रास्वपाको समानुपातिकमा नसमेटिएपछि विरोधमा उत्रिइन् कल्पना – Nepal Press

रास्वपाको समानुपातिकमा नसमेटिएपछि विरोधमा उत्रिइन् कल्पना

७ जना दलित महिलाको नाम बन्दसूचीमै थन्कियो

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई सबैभन्दा समावेशी पार्टी बनाएको बताए पनि एक जना पनि दलित महिलालाई प्रतिनिधि सभाको समानुपातिकतर्फ सिफारिस नगरेको पाइएको छ ।

उक्त पार्टीले समानुपातिकतर्फ प्राप्त गरेको १३ सिटमध्ये एक जना पनि दलित महिलालाई नपठाएको हो । रास्वपाले दलिततर्फ २ सिट प्राप्त गरेको भए पनि दुवै सिटमा दलितबाट पुरुषलाई सिफारिस गरेको छ ।

शनिवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले दलित समूहबाट पहिलो नम्बरमा सिफारिस भएका सन्तोष परियार र दोस्रो नम्बरमा सिफारिस भएका शिव नेपालीलाई समानुपातिकतर्फको सांसदका लागि सिफारिस गरेको पार्टी प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।

रास्वपाबाट ७ जना प्रत्यक्षबाट निर्वाचित भएकोमा एक जना पनि दलित समुदायको महिला निर्वाचित हुन सकेको छैन । रास्वपाको बन्दसूचीमा दलित समूहबाट महिलाको पहिलो नम्बरमा कल्पना रोक्काले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीले एक जना पनि दलित महिलालाई सिफारिस नगरेर दलित महिलामाथि अपमान गरेको बताइन् ।

उनले भनिन, ‘पार्टीका नेताले भाषणमा हाम्रो पार्टीलाई एकदमै समावेशी चरित्रको छ भनेर दाबी गर्नुहुन्छ । तर, कति समावेशी छ भनेर अहिले समानुपातिकतर्फ सिफारिस भएका व्यक्तिको नामावली हेर्दा थाहा भइहाल्यो नि । २ जना दलित समुदायबाट पठाउँदा एक जना पनि महिला नपठाउनुले पार्टी कति समावेशी छ भनेर देखाइहाल्यो नि ?’

उम्मेदवार रोक्काले पार्टीको उक्त निर्णय विरुद्ध पार्टी कार्यालयमा उजुरी गर्ने बताएकी छन् ।

उनले भनिन्, ‘पार्टीले यस्तो निर्णय गर्नुले समग्र दलित महिलामाथि अन्याय भएको छ । यसका विरुद्ध हामी सशक्त आवाज उठाउँछौ । पार्टी कार्यालयदेखि आवश्यकता अनुसार निर्वाचन आयोगमा पनि उजुरी गर्छौ ।’

रास्वपाले १०७ जनाको नाम बन्दसूचीमा राख्दा दलित समूहमा १४ जनाको नाम समावेश गरेको थियो । दलित समूहमा पनि ५० प्रतिशत अर्थात ७ जना महिलाको नाम समेटिए पनि बन्दसूचीमा मात्रै थन्किएको छ ।

बन्दसूचीमा दलित महिलाको पहिलो नम्बरमा कल्पना रोक्का, दोस्रोमा रुपा शंकर, तेस्रोमा सबिना विश्वकर्मा, चौथोमा जमुना विक, माचौमा देवीमाया जिरेल, छैटौमा निर्मला देवी र सातौमा सितादेवी पाँपर रहेका थिए । १७ जनामध्ये दलित समूहको पहिलो नम्बरमा सन्तोस परियारको नाम थियो भने दलित महिलाको पहिलो नम्बरमा कल्पना रोक्काको नाम रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर