पूर्वलडाकुप्रति ओलीको प्रेमवर्षा, के नाटकै हो ? – Nepal Press

पूर्वलडाकुप्रति ओलीको प्रेमवर्षा, के नाटकै हो ?

‘तपाईंहरू आफूलाई अयोग्य नभन्नुस् है, अयोग्य लडाकु भनेको लडाकु हुन अयोग्य होइन, तोकिएको मापदण्ड नपुगेको मात्र हो’, प्रधानमन्त्री केपी शर्मा ओलीले बडो स्नेह देखाउँदै एक पूर्व बाललडाकुलाई सम्झाएका छन् ।

पूर्व बाललडाकु समूहका प्रवक्ता राजन थापासँगको फोन सम्वादमा ओलीले यसरी लोलोपोतो गरेका थिए । जवाफमा थापा पनि ओलीप्रति नतमस्तक बन्दै भन्छन्, ‘प्रचण्डले त माओवादी जनयुद्धलाई कुहिएको फर्सी बनाए । हामीलाई अब तपाईंसँगै भरोसा हो, प्रधानमन्त्रीज्यू !’

याे पढ्नुस्
पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित)

यो संवाद एउटा झलक मात्रै हो, प्रधानमन्त्री ओलीले माओवादीका पूर्वलडाकुप्रति देखाइरहेको अतिरिक्त सहानुभूति र प्रेमभावको । तत्कालीन माओवादीबाटै परित्यक्त अवस्थामा रहेका पूर्वलडाकुहरूलाई ओलीले अहिले संरक्षण दिन खोजेको उनका अभिव्यक्ति र व्यवहारबाट स्पष्ट झल्किन्छ । धेरैका लागि यो आश्चर्यजनक छ । यसकारण कि तत्कालीन माओवादीले गरेको १० वर्ष लामो जनयुद्धको प्रखर विरोधी मानिन्छन् ओली ।

विगतदेखि नै ओलीले माओवादी जनयुद्धलाई अनेक तरिकाले छेड हान्दै आएका छन् । माओवादी लडाकुलाई उनले ‘गुरिल्ला’ को संज्ञा दिने गरेका थिए । जनयुद्धकालमा माओवादीले पनि ओलीलाई आफ्नो कठोर विरोधी ठान्थ्यो । तत्कालीन एमालेभित्र माधव नेपाल, वामदेव गौतमहरू तुलनात्मक रूपमा माओवादीप्रति लचिला थिए । माधव नेपालले हालै आफ्नो भाषणमा भनेका पनि छन्, ‘ओलीले प्रचण्डलाई २०६३ सालपछि देखेका हुन्, मैले त उहाँलाई ४० वर्षदेखि चिनेको छु ।’ यो भनाइमा सत्यता हुनसक्छ ।

केपी ओली जनयुद्धप्रति पछिसम्म पनि सकारात्मक थिएनन् भन्ने विभिन्न दृष्टान्त छन् । पार्टी एकतापछि पनि उनले जनयुद्धको अपनत्व लिन इन्कार गरेको तथ्य ‘जनयुद्ध दिवस’ को कार्यक्रममा सहभागी नभएबाट प्रमाणित हुन्छ ।

माओवादीले हरेक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउने गर्छ । तत्कालीन एमाले र माओवादी निर्माण भएर नेपाल कम्युनिष्ट पार्टी निर्माण भएपछि दुईवटा फागुन १ गए । दुवैपटक पूर्व माओवादी समूहले कार्यक्रम गर्‍यो, तर त्यसलाई ‘जनयुद्ध दिवस’ नभनेर ‘विभिन्न आन्दोलन र जनयुद्धमा शहीद भएकाहरूलाई सम्झिने कार्यक्रम’ भनिएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा ओलीलाई निमन्त्रणा गरिएको भए पनि ओली दुवैपटक विभिन्न कारण देखाएर गएनन् ।

एक तीर, दुई शिकार

पार्टी एक हुँदासम्म पूर्वलडाकुप्रति कुनै सरोकार नदेखाएका प्रधानमन्त्री ओली विभाजनपछि किन उनीहरूलाई बारम्बार सम्झिरहेका छन् भन्ने प्रश्न उठ्छ । सम्झिरहेका मात्रै छैनन् कि उनीहरूलाई अनेक चिल्ला आश्वासन पनि दिएका छन् । बुझ्न कठिन छैन, ओलीको पूर्वलडाकु प्रेम रणनीतिक हो ।

पार्टी विभाजनपछि आएर ओली एकाएक पूर्वलडाकुप्रति सहानुभूतिशील देखिनुको मुख्य कारण राजनीतिक लाभको खोजी बाहेक अर्को हुन सक्दैन ।

पूर्वलडाकुलाई आफ्नो समूहमा समावेश गरेर ओलीले ‘एक तीर दुई शिकार’ गर्न खोजेको देखिन्छ । पहिलो, प्रचण्डले युद्धमा होमेर पछि अलपत्र पारेका युवाहरूलाई आफूले संरक्षण दिएको देखाएर उनी आफ्नो छाती साह्रै फराकिलो छ भन्ने देशवासीसामु देखाउन र प्रचण्डलाई नैतिक संकटमा पार्न चाहन्छन् ।

ओलीको दोस्रो उद्देश्य विभाजनपछि आफ्नो समूहमा लागेका बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझीलगायतका पूर्वमाओवादी नेताहरूलाई खुशी पार्ने हुनसक्छ, जो ‘कुहिएको फर्सी’ वाला अभिव्यक्तिबाट झस्किएका छन् । ओलीले जनयुद्धलाई ‘कुहिएको फर्सी’ भनेर होच्याउँदा उनीहरूलाई नैतिक संकट परेको थियो । अर्को समूहमा रहेका पूर्वमाओवादी नेताहरूले उनीहरूलाई गिज्याइरहेका छन् । जस्तो कि वर्षमान पुनले रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई ‘ओलीको दायाँ–बायाँ रहेका ढेडु बाँदर’ को संज्ञा दिए ।

ओलीले पूर्वलडाकुहरूलाई माया दर्शाउन थालेपछि बादललगायतको अनुहारमा मुस्कान फर्केको छ । तर, के ओलीले करीब चार हजारको संख्यामा रहेका पूर्व बाललडाकुहरूको समूहलाई साँच्चिकै संरक्षण देलान् त ?

राजनीतिक विश्लेषक (पहिले माओवादीका नेता, पछि विभिन्न पार्टी फेरेर हाल स्वतन्त्र) मुमाराम खनाल यो ओलीको राजनीतिक चालबाजी मात्रै भएको बताउँछन् । पूर्वलडाकुलाई आफ्नो साथमा लिएर ओलीले प्रचण्डलाई ‘डिस्क्रेडिट’ गर्न खोजेको उनको भनाइ छ ।

ओलीले पूर्व लडाकुलाई साथमा लिन खोज्नुका कारण खोतल्दै खनालले भने, ‘पहिलो त उहाँ अहिले हरतरहले शक्तिशाली बन्न खोजिरहनुभएको छ । शक्ति आर्जन गर्ने हेतु धेरै गलत मानिसहरूलाई उहाँले हातमा लिइरहनुभएको छ । प्रभु शाह, बालकृष्ण ढु्ंगेल, कालीबहादुर खाम जस्ता आपराधिक पृष्ठभूमिका मान्छेहरूलाई संरक्षण दिनुको मूल उद्देश्य भनेको अतिरिक्त शक्ति आर्जन नै हो । यस्ता मान्छे चुनावमा काम लाग्छन् भन्ने विश्लेषण उहाँको हुनसक्छ । अर्को चाहिं प्रचण्डले युद्धमा होमेका र पछि अलपत्र पारेका युवाहरूलाई आफूले संरक्षण दिएको देखाएर लोकप्रियता आर्जन गर्ने तथा प्रचण्डलाई तल गिराउने सोच पनि हो ।’

पूर्वमन्त्री तथा ओली निकट नेता गोकुल बास्कोटा भने ओलीले पूर्वलडाकुहरूलाई अभिभावकत्व दिन खोज्दा कोही आत्तिनु नपर्ने बताउँछन् ।

‘उनीहरू पनि यही देशका नागरिक हुन्, जो विभिन्न कारणले बहिष्करणमा परेर दयनीय जीवनयापन गरिरहेका छन् । देशको प्रधानमन्त्री भएको हिसाबले यस्ता नागरिकलाई संरक्षण दिने कार्यलाई राजनीतिक अर्थमा बुझ्नुहुँदैन’, उनले भने ।

प्रचण्डको प्रतिक्रिया

ओलीले गत पुस १५ गते सुदूरपश्चिममा भएको भेलामा पहिलोपटक माओवादीका पूर्वलडाकु कमाण्डर कालीबहादुर खामलाई सम्झिएका थिए । त्यसभन्दा अगाडि ओली र खामबीच बालुवाटारमा भेटघाट भइसकेको थियो । जबकि खाम कानूनको नजरमा एक फरार अभियुक्त हुन् । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि भएको रामहरि श्रेष्ठको हत्याकाण्डमा अदालतले उनलाई दोषी ठहर्‍याएको थियो । एउटा फरार अभियुक्तलाई ओलीले बालुवाटारमा स्वागत मात्रै गरेका छैनन्, संरक्षणसमेत दिन खोजिरहेका छन् ।

पार्टी विभाजनयता गरेका धेरै भाषणमा ओलीले माओवादीका पूर्वलडाकुको प्रसंग उठाउँदै प्रचण्डलाई घोचपेच गरेको पाइन्छ । प्रचण्डले आफ्नो परिवारलाई प्रश्रय दिएर जनयुद्धका घाइते, अपांग र शहीद परिवारलाई तिरस्कार गरेको आरोप उनको छ ।

पछिल्लो एक भाषणमा ओलीले भनेका छन्, ‘आफ्ना छोरी–ज्वाईंलाई हेर्नुपर्ने, अनि आफूले लडाईंमा होमेका लडाकुका सन्तानलाई हेर्नु नपर्ने ?’

हालैको अर्को भाषणमा उनले युवाहरूलाई लड्न पठाएर प्रचण्ड आफू दिल्लीमा ‘जेल’ लगाएको कपाल मुसारेर बसेको आरोप लगाएका छन् ।

ओलीले भनेका छन्, ‘प्रचण्ड कहिले रोल्पा जानुभयो, कहिले सिरहा जानुभयो । अब जाने ठाउँ कतै छैन । उहाँ हिजो जङ्गलमा बस्नुभएको होइन । दिल्ली, नोयडा बस्नुभयो । जनताका छोराछोरीलाई बन्दूक भिराएर जंगल पठाउनुभयो । आफू जेलवाला तेलले जुल्फी कोरेर दिल्ली बस्नुभयो ।’

ओलीले पूर्वलडाकुप्रति सहानुभूति दर्शाउन थालेपछि प्रचण्ड–माधव समूहभित्रको पूर्वमाओवादी खेमा सकसमा परेको छ । प्रचण्ड स्वयंले असहजता महसूस गर्न थालेको देखिन्छ । उनले काठमाडौंमा आयोजित जनसभामा ओलीले लगाएका आरोपमा जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘प्रचण्डले जनमुक्ति सेना नहेर्ने रे, केपीले हेर्ने रे ! नाटक पनि कति गर्न जानेको हो । लाजै लाग्ने । त्यसैले जनयुद्धका साथीहरू ओलीको कुरामा गम्भीर नहुनुहोला । कमरेडहरू तपाईंहरूको योगदानको इतिहासमा स्वर्णिम अक्षरले लेख्ने काम भएको छ । त्यसलाई कसैले कालो नपोतौं ।’

उनले यो पनि थपे, ‘जनयुद्धका घाइते अपाङ्गहरू माइतीघरमा अनशन बस्दा मैले बारम्बार कुरा उठाएँ । सरकारलाई पटकपटक यी घाइते, अपांगको उपचार गर्नुप¥यो, यो सरकारले त खाईपाई आएको सुविधा पनि काटेछ भन्दा केपीले नै त्यसलाई रोकेका हुन् । गृह प्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैपटक भन्दा कहीं कतै टेरपुच्छर लागेन । उल्टो मासिक भत्ता खोसियो । अहिले पार्टी विभाजनमा अल्पमतमा परेपछि ती घाइते अपांगलाई हेर्नुपर्दैन प्रचण्डले भन्ने तिनै केपीले ? फट्याइँ पनि कति गर्न सकेको हो ? जालझेल पनि कति गर्न जानेको ? कस्तो दिमाग हो ?’

ओलीले पूर्वलडाकुलाई सहयोग गर्न अवरोध गरेको प्रचण्डको आरोपबारे पूर्वमन्त्री बास्कोटा भन्छन्, ‘प्रचण्डले फजुल कुरा गरेका हुन् । यदि सहयोग गर्नै चाहेका थिए भने आफू दुईपटक प्रधानमन्त्री बनेका बेला किन गरेनन् ? बाबुरामले किन गरेनन् ?’

याे जुहारी हेर्नुस्

के छ सरकारको तयारी ?

पार्टी विभाजनपछि पूर्व बाललडाकु समूहका युवाहरू ओली निकट नेताहरूको सम्पर्कमा आएका थिए । ती नेताहरूले पूर्वलडाकु समूहलाई बालुवाटार पु¥याएका थिए ।

गत १० माघमा बालुवाटारमा प्रधानमन्त्रीसँग प्रत्यक्ष छलफल गरेर तत्कालीन माओवादीका लडाकुहरूको संगठन पूर्व जनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली समूहमा समाहित हुन अनौपचारिक सहमति जनाए । आफूहरूसँग चार हजारभन्दा बढी युवाहरू रहेको यो समूहको दाबी छ । यो समूहले आगामी २१ माघमा पूर्व बाललडाकुहरूको भेला आयोजना गर्ने तयारी पनि गरिरहेको छ । ओली समूहमा बढीभन्दा बढी संख्यामा पूर्वलडाकुहरूलाई तान्न उनीहरू गृहकार्य गरिरहेका छन् ।

यता बालुवाटारले पनि पूर्वलडाकुलाई चिल्ला आश्वासनहरू दिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले पूर्वलडाकुलाई परिचयपत्र वितरण तथा सम्मान गर्ने विषयमा मापदण्ड बनाउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अध्यक्षतामा तीन मन्त्रीको कार्यदल बनायो । यस्तै पूर्वलडाकुलाई दिन सकिने राहत प्याकेजको विषयमा छलफल भइरहेको बालुवाटार स्रोत बताउँछ । पूर्वलडाकु, घाइते र शहीद परिवारले निःशुल्क उपचार र उचित व्यवस्थापनको माग गर्दै आएका छन् ।

ओलीले पूर्व बाललडाकु तथा शहीद परिवारलाई आफ्नो पार्टीको केन्द्रीय समितिमा समेत स्थान दिने आश्वासन दिएका छन् । तथापि, निर्वाचन आयोगले यसअघि ओलीले थपेका केन्द्रीय सदस्यलाई नै मान्यता नदिएपछि यो योजना तत्काललाई पछिसरेको छ ।

को हुन् अयोग्य लडाकु ?

माओवादी जनयुद्धको विसर्जनपछि उक्त पार्टीमा रहेका लडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने सहमति बनेको थियो । संविधानसभा निर्वाचनपछि बनेको सरकारले ६ महिनाभित्र लडाकुको समायोजन र पुनर्स्थापनाको काम सक्ने भनिएको थियो । तर, विभिन्न विवादले या प्रक्रिया लम्बियो ।

२०६३ सालको साउनमा सरकार र माओवादीबीच शान्ति प्रक्रियामा राष्ट्रसंघीय मिसनलाई सहभागी गराउने नयाँ सहमति भयो । सरकारको निर्णय र अनुरोधपछि २०६३ सालको माघ ९ गते नेपालका लागि राष्ट्रसंघीय मिसन-अनमिनको स्थापना भयो । चार वर्षको अवधिमा अनमिनको म्याद सातपटक थपिएको थियो । अनमिनले नेपालमा लडाकूहरूको प्रमाणीकरण, हतियार र लडाकूको अनुगमन तथा विवाद सहजीकरणको काम सम्पन्न गर्‍यो ।

शुरूमा अनमिनले ३२ हजार २५० लडाकु र ३ हजार ४७५ हतियार दर्ता गरेको थियो । तर, कुल दर्तामध्ये ८ हजार ६४० जना दोस्रो चरणको प्रमाणीकरणमा उपस्थित नभएपछि स्वतः अयोग्य ठहरिए । युद्धविराम आचारसंहिता जारी भइसकेपछि लडाकुका रूपमा भर्ती भएका र उमेर कम रहेका कारण ४ हजार ८ जना दोस्रो चरणको प्रमाणीकरणमा अयोग्य घोषित गरिएका थिए, उनीहरूमध्ये २ हजार ९७३ जना १८ वर्षमुनिका थिए । उनीहरूलाई २५ माघ २०६६ मा क्यान्टोनमेन्टबाट खालीहात घर फर्काइएको थियो । अयोग्य लडाकु भनिएका उनीहरू नै हुन् ।

योग्य ठहर भएकाहरूमध्ये १५ हजार ६३० लडाकुले स्वेच्छिक बहिर्गमन रोजेका थिए । उनीहरूलाई सरकारले आर्थिक प्याकेज दिएको थियो ।

जिम्मेवार को ?

जनयुद्धकालमा तत्कालीन माओवादीले प्रलोभन वा दबाबमा पारेर उमेर नपुगेका किशोर–किशोरीहरूलाई युद्धमा सामेल गरायो । उनीहरूको पढाइ टु्ट्यो । तर, माओवादी शान्ति प्रक्रियामा आएपछि ‘अयोग्य’ भन्दै उनीहरूलाई खालीहात घर पठाइयो । ‘योग्य’ ठहर भएकाहरू या नेपाली सेनामा समायोजन भए, या सरकारबाट ४–५ लाख रुपैयाँ पाएर आफ्नो इलमतिर लागे । कोही विदेश हान्निए । तर, यी बालसैन्यहरूले भने केही पाएनन् ।

युद्धकालमा क्रान्तिका भाषण घोटाएर, नयाँ जनवादको सपना देखाएर युद्धमा होमिएकाहरू ‘अयोग्य’ ठहरपछि परिवार र समाजको समेत बहिष्करणमा परेका थिए । उनीहरूमध्ये धेरैको आर्थिक अवस्था अहिले पनि जर्जर नै छ । यी पूर्वलडाकुप्रति वास्तवमा सरकार नैतिक रूपमा जिम्मेवार छैन । सरकारले उनीहरूलाई युद्धमा पठाएको होइन । उनीहरूप्रति जिम्मेवार त पूर्वमाओवादी नै हो जसले उनीहरूलाई उमेर नपुग्दै लडाईंमा होम्यो ।

गणतन्त्रपछि दुई माओवादी नेता प्रचण्ड र डा. बाबुराम भट्टराई प्रधानमन्त्री बने । प्रचण्ड त दुईपटक बने । आफू प्रधानमन्त्री बन्दा उनीहरूलाई केही गर्न नसकेका प्रचण्डले अहिले आएर ओलीले गर्न दिएनन् भन्नुमा पनि कुनै तुक छैन ।

यता पूर्वलडाकुलाई ओलीले देखाएको माया पनि आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने उद्देश्यबाट मात्रै प्रेरित छ । यो एकप्रकारको राजनीतिक तिगडम नै हो । नाटकै हो ।

याे पनि पढ्नुस्
माओवादी पूर्व लडाकुका दुवै संगठन ओली नेतृत्वको नेकपामा समाहित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर