हमलाबारे स्वतन्त्र पार्टीले भन्यो- गठबन्धनका कार्यकर्ताको गतिविधि लज्जास्पद – Nepal Press

हमलाबारे स्वतन्त्र पार्टीले भन्यो- गठबन्धनका कार्यकर्ताको गतिविधि लज्जास्पद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेसहित चुनावी प्रचारप्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकामा घरदैलो कार्यक्रममा रहेको बेला चुनावी प्रचारमा हिँडेका गठबन्धनका कार्यकर्ताहरूले गरेको सांघातिक हमला तथा गाडी तोडफोड आपत्ति जनाएको छ।

पार्टीको प्रवक्ता तथा महामन्त्री डा।मुकुल ढकाल सोमबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक निर्वाचनमा सहभागी भएर आफूलाई लोकतान्त्रिक दाबी गर्ने समूह र यसका सदस्यहरूबाट नै यस प्रकारको क्रियाकलाप हुनु अशोभनीय मात्र नभई लज्जास्पद र घृणित विषय भएको बताएको हो।

जनतामाझ प्रस्तुत भई स्वस्थ प्रतिस्पर्धामार्फत जनताबाट चुनिने निर्वाचनमा अहिंसा, शान्ति, समता तथा सहयात्रीको स्वच्छ भावनाले चुनावी गतिविधिमा सक्रिय हुन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आगामी दिनमा कसैबाट पनि यस किसिमका हिंसात्मक क्रियाकलाप नहोस् भनी प्रतिस्पर्धी राजनीतिक पार्टीका नेतृत्व वर्ग, स्थानीय प्रशासन सतर्क तथा संवेदनशीलता रूपमा प्रस्तुत हुने अपेक्षा समेत गर्दछौँ । निर्वाचन आयोगले यस्ता गतिविधिलाई समुचित मूल्याङ्कन गरी न्यायसङ्गत कदम चाली निर्वाचनलाई स्वस्थ, निष्पक्ष तथा भयरहित वातावरण सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने आशा गर्दछौँ ।’

यस्ता खाले कुनै पनि अवाञ्छित तथा अमर्यादित परिस्थितिहरू सिर्जना गरिए पनि पार्टीका सदस्य, शुभेच्छुक, समर्थक तथा शुभचिन्तकहरू उत्तेजित नभई अहिले जस्तै निरन्तर अहिंसा, शान्ति, संयमसहितको विवेकपूर्वक प्रस्तुत हुन अनुरोध गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर