गुठी संस्थानले नियुक्त गर्यो महिला पुजारी, तर चालचलनमा प्रश्न – Nepal Press

गुठी संस्थानले नियुक्त गर्यो महिला पुजारी, तर चालचलनमा प्रश्न

काठमाडौं । इच्छुकले दिएको निवेदनका आधारमा गुठी संस्थाले श्री असन अन्नपूर्ण नारायण मन्दिरमा पूजारी नियुक्ती गरेको छ । पुजारी नियुक्त भएकी सहनशीला शर्माको चालचलनमाथि भने प्रश्नहरु उठेका छन् ।

शर्मालाई गुठी संस्थान शाखा कार्यालय, काठमाडौंले पूजारी पदमा १ वर्ष परीक्षणकालमा रहने गरी बढीमा ५ वर्षको नियुक्ती दिएको हो । आफूलाई पुजारी नियुक्त गरिपाउँ भनेर शर्माले निवेदन दिएकी थिइन् । तर, उनी पेशाले पत्रकार हुन् ।

शर्मा स्वयम्ले फेसबुकबाट आफ्नो गुठी संस्थानको पत्र सार्वजनिक गरेकी छन् । सो पत्रअनुसार शर्माको दाजुको स्थानमा उनलाई नियुक्त गरिएको देखिन्छ । शर्माले आफूलाई नियुक्ती गर्न निवेदन दिएको गुठीको पत्रमा उल्लेख छ ।

गुठी संस्थान शाखा कार्यालय, काठमाडौंका प्रमूख हरिप्रसाद सुवेदी पुजारी नियुक्तीका लागि पढाइ लगायत कुनै मापदण्ड नहुने बताउँछन् । मन्दिरको पूजारी हुन सोही सम्प्रदायको हुनुपर्ने र पहिले पूजारी काम गरेको हुनुपर्ने उनको भनाइ छ ।

‘पूजारीका लागि मुख्य हेर्ने भनेको पुजाआजा हो । पुजासम्बन्धी ज्ञान भएको हुनुपर्छ । नित्य पूजा हुने ठाउँमा पूजारी विहान–बेलुका रहनुपर्छ,’ सुबेदीले भने । शर्माले नियमित पुजा गरे–नगरेको हेर्न वडा कार्यालयलाई भनिएको उनले बताए ।

सुबेदीका अनुसार महिलालाई पूजारी नियुक्त गर्न कानूनले रोक्दैन ।

‘पहिला महिलाहरु रुची राख्दैनथे । त्यसले पनि नभएको हुन सक्छ । तर, उहाँ पहिलो महिला पुजारी हो भनेर भनेका छैनौं,’ उनले भने ।

पुजारी नियुक्त भएकी शर्माले मन्दिरमा वर्षौदेखि आफ्नो परिवारले पुजा गर्दै आएको बताइन् । उनका बुवा हुद्रराज शर्मा बितेपछि पुजारीको जिम्मेवारी भाइ प्रमोद शर्मा झामा सरेको थियो । तर, प्रमोद पनि बेलायतमा बसोबास गर्न थालपछि पुजाआजाको काम प्रभावित भइरहेको थियो । परिवारमा अर्को छोरा नभएपछि शर्माले आफूलाई पुजारी नियुक्त गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।

शर्माको निवेदन आएपछि गुठी संस्थानले उनलाई वडाको सिफारिस ल्याउन भनेको थियो । उनले काठमाडौं महानगरपालिका वडा २७ मा सिफारिसका लागि निवेदन दिइन् र वडाले पनि बनाइदियो । त्यही सिफारिसका आधारमा गुठीले १५ गते उनलाई नियुक्त गरेको हो ।

शर्माले नेपाल प्रेससँग भनिन्, ‘म रहरले पूजारी बनेको होइन । हाम्रो खानदानले गर्दै आएको पूजा हो । त्यो पूजालाई निरन्तरता दिन मभन्दा माथिको पुस्ताबाट मेरो पुस्तासम्म सरेको मात्रै हो ।’

चालचलनमा प्रश्न

बिहीबार शर्माले फेसबुकमा आफू पुजारी नियुक्त भएकोमा खुशी व्यक्त गर्दै स्टाटस लेखिन् । यसरी पुजारी नियुक्त हुने आफू पहिलो महिला हुन सक्ने उनले उल्लेख गरेकी थिइन् । धेरैले उनलाई बधाई दिए । तर, सँगसँगै सामाजिक सञ्जालमा आलोचना पनि सुरु भयो ।

पूर्वसचिव भिम उपाध्यायले सहनशीलाको फेसबुकबाट केही तस्वीरहरु उत्खनन् गरेर आफ्नो वालमा पोस्ट्याइदिए । त्यसले विवाद उब्जियो । सहनशीलाले हुक्का तानेकोदेखि मदिरापान गरेको तथा क्रिश्चियन मिसिनरीसँग बसउठ गरेको तस्वीरहरु आइसकेपछि उनको चालचलनमा प्रश्न उठेको छ । ‘मदिराप्रेमी’ लाई मन्दीरको पुजारी नियुक्त गरिएको भनेर धेरैले आलोचना गरेका छन् ।

शाखा प्रमुख सुवेदीले भने नवनियुक्त पूजारीको चालचलनबारे आफू अनविज्ञ रहेको बताए । उनले भने- ‘उहाँले मदिरापान गर्ने गरेको जानकारी भएन । कसैको भित्री कुरा हामीलाई थाहा हुँदैन । उहाँले हिन्दु धर्म छोडेको छैन भनेर भन्नुभएको छ । उहाँलाई नियमित पुजा चाहिँ थाहा छ ।’

उनको आचरण गलत पाइएमा स्पष्टिकरण सोधेर कारवाही प्रक्रियामा जान सकिने सुवेदी बताउँछन् ।

काठमाडौं महानगरपालिका वडा २७ का वडाअध्यक्ष चिनियामान बज्राचार्यले शहनशीला झाले वडाबाट सिफारिस लगे पनि पूजारी नियुक्ती गुठी संस्थानले गरेको बताए । उनले भने- ‘उहाँले पहिलेदेखि बाउबाजेले गरिराखेको हो र मैले गर्न पाउनुपर्छ भनेर निवदेन दिनुभएको थियो । हामीले सिफारिस मात्रै गरिदिएको हो ।’

सहनशीला भन्छिन् : अनावश्यक विवाद

सहनशीलाले सामाजिक सञ्जालमा आफूमाथि अनावश्यक टिकाटिप्पणी गरिएको बताइन् ।

उनले नेपाल प्रेससँग भनिन्- ‘विवाद गर्नुपर्ने केही कुरा छैन । मैले खाली खान्दानी कामलाई निरन्तरता मात्रै दिएको हो । सबै कुरा सबैलाई चित बुझ्दैन । चित्त नबुझ्नेका लागि म केही गर्न सक्दिन ।’

यो मन्दिरमा सयौ वर्षदेखि नित्य पुजा हुँदै आएको छ । यसमा कृष्णअष्टमी, दशैको नवमी र एकादशीका दिन ३ वटा पुजा गर्ने गरिएको छ । सहनशीलाले असनमा अन्नपूर्ण नारायण गठटी अन्तरगतका वार्षिक पूजाहरु गर्नुपर्छ । पूजारीका रुपमा सहनशीलाले नित्य तथा पर्वपूजावापत खर्च पाउने छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर