सुदूरपश्चिम चिनाउने साढे चार मिनेटको भिडिओ – Nepal Press

सुदूरपश्चिम चिनाउने साढे चार मिनेटको भिडिओ

काठमाडौं । नेपाल क्षेत्रफलमा सानो भएपनि संस्कृति, प्राकृतिक सम्पदा, भौगोलिकता तथा हावापानीको विविधतामा समृद्ध मुलुक हो । सात प्रदेशमा विभाजन भएसँगै प्रादेशिक संरचनामा रहेको नेपालमा पर्यटकीय दृष्टिकोणले अथाह सम्भावनाहरु रहेका छन् ।

तर अवसर र सम्भावना आफैं आउँदैनन् । तिनीहरुको पनि ब्राण्डिङ गर्नुपर्छ । कहाँ कुन कुन सम्भावना प्रचुर छन् भनेर प्रत्येक नेपालीलाई थाहा दिनै पर्यो । साथसाथै विश्वव्यापी रुपमा नेपालका गन्तव्यहरुलाई चिनाउनु अपरिहार्य छ ।

यसै क्रममा देशको पश्चिमी भागमा रहेको सुदूरपश्चिम प्रदेश करिब २० हजार वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । जम्मा नौ जिल्ला रहेको यस प्रदेशमा कैलाली र कञ्चनपुर दुई तराईमा पर्छन् भने अन्य सबै पहाडी र हिमाली जिल्ला पर्दछन् ।

यही प्रदेशलाई प्रचार प्रसार गर्ने मात्रै नभएर नेपाललाई नै एक्प्लोर गर्ने उद्देश्यले ‘यात्रा नेपालको’ प्रोजेक्ट सुरु गरिएको छ । त्यसको पहिलो कोशेलीस्वरुप सुदूरपश्चिमको शानदार भिडिओ रिलिज गरिएको छ । भिडिओलाई दशरथ सुनारले निर्देशन गरेका छन् भने यसको परिकल्पना तथा कथा पनि उनकै रहेको छ ।

उनले यो भिडिओ सन् २०२० मा लेट्स भिजिट फारवेस्टको अभियानका बेला बनाएका थिए । यो भिडिओ बनाउन आफूहरुको ठूलो लगानी लागेको सुनार बताउँछन् । तर देश र प्रदेशको प्रोमोशनका लागि आफूहरुले जोखिम मोलेको उनको भनाइ छ । तर त्यसबेला नेपाल सरकारको भिजिट नेपाल २०२० विश्वव्यापी कोरोना महामारीका कारण स्थगित गर्नु परेको थियो ।

त्यो बेलाको भिडिओ हालसम्म पनि हार्ड डिस्कमै रह्यो । तर आफ्नो समय, विवेक, पसिना यसमा परेको स्मरण गर्दै सुनारले यसलाई नयाँ परियोजनामार्फत भिडिओ रिलिज गर्ने योजना बनाए । त्यसपछि ‘यात्रा नेपालको’ अभियान सुरु गरी यसै नामको युट्युब च्यानलमार्फत सो भिडिओ रिलिज गरियो ।

भिडिओ यति गजब छ कि सुदूरपश्चिमका नौ जिल्लाका मुख्य विशेषताहरु अटाएका छन् । प्राकृतिक सुन्दरताका दृष्यहरु कैद त भएकै छन् । यस क्षेत्रका विभिन्न जातजातिका भेषभुषा, संस्कृति र पृथक नृत्यहरु पनि भिडिओमा देख्न सकिन्छ ।

त्यतिमात्र होइन प्रदेशको प्रमुख नदीका रुपमा सेती र महाकालीका केही दृष्यहरु पनि समेटिएका छन् भने कैलालीको घोडाघोडी ताल पनि समेटिएको छ । जुन रामसारमा सूचीकृत सीमसार क्षेत्रका रुपमा समेत परिचित छ ।

त्यस्तै, कञ्चनपुरको झिलमिला ताल, वेदकोट ताल, डडेल्धुराको आलीताल, डोटी जिल्लामा रहेको छतिवन ताललगायत क्षेत्रलाई त्यही साढे चार मिनेटको छोटो भिडिओले समेट्न सफल भएको छ । त्यस्तै, डोटी, अछाम, बझाङ र बाजुरा जिल्लाको बीचमा रहेको खप्तड ताल, खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका दृष्यहरु पनि भिडिओमा देखिन्छन् । त्यस्तै, यस क्षेत्रका धार्मिक प्रसिद्धिका स्थानहरु पनि भिडिओमा अटेका छन् ।

जसमध्ये डोटीको खप्तड, अछामको रामारोशन, बाजुराको बडीमालिका, बझाङको तपोवन, ऋषिकुण्ड र सुर्मासरोवर, बैतडीको रौलाकेदार र सिगास, दार्चुलाको मालिकार्जुन, लटीनाथ, गल्लाकेदार र हुनैनाथ, कैलालीको बेहडा बाबामध्ये अधिकांश क्षेत्र एवम् मठमन्दिरहरु भिडिओमा कैद भएका निर्देशक सुनार बताउँछन् ।

महाभारतपर्वत, व्यास हिमाल, सैपाल हिमाल, अपि हिमाल, रामारोशन क्षेत्र, दोधारा–चादनी झोलुङ्गे पुल, कर्णाली पुलका क्षेत्रहरुको दृष्यले भरिएको भिडिओले सुदूरपश्चिममा अहिल्यै गइहालौं जस्तो अनुभूति दिलाएको छ ।

उच्च प्रविधियुक्त क्यामराको प्रयोग, ड्रोन मात्र नभएर हेलिकप्टर सट लिएर खिचिएको यस भिडिओको सम्पादन जेनिश महर्जनले गरेका छन् भने म्यूजिक एरेन्ज गोपाल रसाइलीको छ ।

यो पहिलो श्रृंखला भएको र आगामी दिनमा नेपालका अन्य प्रदेश र स्थानहरुको पनि यस किसिमको भिडिओ सामग्रील लिएर आउने निर्देशक सुनारले बताए । अब दोस्रो प्रोजेक्टको रुपमा कर्णालीको भिडिओ बनाउने उनले बताए ।

देशको पर्यटकीय सम्भावनालाई आफ्नै प्रयासले अगाडि बढाउने अठोट उनमा रहेको देखिन्छ । सम्बन्धित निकायले पनि यसमा सहकार्य गर्ने हो भने आफूहरुलाई कार्य गर्न झन प्रेरणा मिल्ने र काम अझै गुणस्तरीय हुनसक्ने सुनार बताउँछन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर