उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक – Nepal Press

उपाध्यक्ष महरा पक्राउ परेपछि प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । मंगलबार बिहान बस्नेगरी प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पदाधिकारी बैठक बोलाएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

बैठकमा नेताहरुको कार्यविभाजनसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा आज बिहान पक्राउ परेका छन् ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । लगत्तै गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सोही प्रतिवेदनपछि गृहमन्त्री रवि लामिछानेको निर्देशनमा आज बिहान प्रहरीले महरालाई नियन्त्रणमा लिएको हो ।

तर, उपाध्यक्ष महरा पक्राउको विषयमा अहिलेसम्म पार्टीमा छलफल नभएको नेता ढकालले बताए ।

माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले पनि अहिले उपाध्यक्ष पक्राउको विषयमा छलफल नभएको बताए ।

उनले भने, ‘भोलि पदाधिकारी बैठक बोलाइएको छ । बैठकको एजेण्डाबारे केही आएको छैन । अब भोलि बैठकमै थाहा होला ।’

अर्का एक पदाधिकारीले उपाध्यक्ष महरा पक्राउ परेपछि पार्टीमा आन्तरिक छलफल भएको बताए ।

ती नेताले नेपाल प्रेससँग भने, ‘पार्टीको शीर्ष नेता पक्राउ परेपछि आन्तरिक छलफल हुनु स्वाभाविक हो । अब अध्यक्षले भोलि बिहान राख्नुभएको बैठकमा त्यसबारेमा ब्रिफिङ गराउनुहुन्छ होला । बैठक पूर्वनिर्धारित होइन, आकस्मिक भएकाले महराजीको पक्राउ प्रकरणबारे छलफल हुन्छ भन्ने लागेको हो ।’

महरामाथि विद्युतीय चुरोट (भेप)मा सुन तस्करी गरेको आरोप छ । महराका छोरा राहुलविरुद्ध पनि मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

महरामात्रै नभइ पार्टी निकट अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनको नाम सुन काण्डमा पनि जोडिएको छ ।

पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार भएको बेलामा पार्टीका नेताहरु नै विभिन्न काण्डमा पक्राउ पर्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर