अन्तर्राष्ट्रिय खेलाडी कार्कीको मृत्यु – Nepal Press

अन्तर्राष्ट्रिय खेलाडी कार्कीको मृत्यु

रुपन्देही । दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेलमा स्वर्ण पदक जितेका रुप कार्कीको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका भलवारीका ५२ वर्षीय कार्कीको बिहीबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा मृत्यु भएको हो ।

डिभी परेर अमेरिका पुगेका रुप कार्कीले व्यवसायिक शक्तितोलन खेलका खेलाडीका रुपमा अमेरिकामा निकै ख्याति आर्जन गरेका थिए । कार्कीले दुई पटकसम्म अन्तर्राष्ट्रिय विश्व पावर लिफ्टिङ खेल स्वर्ण पदक जित्न सफल भएका थिए ।

सन् २०१७ मा विश्व पावर लिफ्टिङको मास्टर समूह अन्तर्गत उनले एटलाण्टाको जर्जियामा गोल्ड मेडल जित्न सफल भएका थिए । सन् २०१९ मा आयरल्याण्डमा भएको विश्व पावर लिफ्टिङ च्याम्पेनसिपमा माष्टर दुई अन्तर्गत कार्कीले स्वर्णपदक जित्न सफल भएका थिए ।

भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक जितेका थिए । कार्की कृतिमरुपमा शारीरिक बल वृद्धि गर्न औषधि प्रयोग नगर्ने ड्रग टेस्टेड समेत खेलाडी थिए ।

कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा लागेका थिए । अमेरिकामा झण्डै दुई दर्जनभन्दा बढी स्वर् पदक प्राप्त गरेका कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलकका रुपमा समेत परिचित रहेका थिए ।

आफूले सिकेको जानेको सीप नेपालमै लगाउने उद्देश्य राखेर नेपाल फर्किएका उनी संसारबाट नै विदा भएका छन् । यससँगै उनका योजना पनि अपूरा भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर