दाइजो दिन लिएको ऋणले देवकिसानको बिचल्ली – Nepal Press
कर्जाले कंगाल

दाइजो दिन लिएको ऋणले देवकिसानको बिचल्ली

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका- ६ का देवकिसन कापरले छोरीको बिहेमा दाइजो दिन र घर बनाउन साहुसँग ३६ लाख ऋण लिएका थिए । तीन वर्षअगाडि सयकडा ३ रूपैयाँ ब्याजमा ऋण लिएका उनले पैसा साहुको नाममा २६ कठ्ठा ५ धुर जग्गा पास गरिदिए ।

कापरले ऋण त चुक्ता गरे । तर, साहुले जग्गा फिर्ता गरेका छैनन् । ‘जग्गा फिर्ता गर्ने भनेर साहुले धेरैपटक ढाँटे । अहिले अर्कैलाई पो जग्गा बेचिदिएछन्’, उनले गुनासो गरे । अहिले कापर जग्गा फिर्ताको हारगुहार गर्दै न्यायको लागि भौतारिरहेका छन् । शुक्रवार उनले जनकपुरमा पत्रकार सम्मेलन गरी आफ्नो पीडा पोखेका छन् ।

गणेशमान चारनाथ-११ रघुनाथपुरका सतिश यादव, सत्तोषरका नन्दकिशोर यादव र शहीदनगर नगरपालिका-२ चोरा कोयलपुरकी समुन्द्री देवीसँग कापरले २०७३ भदौमा ७ लाखका दरले २१ लाख ऋण उठाए । उक्त रकममध्ये १८ लाख खर्चेर कापरले कान्छी छोरी पूनमको बिहे गरे ।

दाइजो दिएर उब्रिएको ३ लाखले पक्की घर बनाउन शुरू गरे । त्यतिले नपुगेपछि ७३ सालकै असोज ६ गते उनले पुनः समुन्द्री र सतिशबाटै (७ लाख ५० हजारका दर) ले १५ लाख ऋण लिए ।

छोरीको बिहे र घर निर्माण सकेपछि साढे १७ लाखमा १० कट्ठा १४ धुर जग्गा बेचेर समुन्द्री र सतिशबाट लिएको १५ लाख ऋण चुक्ता गर्न कापर साहुको घर पुगे । चार दिनभित्र जग्गा फिर्ता गरिदिने वचन पाएका कापर सतिशबाट अर्कैको हातमा जग्गा पुगेको थाहा पाएपछि छाँगाबाट खसेजत्तिकै भएका छन् । उनले भने, ‘विश्वास गरेर औंठा छाप लगाइदिएको थिए । तर साहुले मेरो घाँटी नै काट्यो ।’

१५ लाख ऋण लिन कापरले पत्नी विद्या कामतीको नाममा रहेको साविक तेजनगर ६ (क) का कित्ता नम्वर १२ का १५ कट्ठा १० धुर र कित्ता नम्वर ८२४ का ३ कट्ठा १५ धुर जग्गा साहु समुन्द्री र सतिशको नाममा रजिष्ट्री पास गरिदिएका थिए । दुवै कित्ताको १९ कट्ठा ५ धुर जग्गा उनीहरूले कापरलाई फिर्ता नगरी बिक्री गरेर बेइमानी गरेका छन् ।

ऋण तिरेपछि जग्गा फिर्ता गर्ने सहमति भएपनि साहुले जग्गा बेचेपछि उनी प्रहरी र प्रशासनमा दिनहुँ धाइरहेका छन् । ऋण लिन जग्गा दृष्टिबन्धक पास गर्ने चलन भएपनि रजिष्‍ट्रि नै पास गरेका कापरमाथि विश्‍वासघात भएको छ ।

सतिश, नन्दकिशोर र समुन्द्रीबाट कैयौं ठगिएको गुनासो बढेको छ । जग्गा पास गरेर कपाली गरेपछि मात्र उनीहरूले ऋण दिन्छन् । सँगै ३६ प्रतिशत ब्याज पनि असुल्छन् । तिनैजना रकम लगानी गर्ने बिजनेश पार्टनर हुन् । उनीहरुविरुद्ध धेरै उजुरी परेपनि कारबाही गर्ने निकाय मौन बसिरहेको पीडितहरूले बताए ।

तीनैजनालाई गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले संरक्षण गरेको कापरले बताएका छन् । पीडित कापर भन्छन्, ‘लिएको ऋण तिरेर जग्गा फिर्ता गर्न साहुलाई भनेपछि मलाई मेयर यादवले बोलाए । हिसाब गरेर उनले ६८ लाख तिर्नुपर्ने सुनाए । म सहमत भए । तर, ऋण तिर्न जग्गा बेच्न लाग्दा बिगार्ने काम उनैले ।’ मेयर यादवको संरक्षण पाएर उनीहरु (साहु) ले आफूमाथि अन्याय गरेको उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर