सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार, महरालगायतका हाइ प्रोफाइल समात्ने ‘टास्क’ – Nepal Press

सीआईबी प्रमुख ज्ञवालीले सम्हाले पदभार, महरालगायतका हाइ प्रोफाइल समात्ने ‘टास्क’

काठमाडौं । सुनको तस्करीमा कमजोर अनुसन्धान गरेको आरोपमा किरण बज्राचार्यको सरुवा भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कमाण्ड श्यामलाल ज्ञवालीले सम्हालेका छन् । उनले आइतबार दिउँसो सीआईबी कार्यालयमा गएर पदभार ग्रहण गरे ।

बिहानमात्र गृहमन्त्री रवि लामिछानेले आईजीपी वसन्तबहादुर कुँवर र एआईजी ज्ञवालीलाई बोलाएर भेटेका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले गरेको सिफारिस कडाईसाथ कार्यान्वयन गर्न उनले दुवैलाई निर्देशन दिएका छन् । आयोगले पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरासहित थुप्रैलाई मुद्दा चलाउन सिफारिस गरेको छ ।

सीआईबीको यसअघिको अनुसन्धानमा उनीहरूलाई जोगाएको आयोगले दाबी गरेको थियो । आयोगको प्रतिवेदनलगत्तै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पक्राउ परिसकेका छन् । सुन तस्करीमा उनको पनि संलग्नता रहेको दाबी गरिएको छ । महरापुत्र राहुल यसअघि नै पक्राउ परेर कारागारमा छन् ।

स्रोतकाअनुसार गृहमन्त्री लामिछानेले मुद्दा चलाउन सिफारिस गरिएकालाई तत्काल अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएका छन् । गृहमन्त्रीको निर्देशनअनुसार सीआईबीले महरालाई तत्काल पक्राउको तयारी गरेको स्रोतले बताएको छ ।

‘उनी लुकेनन् वा भागेनन् भने आजभोलिमै पक्राउ पर्नेछन्,’ स्रोतले भन्यो ।

यसअघि दायर भएको मुद्दामा पूरक अभियोग लैजाने तयारी सीआईबीको छ । सीआईबीले यसअघि ब्रेक सु र भेप प्रकरणमा अवैध सुन चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *