पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित) – Nepal Press

पूर्वबाललडाकुसँग प्रधानमन्त्रीको फोन संवादः आफूलाई अयोग्य नभन्नुस् है ! (अडियोसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिष्करणमा परेका माओवादीका पूर्वलडाकुसित पछिल्ला दिनमा आत्मीयता बढाइरहेका छन् । खासगरी, पार्टी विभाजनपछि उनले दिएका अभिव्यक्तिमा माओवादी पूर्वलडाकु तथा जनयुद्धका घाइते-बेपत्ताका परिवारजनप्रति बारम्बार सहानुभूति प्रकट भएको छ ।

प्रधानमन्त्रीको यो सहानुभूतिले पूर्वलडाकुहरु पनि वशीभूत देखिन्छन् । गत १० माघमा प्रधानमन्त्री ओलीसँग प्रत्यक्ष छलफल गरेर तत्कालीन माओवादीका लडाकुहरुको संगठन पूर्वजनमुक्ति सेना र बहिर्गमित बाल सैनिकको संगठनले ओली समूहमा समाहित हुन अनौपचारिक सहमति जनाएका थिए ।

यसैबीच, प्रधानमन्त्री ओली र एक पूर्वबाललडाकुबीच हालै भएको टेलिफोन संवाद नेपाल प्रेसलाई प्राप्त भएको छ । पूर्वबाललडाकुका प्रवक्ता तथा उपाध्यक्ष राजन थापाले प्रधानमन्त्रीलाई फोन गरेर आफ्ना भनाइ राखेका थिए । संवादका क्रममा प्रधानमन्त्रीले पूर्वबाललडाकुले आफूलाई ‘अयोग्य’ नठान्न आग्रह गरे । थापाले चाहिँ ओलीकै शब्द सापटी लिएर तत्कालीन माओवादीका सुप्रिमो प्रचण्डले जनयुद्धलाई ‘कुहिएको फर्सी’ मा परिणत गरेको गुनासो गरेका छन् ।

प्रधानमन्त्रीसँग थापाले गरेको कुराकानी जस्ताको तस्तैः

प्रमः  हेल्लो ।

थापाः  प्रधानमन्त्रीज्यू नमस्कार ।

प्रमः  नमस्कार ।

थापाः प्रधानमन्त्रीज्यू, म पूर्वबाललडाकु तथा अयोग्य लडाकु भन्ने छ नि, त्यसको प्रवक्ता तथा उपाध्यक्ष राजन थापा बोल्दैछु । प्रधानमन्त्रीज्यूले अहिले जे निर्णय लिनुभयो नि, त्यसमा एकदमै सकारात्मक छौं ।

प्रमः  धन्यवाद ।

थापाः  प्रधानमन्त्रीज्यूले जे निर्णय गर्नुभएको छ, देशको हितको निम्ति छ । पछिल्लो समय बहिर्गमित जनमुक्ती सेना, अयोग्य लडाकु गरी कुल ४ हजार ८ जना छौं । त्यो जनमुक्ति सेनालाई पनि हामीले के जानकारी गराएका छौं भने…

प्रमः  (बीचमा रोक्दै) एउटा शब्दमा तपाईं भ्रममा नपर्नुस है धेरै । ‘अयोग्य लडाकु’ भनेको लडाकु बन्नका निम्ति अयोग्य भनेको होइन । लडाकु भनेर जे उनीहरुले पेश गरे, त्यो क्याटेगोरीमा मिलेन, त्यो लडाकु भनेर पेश गरेकोमा साँचो नठहरिएको मात्रै हो ।

थापाः  हजुर, हजुर प्रधानमन्त्रीज्यू । अनि, २०७३/७४ को बजेटमा हजुर प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्थ्यो । त्यतिबेला पनि यो समूहलाई केही व्यवस्थापन गर्नुपर्छ भनेर ८४ करोड विनियोजन गर्नुभएको थियो । फेरि प्रधानमन्त्री कार्यालय र सरकारलाई विपक्षी बनाएर रिट पर्‍यो । त्यो रिट अहिले पनि चलिरहेको छ । त्यसकारण अहिले हामी समग्र ४ हजार मात्र नभएर परिवार र आफन्तसमेत गरी ३२ हजारसम्मको स्थिति आउन सक्छ ।

हामीले साथीहरुलाई पनि के स्पष्ट बनाएका छौं भने, प्रचण्डले हिजो गद्दार गरे । उहाँले जनयुद्धलाई कुहिएको फर्सीमा परिणत गर्नुभएको छ अहिले । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वको सरकारले कमसेकम देशको हितको निम्ति, जनयुद्धका घाइते र सहिद परिवारको निम्ति राम्रो खालको योजना र सोच बनाउनुभएको छ । प्रचण्डले भने सत्ताको लागि र कुर्सीका लागि मात्र काम गरेको साथीहरुले बुझ्नुभएको छ र आम जनताले पनि त्यही बुझ्नुभएको कुराहरु छ । त्यसैले गर्दा कमसेकम जुन सर्वोच्चमा अड्केर बसेको छ, त्यो विषयलाई पोजिटिभ ढंगले किनारा लगाउने काम गर्नपाए उचित हुन्थ्यो …

प्रमः  ठीक छ, अरु थप कुराहरु पछि गरौंला । अहिले मिटिङमा छु । मिटिङकै बीचमा धेरै कल आएको भएर उठाएको हो । पछि कल ब्याक गर्छु । राजु के अरे ?

थापाः  राजन थापा ।

प्रमः  ए हुन्छ ल ।

सुन्नुस् अडियो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर