शक्ति प्रदर्शनसहितको आन्दोलनका पक्षमा पौडेल समूह – Nepal Press

शक्ति प्रदर्शनसहितको आन्दोलनका पक्षमा पौडेल समूह

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनविरुद्ध शक्ति प्रदर्शनसहितको सभाहरु गर्नुपर्ने बताएका छन् ।

महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको बैठकमा वरिष्ठ नेता पौडेलले वडा तहसम्मको आन्दोलनले पार्टीमा ऊर्जा भरेको भन्दै प्रतिगमनविरुद्ध आन्दोलनको थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् । पौडेल पक्षको बैठकमा आन्दोलनका कार्यक्रम र महाधिवेशनको तयारी बारे छलफल भएको थियो ।

मंगलबार बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकमा पौडेल पक्षले शक्ति प्रदर्शनसहितको सभा र महाधिवेशनका कामहरुलाई तीव्रता दिने विषयलाई प्राथमिकता दिने भएको छ । ‘संसद विघटनविरुद्ध पार्टी आन्दोलित भइसकेको छ । त्यसैले अझ सशक्त कार्यक्रम जनतामाझ लैजान आवश्यक छ । आन्दोलनबाट फर्किन मिल्दैन बैठकमा पौडेलले भने । कांग्रेसले आफैंले बनाएको संविधान जोगाउन आफैंले अग्रसरता लिनुपर्ने पौडेलको धारणा थियो । बैठकमा सहभागि अन्य नेताहरुले हालसम्मका आन्दोलन सफल भएपनि सरकारलाई त्यसले कुनै असर नगरेको बताएका थिए । ‘हामीले आन्दोलन त गर्‍यौ तर हाम्रो आन्दोलनले कसैलाई प्रभाव नपरेजस्तो देखियो । वडामा होइन केन्द्रमा असर पर्नेगरी आन्दोलन गर्नुपर्छ’, बैठकमा अधिकांश नेताहरुको भनाई थियो ।

बैठकमा सहभागि कांग्रेस नेता नवीन्द्रराज जोशीले आन्दोलनबाट पार्टी पछाडि फर्कन नसक्ने बताए । ‘आजको बैठकमा पार्टीको केन्द्रीय समितिबाट आन्दोलनका थप कार्यक्रम ल्याउन पहल गर्ने निर्णय भएको छ । अरु विषय महाधिवेशनको कामलाई तीव्रता दिने भन्नेमा केन्द्रीत रह्यो’, जोशीले नेपाल प्रेससंग भने ।

उनले माघ मसान्तभित्र क्रियाशील सदस्यता केन्द्रमा पठाउने विषयमा जिल्ला समितिहरुलाई ताकेता गर्ने, पार्टीको महाधिवेशन सुनिश्चित गर्ने लगायतका विषयमा पनि बैठकमा छलफल भएको जानकारी दिए । यस्तै बैठकमा प्रदेश सभामा पेश भएका अविश्वास प्रस्तावहरुबारे पनि छलफल भएको थियो ।

बैठकमा सहभागि अधिकांश नेताले अविश्वास प्रस्ताव पारित गराउने पक्षमा पार्टी उभिनुपर्ने र सम्भव भएसम्म दुवै प्रदेशमा सरकारको नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर