यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना – Nepal Press

यसरी हुन्छ समानुपातिकको बाँडफाँट- एमाले ३३, कांग्रेस ३१ र रास्वपा १७ सीट पुग्ने सम्भावना

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खसेको करिब सवा करोड मतमध्ये समानुपातिकतर्फ बिहीबार दिउँसोसम्म साढे २५ लाख मतगणना हुँदाको रुझान विश्लेषण गर्दा ६ वटा दलले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीमा ४७ वटा दलले भाग लिएका थिए । हालसम्म गणना भएको २५ प्रतिशत मतलाई शतप्रतिशत आधार मानेर हिसाब गर्दा ३ प्रतिशतको थ्रेसहोल्ड कटाउन ७३ हजार मत पाउनुपर्छ । अहिलेसम्म ४७ दलले प्राप्त गरेको मतलाई जम्मा मत मानेर हिसाव गर्दा ६ दलले मात्रै ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् ।

जसमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल रहेका छन् ।

थ्रेस होल्ड कटाउने ती ६ दलको जम्मा मत हिसाब गर्दा २४ लाख ३४ हजार १६० हुन आउँछ । यसबाट प्रतिशत निकाल्दा सबैभन्दा धेरै नेकपा एमालेले ३० प्रतिशत, नेपाली कांग्रेसले २८, राष्ट्रिय स्वतन्त्र पार्टीले १५, नेकपा माओवादी केन्द्रले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ८ र जनता समाजवादी पार्टीले ३ प्रतिशत मत प्राप्त गरेका छन् ।

यसै प्रतिशतअनुसार थ्रेस होल्ड कटाएका राजनीतिक दललाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गर्दा सबैभन्दा नेकपा एमालेले ३३ देखि ३४ सीट पाउनसक्छ । दोस्रोमा रहेको नेपाली कांग्रेसले ३१ देखि ३२ सीट पाउनसक्छ ।

यस्तै तेस्रोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १६ देखि १७ सीट पाउने देखिन्छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १५ देखि १६ सीट प्राप्त गर्नेछ । पाँचौंमा रहेको राप्रपाले ९ देखि १० सीट पाउँदा जसपाले ४ देखि ५ सीट पाउने देखिन्छ ।

कसरी हुन्छ समानुपातिकतर्फको सीट बाँडफाँट ?

समानुपातिकतर्फको मतगणना भइरहँदा अधिकांशलाई समानुपातिकतर्फको निर्वाचनमा कसरी सीट बाँडफाँट हुन्छ र कसले कति सीट पाउँछ भन्नेबारेमा जिज्ञासा छ । यसैलाई मध्यनजर गरेर हामीले प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ सीट बाँडफाँट हुने विधिबारे यहाँ उल्लेख गरिएको छ ।

समानुपातिक निर्वाचन निर्देशिका २०७४ अनुसार उम्मेदवार छनोट प्रक्रिया परिच्छेद ५ मा गरिएको छ । निर्देशिकाको दफा ३१ मा सीटको बाँडफाँट गर्ने व्यवस्था गरिएको छ । जसको दफा १ अनुसार १६५ वटै निर्वाचन क्षेत्रबाट समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको मतगणना तालिका प्राप्त भइससकेपछि निर्वाचन अधिकृतले दलले प्राप्त गरेको सदर मत जोडिन्छ । ती दलले प्राप्त गरेको जम्मा मत संख्या एकिन हुन्छ ।

दलले प्राप्त गरेको जम्मा मतको आधारमा निर्वाचन अधिकृतले मत परिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गरी निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

दलले प्राप्त गर्ने सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको आधारमा महिला तथा अन्य समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्यासमेत निर्धारण गर्नुपर्नेछ ।

दलले प्राप्त गरेको सीट संख्यामध्ये विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनैपर्ने संख्या निर्धारण गर्दा दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ । जसमा सबैभन्दा धेरै खस आर्यबाट ३१.२, दोस्रोमा आदिवासी-जनजातिबाट २८.७, मधेसीबाट १५.३, दलितबाट १३.८, थारुबाट ६.६ र मुस्लिमबाट ४.४ प्रतिशत समावेश गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट प्रत्यक्षमा निर्वाचित र समानुपातिकबाट प्रतिनिधित्व गर्ने जम्मा सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुने गरी निर्धारण गर्नुपर्छ ।

सीट संख्या निर्धारण गर्दा त्यस्तो दलले प्राप्त गरेको सीट संख्याको कम्तीमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या निर्धारण गर्नुपर्छ । समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशत वा त्योभन्दा बढी सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार हुनुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनको निर्धारण गरिएको जम्मा सदस्य संख्याको १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलको तर्फबाट प्रतिनिधित्व गराउनुपर्ने विभिन्न समावेशी समूहका उम्मेदवारको संख्या तोकिएको प्रतिशतअनुसार नै हुनुपर्नेछ । निर्धारण गरिएको सम्बन्धित दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्या आयोगले नै स्वीकृत गर्नेछ ।

यस्तो छ मत परिणाम विभाजक सूत्र

निर्वाचनको प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई क्रमशः १, ३, ५, ७, ९ आदि (कुल उम्मेदवार संख्या अनुसारको हुने) भाजकले भाग गरिन्छ । त्यसरी भाग गरी प्राप्त हुने नतिजालाई भागफल भनिन्छ । यसरी मत परिणामलाई भाग गरी प्राप्त हुने भागफल संख्यालाई क्रमशः ठूलो भागफलबाट सानो भागफलसम्म बाँडफाँट गरिन्छ । त्यसपछि सीट वितरण गर्ने प्रयोजनका लागि भागफलको बाँडफाँट गर्दा अन्तिम सीटको भागफल बराबर भएमा गोलाप्रथाबाट निर्णय गरिन्छ ।

गोलाप्रथाबाट वितरण गरिने सीटको निर्धारण गर्दा उक्त सीटको सन्दर्भमा बराबर भागफल रहेका दलका प्रतिनिधिलाई रोहवरमा राखेर गर्नुपर्छ । तर, आयोगले तोकेको मिति, समय र स्थानमा त्यस्तो दलका प्रतिनिधि उपस्थित नभएको कारणले गोलाप्रथाद्वारा निर्णय गर्न आयोगलाई कुनै बाधा नपर्ने निर्देशिकामा उल्लेख छ ।

समानुपातिक निर्वाचन प्रणालीबमोजिम हुने निर्वाचनमा दलले प्राप्त गरेको जम्मा सदर मतको ३ प्रतिशत वा त्योभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुनेछन् । दलले प्राप्त गरेको जम्मा सदर मत गणना गर्दा ३ प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको जम्मा मतमा गणना गरिनेछैन ।

त्यसपछि दलले प्राप्त गर्ने सीट संख्या र विभिन्न समावेशी समूहबाट प्रतिनिधित्व गराउनुपर्ने संख्याबमोजिम उम्मेदवार छनोट गरी पठाउन निर्वाचन अधिकृतले अवधि तोकेर सम्बन्धित दललाई जानकारी गराउनेछन् । प्रत्येक दलले मत परिणामको आधारमा प्राप्त गरेको सीट संख्या सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गरिन्छ ।

उम्मेदवार छनोट गर्ने तरिका

राजनीतिक दलले जानकारी प्राप्त गरिसकेपछि उम्मेदवारको अन्तिम बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारमध्येबाट समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम छनोट गरी दलको केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई ३ दिनभित्र समानुपातिक निर्वाचन प्रणालीबमोजिम भएको निर्वाचनबाट छनोट भएका उम्मेदवारको सूची पेश गर्नुपर्छ ।

एकल चुनाव चिन्ह लिई संयुक्त निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । कुनै समावेशी समूहको उम्मेदवारको नाम छनोट गर्दा त्यस्तो समावेशी समूहको माथिल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट नगरी तल्लो क्रममा भएको उम्मेदवारको नाम छनोट गर्न पाइनेछैन । दलले उम्मेदवार छनोट गरी पठाउँदा यथासम्भव अपांगता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरी पठाउनुपर्छ ।

उम्मेदवार छनोट गरिएको सूची पेश गर्दा महिला तथा अन्य समावेशी समूहको प्रतिनिधित्व नभएमा निर्वाचन अधिकृतले सम्बन्धित दललाई नामावली सच्याई त्यसैबमोजिम प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी दुई दिनभित्र पेश गर्न लेखी पठाउनुपर्छ । यद्यपि १० प्रतिशतभन्दा कम सीट प्राप्त गर्ने दलले कुनै समावेशी समूहबाट तोकिएको संख्यामा उम्मेदवार छनोट गर्न नसकेको विशेष कारण पेश गरेमा आयोगले उक्त संख्याबमोजिम कुनै समावेशी समूहको उम्मेदवारको नाम समावेश नभएको सूचीलाई समेत मान्यता दिनसक्छ । तर, त्यस्तो दलको तर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने जम्मा संख्याको कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारको नाम अनिवार्य रुपमा छनोट गरी पेश गर्नुपर्छ ।

निर्वाचन अधिकृतले लेखी पठाएको २ दिनभित्र सम्बन्धित दलले केन्द्रीय समितिको निर्णयबाट स्वीकृत गराई संशोधित नामावलीको सूची पेश गर्नुपर्छ । एकल निर्वाचन चिन्ह लिई संयुक्त रुपमा निर्वाचनमा सहभागी हुने गरी आयोगमा दर्ता भएका दलको तर्फबाट निर्णय गर्दा सबै दलको केन्द्रीय समितिले संयुक्त वा अलग-अलग रुपमा निर्णय गरी स्वीकृत गर्नुपर्छ । दलले पेश गरेको संशोधित नामावली तोकिएको प्रतिशत नसमेटिएसम्म त्यस्तो दलको तर्फबाट कुनै उम्मेदवार निर्वाचित हुनेछैन ।

दलले प्राप्त गरेको मतको अनुपातमा प्राप्त हुने सीटभन्दा त्यस्तो दलले पेश गरेको उम्मेदवारको बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या कम भई सबै सीट पूर्ति हुन नसक्ने भएमा त्यस्तो सीट विभाजक सूत्र अपनाई बढी भागफल प्राप्त गर्ने अर्को दललाई प्रदान गरिन्छ । यसरी प्रदान गरिएको सीट प्राप्त गर्ने दलले त्यस्तो सीटमा सोही समावेशी समूहको प्रतिनिधित्व हुने गरी उम्मेदवारको छनोट गरी पठाउनुपर्नेछ । दलले छनोट गरी सूची पेश गरेका उम्मेदवारलाई निर्वाचन अधिकृतले निर्वाचन भएको घोषणा गर्नेछ । निर्वाचित भएको उम्मेदवारलाई निर्वाचन अधिकृतले प्रमाणपत्र दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर