मनाङेलाई मन्त्री बनाउन माधव नेपाल र घनश्याम भुसालले दबाब दिएको मुख्यमन्त्री पाण्डेको दाबी – Nepal Press

मनाङेलाई मन्त्री बनाउन माधव नेपाल र घनश्याम भुसालले दबाब दिएको मुख्यमन्त्री पाण्डेको दाबी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले दीपक मनाङेलाई मन्त्री बनाउन आफूलाई नेकपा एसका नेताहरूले पहिलेदेखि नै दबाब दिएको र अहिले आएर भौतिक पूर्वाधार मन्त्री बनाएको दाबी प्रष्ट पारेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै मुख्यमन्त्री पाण्डेले नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालले धेरैपटक फोनमा र भेटेर दीपक मनाङेलाई मन्त्री बनाउन आग्रह गरेको बताए । भुसाल आफ्नो विद्यार्थी राजनीतिको साथीसमेत भएकाले कफी गफमा पनि दीपकलाई मन्त्री बनाउन आग्रह गरेको बताए ।

पाण्डेले भने, ‘माधव नेपालले पनि धेरैपटक भन्नुभएको हो । मैले समय आएपछि बनाउँला भनेको थिए । अहिले मलाई त्यो उपयुक्त समय आयोजस्तो लाग्यो र उहाँहरूले भनेकै मान्छेलाई मन्त्री बनाइदिएको छु ।’

मुख्यमन्त्री पाण्डेले अब राप्रपा पनि अर्को गठबन्धनमा जाने अवस्था नरहेकाले आफ्नो नेतृत्वको सरकारमा आउने र यो सरकार पूरै अवधि चल्ने दाबी गरे । स्वतन्त्र जितेर नेकपा एसमा प्रवेश गरेका दीपक मनाङे हालै पार्टीको निर्णयविना मन्त्री बनेपछि नेकपा एसले कारबाहीको चेतावनी दिएको छ । तर, उनले भने आफ्नो स्वतन्त्र हैसियत कायम गरिदिन प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर