सुप्रिम सहकारीको डेढ अर्ब बचत अपचलनमा जोडिएका अधिकांश पक्राउ – Nepal Press

सुप्रिम सहकारीको डेढ अर्ब बचत अपचलनमा जोडिएका अधिकांश पक्राउ

‘पहुँचवाला’ समेत पक्राउ परेपछि रकम छिटो फिर्ता हुने आशा पलायो बचतकर्ताको

रुपन्देही । रुपन्देहीमा रहेको सुप्रिम सहकारीको करिब डेढ अर्ब रकम हिनामिना भएको उिजुरी दिएका बचतकर्ताहरुलाई यसका पूर्वसचिव रहेका पूर्वराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनसहितका अधिकांश मुख्य व्यक्तिहरु पक्राउ परेपछि आफ्नो रकम फिर्ता हुने आशा पलाएको छ ।

यसअघि सहकारीका अध्यक्ष र व्यवस्थापक पक्राउ गरेको प्रहरीले बचतकर्ताले मुख्य दोषी देखाएका पूर्वसचिव पुनसमेत पक्राउ परेपछि बचत रकम छिटो फिर्ता हुने अपेक्षा बढेको जनाएका छन् ।

शुक्रबार दिउँसो काठमाण्डौमा पक्राउ परेका पुनलाई अनुसन्धानको लागि शुक्रबार राती नै भैरहवा हुँदै बुटवलमा ल्याइएको हो । काठमाण्डौंको सुन प्रकरणमा दोषी देखिएपछि पक्राउ परेका उनलाई त्यसअघि सहकारी ठगीको मुद्दामा रुपन्देही प्रहरीले खोजी गरिरहेको थियो ।

शुक्रबार पुनलाई बुटवल ल्याइएपछि शनिबार नै विवादपछि सुप्रिम सहकारीबाट दिपेशले राजीनामा दिएर सचिव बनाइएका कुमार रम्तेल र त्यो सहकारीका आइटी अफिसर भविश्वर अर्याललाई शनिबार नै पोखराबाट बुटवलमा ल्याइएको हो ।

रम्तेल र अर्याल रुपन्देहीको सुप्रिमसहित कास्कीको सूर्यदर्शन सहकारीको समेत रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका थिए । उनीहरुलाई थुनाबाटै सोधपुछका लागि यहाँ ल्याइएको स्रोतले जनाएको छ ।

रुपन्देही क्षेत्रका करिब १० हजार बचतकर्ताको सबा १ अर्ब रकम हिनामिना प्रकरणमा दिपेश जोडिएका छन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेको उजुरी प्रहरीमा छ । उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए ।

रुपन्देही प्रहरीले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको र अनुसन्धान थालेको जनाएको । काठमाण्डौ प्रहरीले उनलाई सुन तस्करीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । सुन तस्करीबारे अनुसन्धान गर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले यहाँ ल्याइएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले सुप्रिम सहकारीका वचतकर्ताले सबा १ अर्ब रकम अपचलन गरेको मुद्दाको विषयमा अनुसन्धान गर्न पुनलाई बुटवलमा ल्याइएको जनाए । ‘सुप्रिम सहकारीबाट पीडित वचतकर्ताको उजुरीका आधारमा यहाँ ल्याइएको हो, १ अर्बभन्दा बढी रकम अपचलन भएको उजुरी छ, हामीले यसअघि यसबाट पीडित वचतकर्ताको निवेदन पनि संकलन गरेका छौं, त्यो आधारमा पनि छानविनलाई अगाडि बढाउँछौं’ उनले भने ।

यसअघि फागुन ४ गते सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया थालेको छ ।

रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई सम्पर्कविहीन छन्। वचतकर्ताले सहकारीका मुख्य व्यक्तिहरु पक्राउ परेपनि राजनीतिक दल र सरकारको पहुँचमा रहेकालो दोषीलाई उम्काउने प्रयास हुनसक्ने भन्दै खबरदारीका लागि आग्रह गरिरहेका छन् ।

सहकारीमा बचत गरेका पीडित नेत्र केसीले सहकारीका मुख्य मान्छे पक्राउ परेकाले उनीहरुको सबै सम्पत्ति छानविन गरेर आफूहरुको रकम भुक्तानी दिने वातावरण सरकारले मिलाउनुपर्ने बताए ।

सुप्रिम सहकारी संस्थाका दुई सयभन्दा बढी सदस्यले आफूहरूको एक अर्ब बढी बचत रकम ठगी गरेको भन्दै उजुरी दिएको लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले जानकारी दिए। ‘एउटै सदस्यको साढे तीन करोडसम्म ठगी गरेको उजुरी परेको छ, सहकारीले एक अर्ब बढी ठगी गरेको भन्दै दुई सयभन्दा बढी व्यक्तिले उजुरी दिनुभएको छ,त्यही आधारमा प्रहरीलाई थप अनुसन्धानका लागि पठाएका हौं’ तिवारीले भने।

कसरी जोडिए दिपेश सुप्रिम सहकारीमा ?

सुप्रिम सहकारीका संस्थापक सचिव रहेका दिपेश पुनले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम फिर्ता माग्न थालेपछि राजीनामा दिएर उम्कने प्रयास गरेको समेत वचतकर्ताले यसअघि बताएका थिए ।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको दर्ता प्रक्रियामा कैफियत देखाउँदै बुझाएको प्रारम्भिक प्रतिवेदनमा सहकारीका बचतकर्ताहरुले आफूहरुलाई जम्मा गरेको रकम चाहियो भन्दै सहकारीमा धर्ना दिन थालेपछि सहकारीका सचिव पुनसंगै कोषाध्यक्ष सुरज श्रेष्ठले राजीनामा दिएका थिए।

सहकारीको रकम हिनामिना भएको समाचार सार्वजनिक भएपछि २०७९ मंसिर २४ गते सीमित ब्यक्तिहरुको साधारणसभा गरेर पुन र श्रेष्ठले राजीनामा दिएको अभिलेखबाट देखिएको त्यो प्रतिवेदनमा उल्लेख छ। यसअघि नै इलाका प्रहरी कार्यालय बुटवलले सहकारीका अध्यक्ष र भैरहवा शाखा व्यवस्थापकलाई नियन्त्रणमा लिएलगत्तै सुप्रिम सहकारीमा राखेको रकमको प्रमाणसहित उजुरी दिन सार्वजनिक सूचना जारी गरेर सबै प्रमाण जुटाएको छ ।

सहकारी दर्ता अधिकारीको कार्यालयले छानविनपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा ०७२ सालमा सहकारी दर्ता गर्ने तत्कालीन सहकारी डिभिजन कार्यालय रुपन्देहीका निर्णयकर्ता कर्मचारीको काममा समेत कैफियत देखिएको भन्दै गम्भीर प्रश्न उठाएपछि यसमा समेत छानविन थालिएको छ ।

सहकारी ऐनमा सहकारीका संचालक समितिका पदाधिकारीको नागरिकताको ठेगाना संस्थाको कार्यक्षेत्र भित्रको हुनुपर्ने वा कार्यक्षेत्र भित्र बसोबास गरेको परिचय खुल्ने बसाई सराई वा मतदातासूचीमा नाम हुनुपर्ने प्रावधान सहकारी ऐनमा भएपनि सुप्रिम सहकारी दर्ता गर्दा त्यसकिसिमका कागजात नराखेको प्रतिवेदनमा उल्लेख छ।

मैत्रैय सहकारीलाई सुप्रिम सहकारी बनाएर नाम परिवर्तन गर्दा उपाध्यक्षबाहेक अन्य सबै रुपन्देही भन्दा बाहिरका पदाधिकारी तथा सदस्यको नाम तत्कालिन डिभिजन कार्यालय रुपन्देहीमा पेश गरिएको छ। सोही अनुसार सहकारी दर्ता गरेको भन्दै तत्कालिन संचालक समिति र सहकारी डिभिजन कार्यालयका तत्कालीन प्रमुखमाथि समेत प्रश्न उठाएको हो।

सहकारी दर्ता अधिकारी कार्यालयका प्रमुख यमबहादुर कुंवरले बुझाएको प्रतिवेदनमा सहकारी दर्ता गर्दा संचालक समितिका पदाधिकारीले पेश गरेको नागरिकताको ठेगाना कार्यक्षेत्रभन्दा बाहिर रहेको र कार्यक्षेत्रमा बसोबास प्रमाणित हुने बसाईसराई, मतदाता सूचि लगायतका कुनैपनि दस्तावेज समावेश नगरिएकोले सहकारी दर्ता गर्दा नै सहकारीको ऐन, नियम र सहकारीको मूल्य मान्यता विपरीत गरिएको उल्लेख छ।

२०७२ साल चैत्र ८ गते सहकारी डिभिजन कार्यालयका तत्कालिन प्रमुखले दर्ता गरी बेलखु १ ओखलढुंगाका गितेन्द्रबाबु ९जिबि० राई अध्यक्ष रहेको संचालक समितिलाई सहकारी संचालनको अनुमति दिएका थिए। सहकारी दर्ता गर्दा उपाध्यक्ष ओमप्रकाश गुरुङबाहेक सचिव राजु वराल, कोषाध्यक्ष दिपेश पुन र सदस्यहरु सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राई सबै कार्यक्षेत्रभन्दा बाहिरका थिए।

२०७२ सालमा सहकारी दर्ता गर्ने भन्दै डिभिजन सहकारी कार्यालय रुपन्देही पुगेको जिबि राई र दिपेश पुनको समूह सहकारी डिभिजन प्रमुख नेत्र घिमिरे मार्फत ओमप्रकाश गुरुङको सम्पर्कमा पुगेको थियो। गुरुङ २०५७ सालदेखि बुटवलमा संचालनमा रहेको मैत्रेय बचत तथा ऋण सहकारी संस्थाको संचालक थिए।

त्यतिबेला रुपन्देहीमा धेरै सहकारी संस्था दर्ता भएको भन्दै नयाँ सहकारी संस्थाको दर्ता प्रक्रिया रोकिएको थियो। उता न्यून सदस्य रहेको भन्दै मैत्रेय बचत तथा ऋण सहकारी संस्थालाई बन्द गर्न सहकारी डिभिजन कार्यालयले दवाव दिइरहेको थियो। सोही बखत जिबी राई र दिपेश पुनको समुहले सहकारी दर्ताको दवाव दिएपछि घिमिरेले राई र पुनलाई गुरुङसँग भेट गर्न पठाएका थिए।

गुरुङसँगको भेटपछि सहकारी दर्ता गर्न आएको राई र पुनको समुह मैत्रेय सहकारीमा २०७२ साल माघ २५ गते सदस्य बनेका थिए। माया गुरुङ अध्यक्ष रहेको मैत्रेय सहकारीले राई र पुनसँगै राजु बराल, सुरज श्रेष्ठ, देवेन्द्रबाबु राई र भुपेन्द्र राईलाई सहकारीको सदस्यता दिएका थिए।

‘उहाँहरु बुटवलमा नयाँ सहकारी दर्ता गर्न आउनुभएको रहेछ त्यो बेला सहकारी दर्ता बन्द भएको थियो चल्न नसकेर बन्द हुन लागेका सहकारीको लिष्ट जिल्ला सहकारी कार्यालयमा थियो त्यहीबाट राईहरु हामीलाई खोज्दै आउनु भएको हो।’ गुरुङले पक्राउ पर्नु अघि भनेका थिए।

माघ २५ गते सदस्य बनेका राईसहितको समूह र ओमप्रकाश गुरुङ समेतले फागुन १ गते सहकारीको विशेष साधारणसभा बोलाउन निवेदन दिएका थिए। सोहि निवेदनपछि फागुन ३० गते भएको विशेष साधारणसभाबाट मैत्रेय सहकारीको नाम संशोधन गरी सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनाइएको थियो।

नाम संशोधनसँगै बुटवलमा मात्र रहेको कार्यक्षेत्रलाई रुपन्देही जिल्लाभर कायम गरिएको थियो भने संचालक समितिसमेत पुनर्गठन गरिएको थियो। पुनर्गठित संचालक समितिमा मैत्रेय सहकारीमा रहेका ओमप्रकाश गुरुङबाहेक अन्य सबै पदाधिकारी र सदस्यहरु कार्यक्षेत्र बाहिरका राईको समूह थिए। जसलाई सहकारी डिभिजन कार्यालय रुपन्देहीले विनियम संशोधन गरेको थियो।

रुपन्देहीमा नयाँ सहकारी संस्थाको दर्ता रोकिएको अवस्थामा मैत्रेय सहकारीको सदस्य बनेको १ महिनाभित्रै राईको समूहले यसरी रुपन्देहीका बचतकर्ताहरुका बीचमा सुप्रिम सहकारीको जालो फिंजाउन शुरु गरेको थियो। २०७६ साल भदौसम्म राई आफै अध्यक्ष रहे। राईले अध्यक्षबाट दिएको राजीनामा स्वीकृत गर्दै भदौ १४ गतेको साधारणसभाबाट गुरुङ अध्यक्ष बनेर राईलाई संरक्षक बनाइएको थियो।

गुरुङ अध्यक्ष बनेपछि २०७६ असोज १६ गते ३० जना मात्र सदस्य रहेको भैरहवाको जय अम्बे बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई सुप्रिमसँग एकीकरण गरिएको थियो।

एकीकरणपछि पनि सुप्रिमकै संचालक रहेका ओमप्रकाश गुरुङकै अध्यक्षतामा असरफ अलि उपाध्यक्ष, दिपेश कुमार पुन सचिव र सुरज श्रेष्ठ कोषाध्यक्ष रहने गरी संचालक समिति बनेको थियो। जय अम्बेबाट उपाध्यक्ष रहेका सागर केसी सहकारीको मुख्य कार्यालयको व्यवस्थापक बने।

एकीकरणपछि भने २०७६ कार्तिक २६ गते लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दर्ता गरिएको थियो। रुपन्देहीमा दर्ता भएपछि नै बचतकर्तासँग दैनिक बचत उठाउन शुरु गरेको सुप्रिमले ऋण लगानी भने २०७५ सालदेखि गरेको देखिन्छ।

कुल १० हजार ३९१ जना बचतकर्ताबाट संकलन गरेको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँमध्ये सहकारीका संस्थापक अध्यक्ष तथा संरक्षक रहेका राई र उनी संलग्न विभिन्न पाँचवटा कम्पनीलाई मात्र ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिइएको छ।


प्रतिक्रिया

One thought on “सुप्रिम सहकारीको डेढ अर्ब बचत अपचलनमा जोडिएका अधिकांश पक्राउ

  1. गृहमन्त्री रवी पनि यसमा संलग्न भनेको हो कि होइन लेखक राम प्रसाद आचार्य ज्यु स्पष्ट पारिदिनु न ल जिज्ञासा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर