द्वन्द्वपीडितको पीडामा मल्हम लगाउँछौ : मुख्यमन्त्री शाही – Nepal Press

द्वन्द्वपीडितको पीडामा मल्हम लगाउँछौ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णालीमा सत्य निरुपण तथा मेलमिलाप आयोगले बिहीबारदेखि परिचयपत्र वितरण शुरू गरेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले द्वन्द्वको समयमा सरकारी पक्षबाट पीडित पूर्णप्रसाद पौडेललाई परिचय पत्र दिएर प्रदेशमा अभियानको शुरूआत गरे ।

पौडेलले भने, ‘हामी पीडित भएको दशौं वर्षपछि परिचयपत्र मात्र पाएका छौं ।’ अब परिचयपत्रले मात्र नभई हाम्रो सपना पूरा गराउने तर्फ पनि सबै लाग्नुपर्छ । प्राप्त उपलब्धिको रक्षा र लोकतन्त्र जोगाएर राख्न आग्रह गर्दछु ।’

आयोगका अध्यक्ष गणेशदत्त भट्टले देशभरमा आयोगमा ६३ हजार ७१८ उजुरी परेको बताउँदै त्यसमध्ये ३७८७ मा प्रारम्भिक कारवाही भएको बताए । ‘१९९० मुद्दाको हामीले छानबिन गरिसकेका छौं । १७३ मुद्दाको विस्तृत छानबिन गर्दैछौं । १०१ मा परिपूर्णको फाराम भराइरहेका छौं भने ३८१ उजुरी तामेलमा पठाएका छौं’, उनले भने, ‘अबको केही दिनमा मुकाम थपेर भएपनि आयोगले द्वन्द्वपीडितहरुको उजुरीलाई किनारा लगाई न्याय दिलाउने प्रयास गर्छ । यसमा सबै पीडितहरु ढुक्क भए हुन्छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जतिसक्दो चाँडो मुद्दाको किनारा लगाउन आग्रह गरे । ‘तपाईंहरु मुद्दाको किनारा तत्काल लगाउनुहोस् । उहाँहरूको पीडामा मल्हम हामी लगाउँछौं ।’ उनले प्रदेश सरकार द्वन्द्वपीडितका लागि राहत दिने उद्देश्यले कानून नै बनाएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर