जसपाको दुःख- जुन संविधान जलायो, आज त्यसकै माया पलायो – Nepal Press

जसपाको दुःख- जुन संविधान जलायो, आज त्यसकै माया पलायो


काठमाडौं– एक समय थियो, जनता समाजवादी पार्टी (जसापा)का घटकहरु जोडबल लगाएर संविधानसभाबाट जारी संविधानको विरोध गर्थे । उनीहरुले संविधानलाई स्वीकार समेत गरेनन् ।

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिले संविधानको विरोध गरेको भए पनि जलाएको भने थिएन । तर, महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले त नयाँ संविधानमा आगो नै लगाएका थिए ।

ती विभिन्न घटकहरु जोडिएर हाल एकीकृत बनेको जसपाले पनि संविधानलाई विभेदकारी भन्दै संविधान दिवस ‘सेलिब्रेट’ गरेन । तर, अहिले राजनीतिले १८० डिग्री कोल्टे फेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ चुनावको मिति तोकेपछि आफूले यसअघि विरोध गरिरहेकै संविधानको रक्षार्थ उभिनुपर्ने बाध्यता उनीहरुलाई आइलागेको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध जसपाले आइतबार राजधानीमा विरोध सभाको आयोजना गर्‍यो । विरोध सभालाई सम्बोधन गरेका अधिकांश नेताहरुले प्रधामन्त्रीको कदमको जमेर आलोचना गरे र संविधानमाथि प्रहार गरेको रुपमा अर्थ्याए ।

संविधानको प्रतिरक्षा
राजधानीको रत्नपार्कस्थित शान्तिवाटिकामा आयोजित विरोध सभालाई सुरुवाती चरणमै नेता राजेन्द्र महत्तोले सम्बोधन गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई प्रतिगमन भनेका उनले त्यो कदमले हालको संविधानमााथि पनि प्रतिगमन भएको टिप्पणी गरेका थिए ।

‘प्रतिगमन गरेर संविधान बनाउने अनि त्यसमा पनि प्रतिगमन गर्ने’ महतोको भनाइ थियो, ‘यही धन्दा नश्लवादीहरुले गरेको छ ।’ राजशाहीको प्रतिगमनलाई समेत जनताले फालिदिएको सुनाउँदै उनले प्रधानमन्त्रीको हालको कदम पनि धेरै नटिक्ने ठोकुवा गरेका थिए ।

अर्का नेता अशोक राईले पनि प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै शहीदको रगतबाट लेखिएको संविधान समाप्त गर्न प्रयत्न गरेको आरोप लगाएका थिए ।

‘संविधानलाई एकातिर पन्छाएर, रद्दीको टोकरीमा फालेर, संविधानका व्यवस्थाहरुलाई कुल्चिएर अर्कै परियोजनका लागि राखिएका व्यवस्थालाई उल्लेख गर्दै संसद भङ्ग गर्ने सिफारिश मन्त्रिपरिषद्ले गर्‍यो र राष्ट्रपतिले त्यसलाई स्वीकार गर्नुभयो’ उनको दाबी थियो, ‘यो संविधान विपरित छ, असंवैधानिक छ । हजारौं शहीदको रगतबाट लेखिएको संविधानलाई यति हल्का ढंगले समाप्त गर्ने प्रयत्न गरिएको छ ।’

सभाको अन्तिमतिर सम्बोधन गरेका जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संविधानको धारा ७६ मा संसद विशिष्ट अवस्थामा मात्रै विघटन हुने प्रावधान भएकाले प्रधानमन्त्रीको कदम असंवैधानिक बताए ।

‘जनता समाजवादी पार्टीले तुरुन्तै, केपी ओली र विद्या भण्डारीले प्रतिगमनकारी हर्कत गरेको विन्दुदेखि हामी विरोधमा उत्रियौं’ भट्टराईको भनाइ थियो, ‘र, हामीले भन्यौं–यो असंवैधानिक छ । यो अलोकतान्त्रिक र प्रतिगमनकारी छ ।

अपूर्णताको संस्मरण
संविधानको प्रतिरक्षा गर्न उभिएका नेताहरुले संविधानमा अपूर्णता छन् भन्न चाहिं छुटाएनन् । तीनै जना नेताले आफ्नो सम्बोधनका क्रममा त्यसलाई उल्लेख गरेका थिए ।

नेता महतोले संविधान अपरिवर्तनीय नभएको भन्दै त्यसलाई बाइबल, कुरान जस्तो बनाएको आरोप लगाएका थिए। उनको भनाइ थियो, ‘संविधान बाइबल, कुरान र महाभारत होइन । संविधान परिवर्तन हुने वस्तु हो । संविधान संशाेधन पनि नगर्ने, बाइबल र कुरान बनाइदिने ?’

राईले चाहिं संविधानमा त्रुटिहरु विद्यमान रहेका र त्यसलाई संसदबाट परिमार्जन गर्दै लैजाने सोचमा आफूहरु रहेको बताए।

संविधानमा रहेका कमजोरी के–के छन् भनेर भट्टराइले पनि स्मरण गरेका थिए । ‘हामीले संविधानसभाबाट संविधान बनायौं’ उनको भनाइ थियो, ‘भलै त्यो अपुरो थियो, अधुरो थियो । थुप्रै मागहरु त्यहाँ पुरा हुन बाँकी छन् । शासकीय स्वरुप, संघीयता, न्यायालयको पुनर्संरचना, र नागरिकता लगायतका विषयमा अपूर्णता त्यहाँ थिए ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर