राप्रपा फकाउने प्रयासमा गण्डकीका मुख्यमन्त्री, दुवै सांसदलाई मन्त्रीको अफर – Nepal Press

राप्रपा फकाउने प्रयासमा गण्डकीका मुख्यमन्त्री, दुवै सांसदलाई मन्त्रीको अफर

पोखरा । गण्डकी प्रदेशमा अहिले सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकार अल्पमतमा छ । नेकपा माओवादी केन्द्रले गत फागुन २३ गते समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको पाण्डे नेतृत्वको सरकारलाई चैत २३ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

हालको परिस्थितिलाई हेर्दा पाण्डे नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना कम छ । त्यस कारण पनि मुख्यमन्त्री पाण्डे राष्ट्रिय प्रजातन्त्र (राप्रपा) फकाउन व्यस्त देखिन्छ ।

विश्वासको मत पाउने आसमा मुख्यमन्त्रीले नेकपा एकीकृत समाजवादी त्यागेको निवेदन दिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सोमबार भौतिक पूर्वाधार जस्तो बलियो मन्त्रालयको जिम्मेवारी सुम्पिए । बहुमत हुँदा मन्त्री बनाउन अनिच्छुक मुख्यमन्त्रीले अल्पमतमा परेपछि बलियो मन्त्रालय मनाङेको हात सुम्पिएका हुन् ।

गण्डकी प्रदेशमा सरकार बनाउन ३१ सांसदको आवश्यक पर्छ । भौतिक पूर्वाधार मन्त्री मनाङेले साथ दिँदा पाण्डे सरकारलाई थप ३ सांसद आवश्यक हुन्छ । गत प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चिन्ह लिएर जितेका नेसपाका सांसद फडिन्द्र देवकोटाले पनि विश्वासको मत दिनेमा मुख्यमन्त्री ढुक्क छन् । यसो त देवकोटा कुन पक्ष रहने खुलिसकेको छैन । मनाङे र देवकोटाले साथ पाए मुख्यमन्त्री पाण्डेलाई सरकार जोगाउन राप्रपाको साथ पर्याप्त हुन्छ । त्यस कारण पनि मुख्यमन्त्री पाण्डे राप्रपालाई फकाउन कम्मर कसेर लागिपरेका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तनसँग मुख्यमन्त्री पाण्डेले माओवादीबाट मन्त्री बनेको दुई जनालाई बर्खास्त गरेका थिए । त्यही दिन देखिनै मुख्यमन्त्रीले राप्रपा फकाउन सुरु गरिसकेको देखिन्छ । मुख्यमन्त्रीबाट फागुन २२ गते नै दुवै सांसदलाई मन्त्री बनाउने प्रस्ताव आएको राप्रपाका एक नेताले बताए ।

‘माओवादीका मन्त्री बर्खास्त गरेकै दिन मुख्यमन्त्रीले फोन गरेर आउनुस् दुवै जनालाई मन्त्री बनाउँछु भन्नुभएको थियो । हाम्रो पार्टी आन्दोलनमा छ । सरकारमा जाने हाम्रो प्राथमिकता होइन,’ ती नेताले भने ।

त्यसपछि पनि मुख्यमन्त्री पाण्डे राप्रपा फकाउन तल्लीन देखिन्छन् । उनले मनाङेसँग राप्रपाका सांसदलाई मन्त्री बनाउने तयारी गरेका थिए । तर, राप्रपा तयार नहुँदा त्यो सम्भव हुन सकेन ।

यसो त नेकपा एमाले(माओवादीको नयाँ गठबन्धनलाई पनि सरकार बनाउन सहज छैन । प्रदेश सभामा नयाँ गठबन्धन एमालेका २२ र माओवादीका ७ (सभामुखबाहेक) सांसद छन् ।

प्रदेश सभाको अभिखेलमा माओवादी रहेका नेसपाका सांसद देवकोटाले कित्ता परिवर्तन गर्ने डर नयाँ गठबन्धनमा छ ।
राप्रपा गण्डकीका संसदीय दलका नेता पञ्चराम गुरुङ दुवै पक्षसँग निरन्तर छलफल भइरहेको बताउँछन् ।

‘राप्रपाले हिंसा र द्वन्द्वको राजनीतिको विश्वास गर्दैन । हामी जहिले पनि सहकार्य, समन्वय र छलफल गरेर अगाडि बढौँ भन्ने सोच हो,’ उनले भने, ‘यदि कुनै पनि साथी छलफल गर्न आउँछ भने सबैलाई ढोका खुला गर्छौ । आफ्नै परिवारको सदस्य हो भन्ने हिसाबले छलफल, कुराकानी र सहकार्य गर्छौँ । यो पार्टी नजिक र यो पार्टी टाढा भन्ने छैन । हामी सबैसँग छलफल गर्छौँ ।’

गठबन्धन परिवर्तनसँगै मुख्यमन्त्री दाबी गर्न काठमाडौँ पुगेका एमाले गण्डकी संसदीय दलको नेता खगराज अधिकारीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले राप्रपालाई मिलाउने आश्वासन दिएर पठाएका थिए । तर, पार्टी अध्यक्षको आश्वासनबाट ढुक्क भएर फर्किएका खगराज पनि राप्रपासँग बारम्बार छलफल गरिरहेका छन् ।

राप्रपाका संसदीय दलका नेता गुरुङले देश र जनतालाई आफ्नो शिर भन्दा माथि राखेर गठबन्धन गर्न तयार रहेको बताउँछन् ।

‘हामी देश र जनतालाई आफ्नो शिर भन्दा माथि राखेर गठबन्धन गर्न तयार हुन्छ भने हामी पनि गठबन्धन गर्न तयार छौँ । तर, जनतालाई बेवास्ता गरेर आफ्नो स्वार्थ पूर्तिका लागि गठबन्धन गर्छ भने हामी त्यो गठबन्धनमा जाँदैनौँ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर