एसईई परीक्षा सुरू भएलगत्तै सामाजिक सञ्जालमा कसरी भयो प्रश्नपत्र छ्यापछ्याप्ती ? – Nepal Press

एसईई परीक्षा सुरू भएलगत्तै सामाजिक सञ्जालमा कसरी भयो प्रश्नपत्र छ्यापछ्याप्ती ?

जनकपुरधाम । माध्यमिक शिक्षा परिषद् (एसईई) परीक्षा बिहीबारबाट देशभर एकसाथ सुरु भयो । पहिलो दिन अंग्रेजी विषयको परीक्षा सुरु भएलगत्तै मधेशका विभिन्न परीक्षा केन्द्रहरूबाट प्रश्न पत्र बाहिरियो ।

अंग्रेजी विषयको प्रश्न पत्र सामाजिक सञ्जाल फेसबुकहरूमा धेरैले पोस्ट गरेका थिए । आज दोस्रो दिन नेपाली विषयको प्रश्न पत्र पनि परीक्षा सुरु भएको १० मिनेट नबित्दै सामाजिक सञ्जालमा छ्याछ्याप्ती देखियो । कतिले सिरहा त कतिले रौतहटबाट प्रश्न पत्र बाहिरिएको उल्लेख गरेका छन् ।

बाहिरिएको प्रश्न पत्र सिरहाबाट सञ्चालित दावानल डटकमलगायतका सञ्चारमाध्यमले प्रकाशित गर्‍यो । दावानलका सम्पादक अर्जुन थपलिया भन्छन्, ‘गोलबजारको विभिन्न परीक्षा केन्द्रबाट प्रश्न पत्र बाहिरिएको छ । परीक्षा सुरु भएको १० मिनेटमै प्रश्न पत्र हामी कहाँ आइपुग्यो ।’

उनले ह्वाट्स एपमार्फत् प्रश्न पत्र आउट हुने गरेको बताए । ‘परीक्षार्थी र गार्ड पनि परीक्षा केन्द्रमा मोबाइल बोक्छन्’, उनले भने, ‘परीक्षा मर्यादित बनाउन केन्द्राध्यक्षको भूमिका महत्त्वपूर्ण हुन्छ । तर केन्द्राध्यक्षहरुकै लापरबाहीले परीक्षार्थी र गार्ड बस्ने शिक्षकहरू ह्वाट्स एम, इमो र म्यासेन्जरबाट प्रश्न पत्र आउट गर्छन् ।’

सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रश्न पत्र सामाजिक सञ्जालमा देखे पनि कहाँबाट बाहिरिएको कुरा यकिन नभएको बताए । उनले भने, ‘सिरहाबाटै प्रश्न पत्र बाहिरियो भन्ने कुरा आएको छ । यस विषयमा बुझ्दैछु ।’

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रश्न पत्र बाहिरिएको कुरा आधिकारिक रूपमा जानकारी नआएको बताए । उनले भने, ‘कर्जन्हामा एकजना नक्कली परीक्षार्थी हामीले पक्राउ गरेका छौं । प्रश्न पत्र कहाँबाट बाहिरिएको थाहा भएन । सामाजिक सञ्जाल त तातिसक्यो । भरिफाई गर्न बाँकी छ ।’

मोबाइलमार्फत प्रश्न पत्र आउने हुने गरेको छ । परीक्षा केन्द्रभित्र परीक्षार्थी र गार्ड बस्ने शिक्षकले मोबाइल बोक्न मिल्छ ? भन्ने जिज्ञासामा उनले भने, ‘प्रहरीले बाहिर मात्र सुरक्षा दिने हो । भित्र के गर्न मिल्छ/मिल्दैन भन्ने कुरा केन्द्राध्यक्षको जिम्मेवारी हुन्छ ।’ केन्द्राध्यक्षको लापरबाहीले प्रश्न पत्र बाहिरिने गरेको हुनसक्छ– उनले थपे ।

औरहीस्थित श्री सुन्दर माध्यमिक विद्यालयका केन्द्राध्यक्ष विवेक यादवले परीक्षा केन्द्रभित्र परीक्षार्थी र गार्डलाई मोबाइल बोक्न नहुने बताए । उनले पहिलो दिन १४ जना परीक्षार्थीबाट मोबाइल खोसेको बताए । उनले भने, ‘प्रश्न पत्र मोबाइलमार्फत् आउट हुनसक्छ । आज खोसेको मोबाइल आजै दियौँ भने फेरी भोली लिएर आउँछन् । त्यसैले परीक्षा सकेको अन्तिम दिन मात्र मोबाइल फिर्ता दिन्छौँ ।’

परीक्षा अमर्यादित बनाउन अभिभावकहरूको पनि भूमिका देखिन्छ । परीक्षा सुरु हुनुअघि परीक्षा केन्द्रहरूमा अभिभावकहरूको भीड लाग्छ । उनीहरू परीक्षार्थीसम्म चिट पुर्‍याउन अनेक हर्कत गर्छन् । अभिभावक सुध्रियो भने मात्र परीक्षा मर्यादित हुने युवा अभियान्ता शैलेन्द्र चोरबारको तर्क छ ।

उनी भन्छन्, ‘अहिले प्रतिस्पर्धात्मक युग छ । परीक्षा उत्तीर्ण भएर पनि प्रतिस्पर्धा गर्न नसकेका विद्यार्थी भविष्यमा केहि गर्न सक्दैनन् । तर परीक्षामा चिट चोर्ने/चोर्न लगाउने प्रवृत्ति कायमै छ । यो चिन्ताको विषय हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *