बाबुरामलाई महेन्द्र पक्षको जवाफ- हाम्रो पक्षमा बहुमत छ, तपाईंको निर्णय कसरी आधिकारिक ? – Nepal Press

बाबुरामलाई महेन्द्र पक्षको जवाफ- हाम्रो पक्षमा बहुमत छ, तपाईंको निर्णय कसरी आधिकारिक ?

महासचिव यादव भन्छन्- डा. साबलाई अझै सम्मान गर्छौं, उहाँकै नेतृत्वमा भएको निर्णय कार्यान्वयन गर्न माओवादीसँग एकता

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी दुई चिरा भएको छ । माओवादी केन्द्रसँग एकता गर्ने विषयमा कुरा नमिल्दा अर्का अध्यक्ष महेन्द्र यादव पक्ष पार्टी विभाजनको तहमा ओर्लिएको छ । यद्यपि, दुइटै पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् ।

यादव पक्षले माओवादीसँग पार्टी एकता गर्ने सहमति गरेपछि हालै बसेको भट्टराई पक्षको केन्द्रीय समितिको बैठकले अर्का अध्यक्ष यादवसहित सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहित नेताहरुलाई पार्टीबाट हटाउने निर्णय गरेको छ ।
दुई तिहाइ केन्द्रीय सदस्यको उपस्थितिमा भएको बैठकले पार्टीविपरीत गतिविधि गर्नेलाई निष्कासन गरेको नेता रोशन पोखरेलले बताए ।

लगत्तै यादव पक्षले पनि आकस्मिक केन्द्रीय कमिटीको बैठक राखेर भट्टराई पक्षको निर्णय अस्वीकार गर्दै सातै प्रदेशमा समानान्तर समिति घोषणा गरेको थियो ।

पार्टी विभाजनपछि बुधबार अध्यक्ष भट्टराईले पत्रकार सम्मेलन गरेर केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रचण्डले जालसाजी गरेको टिप्पणी गरेका थिए । उनले ७० प्रतिशत केन्द्रीय सदस्य र दुई तिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी गरे ।

यस्तो छ बाबुरामको भनाइ

हामीले माओवादीसँग मात्र एकता भनेर भनेका छैनौं । बृहत समाजवादी ध्रुवीकरण भनेका हौं । प्रचण्ड कम्युनिष्ट पार्टी विघटन गरेर नयाँ ढंगको समाजवादी ध्रुवीकरण गर्न तयार हुनुहुन्छ भने सोच्न सकिन्छ भनेका हौं । हाम्रो दस्तावेजमा पनि समाजवादी ध्रुवीकरण भनेका छौं । पार्टी एकता भनेका छैनौं । जहाँसम्म साझा चुनाव चिन्हको कुरा छ । त्यो दुईभन्दा बढी दलले एउटै चुनाव चिन्ह लिएर लड्न सक्छ भन्ने प्रावधान छ । हामीले पनि त्यही गरेको हौं । हाम्रो स्वतन्त्र अस्तित्व छ । माओवादीको चुनाव चिन्ह लिएर मर्ज भएको होइन । हामी स्वतन्त्र छौं, रहनेछौं ।

पार्टी छाडेर जानेहरुलाई हामीले रोकेकै छैन । सम्झौता पनि गरिसक्नुभएको छ । यहाँ हस्तक्षेप किन गर्नु ? यो पार्टीलाई नै किन लानुपर्‍यो उहाँहरूले ? उहाँहरू आफू गए त भइहाल्यो नि ! हिसाब गर्दा त ७० प्रतिशत कार्यकारिणी सदस्य हामीसँग छन् । उहाँलाई ४० प्रतिशतको समस्या परेको हो । अहिले त्यो कानून पनि छैन । मैले साथीहरू तपाईंहरु जानुहोस्, तपाईंहरूको सांसद पद खोस्दैनौं भनिसकेको छु । मैले प्रचण्डजीलाई पनि म्यासेज गरेको छु । उहाँहरूले मरिहत्ते गरिराख्नुभएको छ । भित्र्याउनुहोस् भनेर । किन रडाको गरेको भनेर भनेको छु ।

तर, भट्टराईको कुरामा महासचिव रमेश यादव सहमत छैनन् । उनले आफ्नो पक्षको केन्द्रीय समितिको बैठकमा पार्टीको बहुमत सदस्य उपस्थित भएको दाबी गरे ।

महासचिव यादवको भनाइ

अस्तिको केन्द्रीय समितिको बैठकमा हामीले दुई किसिमले हस्ताक्षर गराएका छौं । हाम्रो निर्वाचन आयोगमा अद्यावधिक भएको १६४ जनाको छुट्टै छ र पार्टी चलायमान बनाउन ११० जनाको केन्द्रीय कमिटी सदस्य बनाएका छौं । त्यो अद्यावधिक नभएकाहरुलाई छुट्टै हस्ताक्षर गराएका छौं ।

१६४ मध्ये हाम्रोमा उपस्थिति बैठक बसेको दिनमा ८६ जना छन् । र ११० मध्ये ६२ जनाले हस्ताक्षर गरेका छन् । कानून त निर्वाचन आयोगले १६४ जनालाई चिन्ने हो । त्यसमा हामीहरुको ८६ भएपछि हाम्रो पक्षमा स्पष्ट बहुमत भइहाल्यो । पदाधिकारी र कार्यकारिणी समितिलाई निर्वाचन आयोगले चिन्दैन, त्यो पार्टी चलायमान बनाउनमात्रै आन्तरिक संरचना हुन्छ ।

२३ जना कार्यकारिणी समिति थियो, त्यसमा हाम्रो १२ जना छन् । त्यसमा अध्यक्ष महेन्द्र राय यादव, सहअध्यक्ष गंगानाराण श्रेष्ठ, गोविन्द चौधरी, महासचिव रमेश यादव, कार्यकारिणी समितिमा वन्दना सुवेदी, देवीबहादुर बुढाथोकी, सलमा खातुन, अकलबहादुर थिङ, दुर्गा न्यौपानेलगायत १२ जना छौं।

पदाधिकारीमा पनि ९ जना थियौं । दानबहादुर न्यौपानलेले पहिला नै पार्टी छाडिसक्नुभएको छ । त्यसमा एउटा अध्यक्ष, दुई सहअध्यक्ष र महासचिव हामीतिर हुनुहुन्छ । त्यसमा चारचार जना छौं ।

महासचिव यादवसँग गरिएकाे छाेटाे प्रश्नाेत्तरः

– भनेपछि तपाईंहरुको पक्षमा बहुमत छ ?

हो, हाम्रो पक्षमा स्पष्ट बहुमत छ ।

– तर, अर्का अध्यक्षले त हामीसँग बहुमत छ । उहाँहरु दुईचार जना माओवादी प्रवेश गर्न खोज्नुभएको हो भन्ने अभिव्यक्ति दिनुभयो नि !

दुई पार्टीबीच हामीले एकता गर्ने सहमति गरिसकेका छौं।

– त्यसरी कसरी पार्टी एकता हुन्छ ?

त्यो सहमति दुई पार्टीबीचको कार्यदलबाट भएको सहमतिअनुसार हो । माओवादीबाट महासचिव देव गुरुङ र उपमहासचिव जनार्दन शर्मा हुनुहुन्थ्यो ।

हाम्रो तर्फबाट सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश यादवको नेतृत्वमा कार्यदल बनेको थियो । हामी पार्टी प्रवेश गर्ने भए त्यो कार्यदलको अर्थ के हो ? पार्टी गरेर टीका लगाएर जो पनि जानसक्छ नि ! नेपाल समाजवादी पार्टी हाम्रो हो । हाम्रो बहुमत छ । हामी पार्टी नै लिएर जाने हो । त्यहीअनुसार अहिले तीन बुँदे सहमति गरेका छौं । हामीले ९ बुँदे वार्ता टोलीबाट दिएको विषयमा पनि छलफल गर्दै अगाडि बढ्छौं ।

– भनेपछि उहाँहरुले आफ्नो पक्षमा बहुमत छ भन्दैगर्दा तपाईंहरु निर्वाचन आयोगमा पनि दाबी गर्न जानुहुन्छ ?

गर्छौं, पार्टी हाम्रो हो । हामीसँग बहुमत छ । किन नगर्ने ? अहिले पनि हामीहरुले त डा.साबलाई सम्मान गरिरहेका छौं । उहाँहरु नै अगाडि बढ्न खोज्दै हुनुहुन्छ । उहाँकै सहमतिमा माओवादीसँग एकता गर्ने भनिएको थियो । जहाँसम्म नाम पनि नेकपा समाजवादी राख्नलाई प्रचण्डजीसँग पनि सहमति भइसकेको अवस्था थियो । त्यही सहमतिअनुसार एउटै चुनाव चिह्न लिएर गएका छौं ।

यदि उहाँलाई हामीले सम्मान गरिरहेका छौं । राजनीतिक समितिबाट उहाँले नै वार्ता टोली बनाउनुभएको थियो । सबै काम उहाँले नै अगाडि बढाउनुभएको थियो । अहिले पनि उहाँ आएर सबै साथीहरुलाई एक ढिक्का भएर एकताको सन्देश दिँदा उहाँलाई नै फाइदा हुन्छ ।

उहाँकै अधुरो सपनाको लागि हामीले सबै काम गरिरहेका छौं । आज पनि मान्छौं । उहाँ एक्लै अगाडि बढ्न खोज्नुहुन्छ भने हामीलाई पनि पछाडि पछाडि जानु त पर्‍यो नै । हामी पनि कानूनभित्र रहेर त अगाडि बढ्नुपर्छ ।

– तर, उहाँले त माओवादीसँग एकता सम्भव नभएको प्रष्ट पारिसक्नुभयो नि !

माओवादीसँग एकता सम्भव छैन भने उहाँले किन कार्यदल बनाउनुभयो ? किन वार्ता टोली बनाउनुभयो ? किन प्रचण्डजीकहाँ गएर सबै कुरा राखेर नेकपा समाजवादी केन्द्र बनाउने भनेर सहमति जनाउनुभयो ?

– दुवै पक्षले बहुमत दाबी गरिराख्दा उहाँहरुले त तपाईंहरुलाई निष्कासन गरिसक्नुभयो । अब तपाईंहरु पनि कारबाही गर्नुहुन्छ ?

निष्कासन कसरी गराउने ? के निष्कासन गर्ने उहाँहरुको अधिकार छ ? पहिला पार्टीको बैठक राख्नुपर्‍यो नि ! अध्यक्षको परामर्शमा महासचिवले बैठक बोलाउनेछ भनेर विधानमा लेखिएको छ । विधानलाई मान्नुपर्छ नि !

मसँग कुनै सल्लाह गर्नुभएन । त्यो बैठकअघि नै मैले आधिकारिक बैठक नभएको भनेर विज्ञप्ति निकालिसकेको छु । त्यसैले त्यो बैठकको निर्णय अवैधानिक हुन्छ । मान्य हुँदैन भनेर हामी भनिसकेका छौं । त्यो बैठकबाट नेताहरुलाई निकाल्ने, राख्ने, थप्ने भन्ने विषयको कुनै औचित्य नै छैन नि ! हामीले अमान्य छ भनेर घोषणा गरिसकेका छौं ।

– त्यो बैठकको प्रतिवाद गर्दै उहाँहरुलाई निष्कासन गर्ने तहमा तपाईंहरु जानुहुन्छ ?

हामीहरु त्यस्तो घृणित काम गर्दैनौं । उहाँहरुको अवैधानिक बैठकबाट हामीलाई निष्कासित गरेर पदमुक्त गरायौं भन्ने उहाँहरुको काम हो । तर, हामी त्यसो गर्दैनौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर