एपिएफ प्रधानमन्त्री कपकाे फाइनलमा, साविक विजेता पुलिस बाहिरियो – Nepal Press

एपिएफ प्रधानमन्त्री कपकाे फाइनलमा, साविक विजेता पुलिस बाहिरियो

काठमाडौं । साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपिएफ क्लब प्रधानमन्त्री कपको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको पुलिसले २०४ रनको लक्ष्य पाएको थियो । फाइनल प्रवेशका लागि २०४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको पुलिसले ४९।२ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो ।

पुलिसका सुरुआती ब्याट्सम्यान टिक्न सकेनन् भने भरपर्दा ब्याट्सम्यान आरिफ शेख घाइते भएर सुरुआतमा ब्याटिङ गर्न सकेका थिएनन् । आठौं विकेट गएपछि क्रिजमा उत्रिएका आरिफले रनका लागि दौडिन नसके पनि ३ बाउन्ड्रिबाट १६ रन जोडे । ओपनरद्वय सुनिल धमला ३ तथा कुशल भूर्तेल शून्यमा पेभेलियन फर्के । त्यस्तै, अमित श्रेष्ठ ८ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरीले ६९ बलमा २ चौकासहित ३३ रनको योगदान गरे ।

विकेटकिपर ब्याट्सम्यान २१ रनमा पेभेलियन फकिँदा पवन सर्राफले ६१ बलमा २ छक्का र १ चौकासहित सर्वाधिक ४० रन जोडे । कप्तान मन्जित श्रेष्ठ ३ रनमा पेभेलियन फर्किँदा राशिद खानले ५१ बलमा ३४ रन जोडे ।

एपिएफका लागि भुवन कार्कीले ९।२ ओभरमा २१ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहरा र शरद भेसावकरले २र२ विकेट लिए ।

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको योगफल तयार गरेको थियो ।

एपिएफका लागि ओपनर सुवाष खकुरेल १९ तथा आशिफ शेखले १ रनमा आउट भए । त्यस्तै, कप्तान शरद भेसावकरले १८ रनको योगदान गरे । एपिएफका लागि ४४ रनको योगदान गरेका शंकर रानाले ९६ बलमा ४ चौका प्रहार गरेका थिए । त्यस्तै, सन्दीप जोराले ३४ रनको योगदान गरे ।

यस्तै ५६ बलको सामना गरेका भुवन कार्कीले २ छक्का र १ चौकासहित ४२ रनको योगदान गरे । कमल ऐरीले १९ रन जोडेका थिए । अविजनाश बोहरा ११ र सूर्य तामाङ १ रनमा अविजित रहे ।

पुलिसका लागि आरिफ शेखले १० ओभरमा ३१ रन खर्चेर १ मेडनसहित ३ विकेट लिए । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४४ रन खर्चेर २ विकेट लिए । त्यस्तै, सागर ढकालले १० ओभरमा १ मेडनसहित १ विकेट लिए ।

जितसँगै फाइनलमा पुगेको एपिएफले १७ गते हुने फाइनलमा भोलि हुने आर्मी र बाग्मती प्रदेशको विजेतासँग खेल्ने छ । एपिएफ समूह ‘ए’को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपाल पुलिस क्लब समूह ‘बी’को उपविजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको थियो ।

माघ २ गतेदेखि सुरु भएको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख हासिल गनेछन् । त्यस्तै, सेमिफाइनलिस्टले प्रतिटिम ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर