म्यानमार सैन्य ‘कू’ : अमेरिका र भारतद्वारा विरोध, चीन र रुस मौन – Nepal Press

म्यानमार सैन्य ‘कू’ : अमेरिका र भारतद्वारा विरोध, चीन र रुस मौन

काठमाडौं । म्यानमारमा भएको सैन्य कूलाई अन्तराष्ट्रिय समुदायले निन्दा गरेको छ । विभिन्न देशका सरकार, राजनीतिक दल र मानवअधिकारवादी संगठनले लोकतन्त्र पुनर्बहालीको माग गरेका छन् ।

भारतले म्यानमारको विकसित घटनाक्रमप्रति चासो व्यक्त गर्दै परिस्थितीलाई नजिकबाट नियालिरहेको जनाएको छ । भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गर्दै आफू म्यानमारमा लोकतान्त्रिक विधिपूर्वक सत्ता हस्तान्तरणको पक्षमा रहेको उल्लेख गरेको छ ।

भारतले कानुनी शासन र लोकतान्त्रिक विधिलाई पुनर्बहाली गर्न माग गरेको छ ।

अमेरिकाले म्यानमारको सैन्य कूलाई विरोध गरेको छ । ह्वाइट हाउस प्रवक्ता जेन पास्कीले चुनाबमा धाँधली भएको भन्ने म्यानमार सैनिकको भनाइप्रति आपत्ति जनाउँदै यदि यो आरोप गलत पुष्टि भए कदम चाल्ने समेत चेतावनी दिएको छ ।

राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानबाट विकसित घटनाक्रमबारे जानकारी लिएका छन् ।

अष्ट्रेलियाली विदेश मन्त्री म्यारिज पाइनले आङ साङ सुकीलाई पक्राउ गर्ने कार्यको भत्र्सना गरेका छन् । हुमन राइट्स वाचका एसिया निर्देशक जोन सिफ्टनले सेनाले म्यानमारमा व्यवहारिक रुपमा सत्ता हस्तान्तरण नगरेको र त्यहाँको सेनाको नियतलाई चित्रण गरेको उल्लेख गरेको छ।

सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिजका दक्षिणपूर्वी एसिया विज्ञ मुर्रे हाइव्रटले बाइडेन प्रशासन लोकतन्त्र र मानवअधिकारको पक्षमा रहेको जनाएका छन् । तर, उनले तत्काल अमेरिकाले कुनै कदम चाल्न सक्ने सम्भावनालाई नकारे । उनले चीन म्यानमारको पक्षमा उभिन सक्ने आशंका व्यक्त गरेका छन् ।

यो समाचार तयार पार्दासम्म चीन र रुसले कुनै प्रतिक्रिया दिएका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर