काम गर्न नसके पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ) – Nepal Press

काम गर्न नसके पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण बनेपछि पनि काम गर्न नसके पद ओगटेर बस्ने मनस्थितिमा आफू नरहेको बताएका छन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै सुशासन र विकासको काम अझै अगाडि बढाउन नसके आफूले अर्को उथलपुथल गर्न सक्ने बताए।

त्यसबारे उनको भनाइ

सुशासन कायम गरेर विकासलाई गति दिने कामलाई पनि भएका छन्। अहिले समीकरण चेन्ज भएको छ। गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ। म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन। त्यो अरूलाई भनेको होइन। मेरै लागि भनेको हो।

मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन। मैले जनतालाई पनि भनेको छु। अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन। पद त मेरो सुरक्षित थियो। तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्।

सुशासन र विकासको काम अझै अगाडि बढाउने मान्यतालाई मात्रै हो। त्यो पनि हुन सकेन भने पद ओगटिराख्नेको औचित्य पुष्टि हुँदैन। त्यसमा म सचेत छु। त्यसैले मैले अरूलाई अप्ठ्यारो पार्ने गरी उथलपुथल बनेको होइन। फेरि मैले यस्तो भन्यो भनेर अर्को जाला तर, काम गर्न सकिँदैन भने पदमा बस्न हुँदैन भन्नेमा दृढ छु ।

सबै संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती भएको उनको भनाइ थियो ।

‘समाजमा विशेषतः युवाहरूमा प्रकट भइरहेको नैराश्यता र नकारात्मक सोंचमा परिवर्तन गर्नुछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सबै सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्त्वका उपलब्धिको रक्षा गर्दै निराशा चिर्ने र भरोसा जगाउने कार्य सरकारको मुख्य चुनौती हो, यसको सामना गर्नुछ ।’

अनुगमन तथा मूल्याङ्कनलाई थप वस्तुनिष्ठ, प्रभावकारी, नतिजामूलक बनाउनुपर्नेमा जोड दिँदै प्रचण्डले राष्ट्रिय गौरव तथा रूपान्तरणकारी आयोजना र पहिलो प्राथमिकता प्राप्त ठूला आयोजनाको निर्धारित लागत र समयसीमा भित्रै सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याए ।

‘विकासे आयोजनाहरूमा राम्रो गर्नेलाई पुरस्कृत र ढिलासुस्ती गर्नेलाई दण्डित गर्ने नीति, योजना र कार्यक्रमबाट सुशासन स्थापित गर्दै विकास आयोजनाको कामलाई तीव्रता दिन सकिन्छ,’ प्रधानमन्त्रीले भने, ‘कुण्ठा र निराशालाई चिरेर देशमा आशाको नयाँ परिस्थिति निर्माण गर्न सकिन्छ, यसतर्फ गम्भीर रूपले ध्यान दिनसमेत म विशेष आग्रह गर्दछु ।’

पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ? भनी प्रधानमन्त्री दाहालले प्रश्न गरे ।


प्रतिक्रिया

One thought on “काम गर्न नसके पद ओगटेर बस्दिनँ, अर्को उथलपुथल गर्न बेर छैन : प्रधानमन्त्री प्रचण्ड (भिडिओ)

  1. अब किन ढिला भारतको को घोडा बन्न भन्दा ज्ञानेन्द्र शाह सँग मिलेर राजदरबार को ढोका खोल्दा उचित हुन्छ। नेपाल र नेपाली को भलो हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर