दुर्गा प्रसाईँले दिनै नमिल्ने हतियारको इजाजत कसरी पाए ? गृह मन्त्रालय भन्छ- कहाँ गल्ती भयो, बुझ्दै छौँ – Nepal Press

दुर्गा प्रसाईँले दिनै नमिल्ने हतियारको इजाजत कसरी पाए ? गृह मन्त्रालय भन्छ- कहाँ गल्ती भयो, बुझ्दै छौँ

काठमाडौं। दुर्गा प्रसाईँले सुरक्षाका लागि लिएको हतियारको इजाजत दिनै नमिल्ने देखिएपछि गृह मन्त्रालयले छानबिन थालेको छ। गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले कहाँ गल्ती भयो भन्नेबारे अनुसन्धान भइरहेको बताए।

‘हतियारको इजाजत दिने विषयमा जिल्ला प्रशासन, गृह मन्त्रालय र वाणिज्य विभाग संलग्न हुने भएकाले कहाँबाट गल्ती भयो भन्ने विषयमा हामी विवरण मागेर छानबिन गरिरहेका छौँ’, अधिकारीले भ ने। उनले छानबिन समिति नबनाई गृह मन्त्रालयले यसमा हेरिरहेको बताए।

अत्याधुनिक हतियारसहित पक्राउ परेका प्रसाईँका दुई जना बडी गार्डलाई सर्वोच्च अदालतले गैह्र न्यायिक हिरासतमा राखिएको भन्दै मङ्गलवार थुनामुक्त गर्न आदेश दिएको थियो। प्रसाईँले हतियार राख्ने अनुमति लिएकाले बडीगार्डलाई थुनामुक्त हुने आदेश भएको सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाइमा भनेको छ।

प्रसाईँले २०७५ सालमा हतियार राख्ने अनुमति लिएका थिए। उनले हरेक वर्ष नवीकरण गर्दै आएका थिए। सर्वोच्च अदालतले सर्वसाधारणलाई इजाजत नदिइने सूचीको हतियार प्रसाईँले पाएको र इजाजत पत्रमा देशैभर लिएर हिँड्न र प्रयोग गर्न मिल्ने लेखिएको विषयमा भने छानबिन गर्न आदेश गरेको छ।

‘कसको गल्ती हो भन्ने छानबिनबाट देखिहाल्छ’, सूचना अधिकारीले भने। जिल्ला प्रशासनले दिएको अनुमति केही नहेरी हरेक पटक नवीकरण हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्। यही कारण सर्वोच्च अदालतले गत वर्ष कसरी नवीकरण भयो भन्नेतर्फ पनि प्रश्न उठाएको छ।

सर्वोच्चले अदालतले टेकेको दफा १३१

सर्वोच्च अदालतले मुलुकी अपराध संहिता २०७४ को दफा १३१ को उपदफा १ मा उल्लेखित खास किसिमका हातहतियार प्राप्त गर्न नहुने सूचीको हतियार प्रसाईँलाई लिएको भन्दै उनलाई कसरी इजाजत दिइयो भन्नेतर्फ प्रश्न उठाएको छ।

प्रसाईँले २०७५ असार २१ गते उक्त हतियारको इजाजत लिएका थिए। जबकि मुलुकी अपराध संहिता २०७४ भदौ १ गतेबाट मात्र लागु भएको थियो। कानुनको उक्त व्यवस्था लागु हुनु पूर्व नै प्रसाईँले बरामद भएको अत्याधुनिक राइफलको अनुमति लिएका थिए।

हातहतियार तथा खरखजना सम्बन्धी ऐन २०१९ मा सर्वसाधारणले इजाजत प्राप्त गर्न पाउने हतियारका किसिमका विषयमा भने प्रष्ट बोलेको थिएन। देशैभर लिएर हिँड्न र प्रयोग गर्न मिल्ने भनेर इजाजत दिइनु गम्भीर त्रुटि भएको गृहका अधिकारीहरू बताउँछन्।

हातहतियार तथा खरखजना सम्बन्धी ऐनमा हतियार राख्न र हतियार लिएर हिँड्न (जोर्नी लाइसेन्स) बेग्लाबेग्लै इजाजत लिनुपर्ने अधिकारीहरू बताउँछन्। प्रसाईँले जिल्लाबाहिर लिएर हिँड्दा जोर्नी लाइसेन्स लिनुपर्नेमा इजाजत पत्रमा लेखिएको देशैभर बोकेर हिँड्न र प्रयोग गर्न पाउने व्यवस्थालाई देखाउने गरेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *