काठमाडौंमा डीएसपीको शानदार बिदाई, बाजागाजासहित घरसम्म पुर्‍याइयो (भिडिओ) – Nepal Press

काठमाडौंमा डीएसपीको शानदार बिदाई, बाजागाजासहित घरसम्म पुर्‍याइयो (भिडिओ)

काठमाडौं। क्षेत्रपाटीको सडकमा बिहीबार राती ९ बजेतिरको माहोल बेग्लै थियो, स्थानीयहरू बाहिर निस्किएर हेरिरहेका थिए ।

अगाडि बाजागाजाको टोली थियो भने पछाडि बिस्तारै गुडिरहेको गाडीमाथि माला र खादाले ढाकिएका डीएसपी अनिल अधिकारी थिए ।

गाडीको अघिपछि काठमाडौं प्रहरी परिसर र मातहतमा कार्यरत सिनियर अधिकृतहरू पनि पैदलै भुरुङ खेलतर्फ बढिरहेका थिए । स्कटिङको गाडी पनि थियो ।

‘म जन्मेको ठाउँसम्म यसरी ल्याएर काठमाडौं प्रहरीले जुन सम्मान दिएको छ, यसलाई म शब्दमा वर्णन गर्न सक्दिन,’ आफ्नो ३० वर्षे प्रहरी सेवाको अन्तिम दिन संगठनले गरेको सम्मान डीएसपी अधिकारीले सम्झिए ।

टेकुस्थित काठमाडौं प्रहरी परिसरबाट अधिकारीलाई गाडीमाथि राखेर राती ८ बजे बाजागाजासहित निकालिएको थियो। त्रिपुरेश्वर-माइतीघर-भद्रकाली-सुन्धारा-न्युरोड-जमल-दरबारमार्ग-केशरमहल हुँदै क्षेत्रपाटी पुगेपछि भने बाजागाजाको टोली ओर्लिएर घरतर्फ अगाडि बढेको थियो।

‘मैले आफैले कसैको पनि यस्तो कहिल्यै नदेखेकाले बिदाई यसरी होला भन्ने कल्पना पनि गरेको थिइनँ।‘

काठमाडौं प्रहरी परिसरले साँझ कार्यालय परिसरमा अधिकारीको बिदाईमा विशेष कार्यक्रमको आयोजना गरेको थियो। त्यस अघिसम्म अधिकारी कामै गरिरहेका थिए।

‘म त काम गरिरहेको थिएँ, एसएसपी साब आएर जाऊँ अब कार्यक्रम हुन लाग्यो भनेपछि त्यहाँ पुग्दा श्रीमती र छोरीलाई पनि बोलाइएको रहेछ जुन मलाई थाहा पनि थिएन’, अधिकारीले भने।

बिदाईका लागि अर्डर गरिएको केक देखेर उनी इमोसनल भए। ‘म पूर्व फुटबलर भएका हिसाबले दुई गोलपोस्टसहितको मैदानको आकारमा केक बनाइएको रहेछ। यो पनि मैले कल्पना नगरेको कुरा थियो’, अवकाशपछिको पहिलो दिन अधिकारीले आफ्नो ताजा अनुभव सेयर गरे।

अधिकारी नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व डीफेन्डर हुन्। उनले नेपाल पुलिस क्लबका लागि लामो समय खेलेका थिए। २०५१ भदौ १६ गते प्रहरी सहायक निरीक्षक-असईबाट सेवा सुरु गरेका अधिकारीले पछिल्ला १२ वर्ष काठमाडौं प्रहरी परिसरमा काम गरे।

‘मैले कहिल्यै बिदा भनिनँ। बिदा लिएको याद पनि छैन। सार्वजनिक बिदाको दिन पनि मेरा लागि आएन। बिहान ८ बजे आएर साँझ ८÷९ बजे घर पुग्नु मेरो पछिल्ला १२ वर्षको दैनिकी थियो। बाहिर कतै जानु पर्‍यो भने पनि बिहान १० बजेसम्म काम गरेर भोलीपल्ट १० बजे हाजिर भएका थुप्रै यादहरू छन्। मलाई सुम्पिएको जिम्मेवारी नै त्यस्तै थियो’, उनले भने।

अधिकारीलाई कर्मचारी प्रशासन, अप्रेसनलगायतको जिम्मेवारी दिइएको थियो। कर्मचारीको व्यवस्थापन, सुरक्षा व्यवस्थापन उनकै काँधमा थियो।

अधिकारीले २०६३ सालसम्म पुलिस क्लबका लागि खेलेका थिए। सन् २००७ सम्म राष्ट्रिय टोलीबाट खेले। तर घाइते भएपछि उनको जीवनमा ठुलो संकट आइपर्यो।

‘त्यति बेलासम्म त खेलिरहेको थिएँ। खेलबाहेक अरू कल्पनै पनि गरेको थिइनँ’, उनले सम्झिए। २०६५ सालसम्म उनलाई पुलिस क्लब हेर्ने जिम्मेवारी दिइयो। त्यसपछि उनले मिसन जाने अवसर पाए। तर मिसनबाट फर्किएपछि उनलाई अञ्चल प्रहरी कार्यालयमा दरबन्दी तोकियो।

‘खेलकुदमै कुनै जिम्मेवारी पाइएला की पनि आस थियो तर अञ्चल प्रहरी पठाइएपछि एकदमै तनाव भएको थियो। के गर्ने, कसरी गर्ने भन्ने अन्यौलताबिच म जिम्मेवारी सम्हाल्न पुगेको थिएँ। झन्डै डेढ वर्ष अञ्चलमा बसेपछि म २०६८ पुस १८ गते काठमाडौं प्रहरी परिसरमा सरुवा भएको थिएँ‘, उनले भने। तर त्यसबीचमा उनले रातदिन लगाएर मैदानभन्दा बाहिर निस्किए र प्रहरीको आन्तरिक प्रशासन बुझे।

अधिकारीले काठमाडौं प्रहरी परिसरमा मात्र १७ जना कार्यालय प्रमुख फेरेछन्। उनी यहाँ रहँदै २०७० सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र २०७८ सालमा प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा भए। थुप्रैको जिम्मेवारी हेरफेर भयो। कोही समय नपुग्दै सरुवा भए। उनी कसैको आँखामा बिझाएनन्।

प्रहरी निरीक्षक हुँदा जुन जिम्मेवारी उनको काँधमा थियो, डीएसपी हुँदा पनि परिवर्तन भएन। उनी ती जिम्मेवारीमा निर्विकल्प जस्तै लागे हरेक हाकिमका लागि। परिसरमा लामो समयदेखि कार्यरत अधिकृतहरूका अनुसार काठमाडौं प्रहरी प्रमुख भएर आउने जो पनि अधिकारीसँग हच्किन्थे। कामप्रति उनको लगाव र व्यावसायिक निष्ठाका कारण अधिकारीले आफूलाई लागेको प्रष्टसँग भन्ने गर्थे।

‘बिहान अफिसमै आएर खाना खाइन्थ्यो। बेलुका घरमा कमै मात्रा परिवारसँग बसेर खाना खाइयो होला। काम सकेर घर जाँदा जहिल्यै ढिला भइसकेको हुन्थ्यो’, उनले भने। काठमाडौंमा हुने विरोध प्रदर्शनदेखि त्रिवि मैदानमा हुने क्रिकेट खेलमा उनी भिड नियन्त्रण र सुरक्षा व्यवस्थापनमा अग्रपंक्तिमा रहेर खटिन्थे।

सबैभन्दा उल्लेखनीय के छ भने काठमाडौं प्रहरीमा रहेर कार्यालय प्रमुखको ग्ल्यामर देखेका अधिकारी आफ्नो ३० वर्षे सेवा अवधिमा कहिल्यै हाकिम बनेनन्। कुनै कार्यालयको प्रमुख भएनन्। यदि चाहन्थे भने उनी सई, इन्सपेक्टर र डीएसपी रहँदा कुनै कार्यालयको प्रमुख बन्न सक्थे।

‘म मलाई चाहियो भन्दै पनि कतै भन्न गइनँ। त्यहाँबाट जा भनेर पनि कसैले पनि भनेन’, अधिकारी भन्छन्।

काठमाडौंको ओमबहालमा जन्मिएका अधिकारी आफ्नो समयका चर्चित फुटबलर हुन्। बुबा जनकपुर चुरोट कारखानामा काम गर्ने भएकाले परिवारका अधिकांश सदस्य जनकपुरमै थिए तर उनले भने काठमाडौं छाडेनन्। शान्ति विधा गृहबाट २०४२ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि पिपल्स क्याम्पस भर्ना भए।

त्यति बेलासम्म फुटबलमा उनी सक्रिय भइसकेका थिए। जनकपुर चुरोट कारखानाबाट फुटबल खेल्न थाले। काठमाडौंमा एनआरटी र आरसीटीबाट खेलेपछि उनको असईमा नाम निस्कियो। त्यसपछि उनी पुलिसका स्थायी खेलाडी बने।

‘खेलाडी भएर जुन इज्जत कमाएको थिएँ त्यसको लोभ र डर सधैँ मलाई थियो। सायद फुटबलले मलाई निकै अनुशासित बनाएको थियो। युनिफर्म लगाएर काम गर्न थालेपछि यसप्रति म सधैँ सचेत रहेँ’, अधिकारी भन्छन्।

अधिकारीको बिदाई प्रहरी संगठनले नै वर्षौँसम्म सम्झिरहने छ। त्यसको हकदार मापन गर्ने र आवश्यक व्यवस्थापन गर्ने काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीलाई अधिकारीले बिर्सने छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *