बन्द, हड्तालमा आर्थिक क्षति मात्र नभएर होइन मानसिक रुपमा पनि ठूलो प्रभाव पर्ने गरेको छ ।

‘बन्द हड्तालमा गाडी चलाउँदा ज्यानैको जोखिम हुन्छ । नचलाउँदा रोजिरोटी गुम्छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर