रास्वपामा इलाम- २ मा उम्मेदवार बन्न १२ जनाभन्दा बढी आकांक्षी – Nepal Press

रास्वपामा इलाम- २ मा उम्मेदवार बन्न १२ जनाभन्दा बढी आकांक्षी

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कमिटीको बैठकले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनको लागि उम्मेदवार छनोट गर्न सकेन । उम्मेदवार छनोट गर्न रास्वपाले सोमबार केन्द्रीय बैठक राखेको थियो । तर, बैठक उम्मेदवारको विषयमा छलफल नै नगरी टुङ्गिएको छ ।

उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरे पनि को उम्मेदवार उठाउने भन्ने विषयमा बैठकमा छलफल नै हुन सकेन । आजको बैठकबाटै उम्मेदवार टुङ्गो लगाएर जाने तयारी भएको थियो ।

बैठकमा इलाम क्षेत्र नम्बर २ बाट कसलाई उठाउने भन्ने विषयमा भने छलफल नै नभएको रास्वपा कोशी प्रदेशका अध्यक्ष राजेश तिम्सिनाले बताए । अर्को बैठकले उम्मेदवारको टुङ्गो लगाउने उनले बताए ।

रास्वपाबाट उम्मेदवार बन्न १२ जनाभन्दा बढीले आकांक्षा देखाएका छन् । जसमा केन्द्रीय सदस्य रमेश प्रसाईंसमेत हुन् । योबाहेक प्रेमसिंह थाम्सुहाङले समेत रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् ।

यस्तै पत्रकार मिलन लिम्बूले पनि रास्वपाबाट उम्मेदवार बन्ने आकांक्षा देखाएका छन् । अध्यक्ष तिम्सिनाले इलाममा हुने निर्वाचनमा स्थानीय उम्मेदवारलाई प्राथमिकता दिने बताए ।

यसअघि फागुनको १९ गते रास्वापाका ६ जना संसादको टोलीले इलाम क्षेत्र नम्बर २ का पालिकाहरूमा गएर ५०० भन्दा बढी परिवारलाई भेटेका थिए । उम्मेदवार छनोटका विषयमा उनीहरूले स्थानीयलाई प्राथमिकता दिनुपर्ने बताएकाले सोहीअनुसार उम्मेदवार उठाइने तिम्सिनाले बताए ।

आसन्न उपनिर्वाचनको विषयमा इलामको वस्तुस्थिति बुझ्न ६ जना सांसद ६ वटा पालिकामा गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर