जीवगाथा: हरित लेखनको लोभलाग्दो हस्ताक्षर – Nepal Press
किताबी कुरा

जीवगाथा: हरित लेखनको लोभलाग्दो हस्ताक्षर

काठमाडौं । गुल्मीबाट चितवन आएको परिवारका छोरा ददि सापकोटा फ्रान्समा छन् । उनको पारिवारिक विरासत नै ‘माइग्रेटरी’ छ । उनी आफ्नो माइग्रेटरी कथाभन्दा साइबेरियाबाट नेपाल आउने वा क्यानडाबाट मेक्सिको झर्ने माइग्रेटरी चराका कथा भन्न इच्छुक छन् । नेपालको पहिलो राष्ट्रिय निकुञ्ज तथा विश्व सम्पदा क्षेत्र चितवन राष्ट्रिय निकुञ्जमा नेचर गाइड गरेका उनले आफ्ना विदेशी ग्राहकलाई मात्रै प्रकृतिका प्राङ्गारिक कथा भनेनन् । आममान्छेलाई पनि भने । यस्तै भन्ने श्रृङ्खलाका तीन ठेली उनले ल्याइसकेका छन् । आफ्नो ददिराम नामबाट ‘राम’ हटाएर नामको आकार घटाएका सापकोटाले लेखनको कामलाई भने फैलाउँदै गएका छन् ।

ददिराम सापकोटाको नामबाट सबैभन्दा पहिले ‘पन्छी जगत’ ल्याए । त्यसपछि ददि सापकोटा नामबाट ‘वनको वैभव’ ल्याए । अहिले ल्याएको ताजा ग्रन्थ चैँ ‘जीवगाथा’ हो । संयुक्त राष्ट्रसंघका ६ भाषामा दुई भाषा- अंग्रेजी र फ्रान्सेलीमा पोख्त उनले ‘त्यो नेपाल’ नाममा फ्रान्सेलीले देखेको नेपालको एक फरक किताब पनि पाठकलाई दिइसकेका छन् ।

सापकोटाको मुख्य चासो चैँ प्रकृतिमै छ, प्रकृतिको बखानमा छ, प्रकृतिको लेखनमा छ । उनलाई यो पनि थाहा छ, प्रकृति लेखन गाह्रो छ । अझ आमपाठकमा पुग्न त झनै सकस । चलाख सापकोटाले प्रकृतिमा आममान्छे तान्न कसरी सकिन्छ बुझेका छन् । उनी मान्छेको ध्यान तान्न यौन जोडिदिन्छन् । यौनलाई दिमागमा बोकेर हिँडेका मान्छेहरु आकर्षिक भइहाल्छन् । उनले वनको वैभव किताबको मुनि लेखे- जनावरका मनदेखि यौनसम्म । यस्तै उनले ल्याएको ताजा जीवगाथामा पनि उनले लेखेका छन्- गाँस, बास र सहवास ।

झ्याउ लाग्दा राजनीतिक कार्यक्रममा दर्शक अड्याउन कलाकारहरु ल्याए जस्तै प्रकृति लेखनका जटिल कुरामा आममान्छे अड्याउँदै गम्भीर कुरा भन्न सापकोटा यौन र सहवास जोड्छन् । उनी किताबको बीचबीचमा टुच्च टुच्च यौनका कुरा जोड्छन् । जस्तैः

सापकोटाको मुख्य चासो चैँ प्रकृतिमै छ, प्रकृतिको बखानमा छ, प्रकृतिको लेखनमा छ । उनलाई यो पनि थाहा छ, प्रकृति लेखन गाह्रो छ । अझ आमपाठकमा पुग्न त झनै सकस । चलाख सापकोटाले प्रकृतिमा आममान्छे तान्न कसरी सकिन्छ बुझेका छन् । उनी मान्छेको ध्यान तान्न यौन जोडिदिन्छन् ।

  • अर्जेन्टिनियन लेक डक भाले हाँसको लिङ्ग ४२ सेमिसम्म हुन्छ । जिज्ञासा उठ्नु स्वाभाविक छ- शरीरभन्दा लामो लिङ्गको उपयोगिता के ? (पेज ४१)
  • लुइँचेहरुले प्रत्येक सम्भोगमा एकै परिणाम र तरिकाले बीर्य छाड्दैनन्, पोथीको प्रजनन गुणस्तर र वरिपरि भएका भालेसँगको प्रतिस्पर्धा हेरेर अड्कली अड्कली छाड्ने गर्छन् । (पेज ४५)
  • बाज जातिको मार्सह्यारियर मांसाहारी चराले पोथीसँग यौन सम्बन्ध सजिलो बनाउन पोथीको भेषमा पोथी समूहमा जान्छ र झुक्याएर यौन आनन्द लिन्छ । (पेज ५५)
  • बाँदर जति धेरैलाई गर्भिणी बनाउन सक्यो, उति राम्रो मानिन्छन् । मानिसमा झैं तिनमा पनि यौनरोग लाग्छ । (पेज १३३ र १३४)

जीवगाथामा सापकोटाले कतिपय फिक्सन पनि जोडेर रोचक कथा भनेका छन् । चरालाई बत्ती वा उज्यालो हुँदा प्रेमालाप गर्न लाज हुने प्रसंगमा उनले भाले र पोथीको गीति संवाद बनाएका छन्ः

भाले : तिम्लाई बैंस ला छ कि ला छैन ?
मलाई आजै नभेटी भा छैन ।

पोथी : अलि अलि लाउन त लाकै हो
बत्तीमुनि आउन त लाजै भो ।

कतिपय भाले चराले पोथी खुशी बनाउन गीत गाउने तर त्यस्ता मौलिक गीत अरुले चोरेर हुबहु गाउनेबारेमा ब्राजिली अमेजन जङ्गलको वैज्ञानिक अध्ययनको कुरामा सापकोटाले गीति भाका थपेका छन्ः

चैत, बैशाख सुक्खा हुन्थ्यो
हुन छाड्यो अब
वातावरण बदलियो
बिथोलियो सब

सधैं उस्तै गीत गाउनलाई
हुनथाल्यो क्षय
आफ्नै झाडी रुख बुट्यानमै
हुनथाल्यो भय

२०० प्रजातिका चरामा पोथीले दुःखमा साथ छोड्ने, जुनकीरीको पोथीले यौन प्यास लिएर भालेको शिकार गर्ने, पोथीलाई बलात्कार गर्ने भाले, पार्टनरलाई चिट गर्ने पोथी, कसरत गर्ने चरा, कतिपय चराले ऐना हेरेर मुहार मिलाउने जस्ता रोचक कुरा उनले लेखेका छन् । उनले विभिन्न वैज्ञानिक अध्ययनलाई मियो बनाएर रोचक शैलीमा पुस्तक लेखेका छन् ।

सापकाटाले जीवगाथामा चराहरुका रोचक कुराहरु लेखेका छन् । २०० प्रजातिका चरामा पोथीले दुःखमा साथ छोड्ने, जुनकीरीको पोथीले यौन प्यास लिएर भालेको शिकार गर्ने, पोथीलाई बलात्कार गर्ने भाले, पार्टनरलाई चिट गर्ने पोथी, कसरत गर्ने चरा, कतिपय चराले ऐना हेरेर मुहार मिलाउने जस्ता रोचक कुरा उनले लेखेका छन् । उनले विभिन्न वैज्ञानिक अध्ययनलाई मियो बनाएर रोचक शैलीमा पुस्तक लेखेका छन् ।

मांसहारी विरुवा जेनस फिलोक्सियाको चर्चा, विरुवामा हाडनाता प्रजननमा हुने सकस उतारेका छन् । ४० प्रजातिका कागमा सातखाले आवाज हुने र तिनले आफन्तको आवाज चिन्ने रोचक कुरा लेखेका छन् । बार टेल्ड गडविट नामको पानी चरा आठ दिन उड्ने तर चरा हेरेर बनाइएको हवाईजहाज भने ८२ घण्टामात्रै उडेको रेकर्ड भएको रोचक तुलना पनि गरेका छन् । बर्ड फ्ल्यू फिरन्ते चराबाट नहुने, बाघ संरक्षणका नाममा धेरै खर्च गर्दा सर्वभक्षी कीरा खाएर अन्नबाली र वन जोगाउने फिस्टे चरामा चासो नदिइएकोमा उनले बहस छेड्ने प्रयत्न गरेका छन् ।

चराको मार्गमा ठूल्ठूला पोल, लामालामा तार बनाउनु हुन्न भनेका छन् । काठफोर अर्थात लाहाँचे चरोले काठ फोर्दा टाउको जोगाउने कला देखाएको भन्दै त्यस्तै तीनको ‘एन्टी सक संयन्त्र’लाई अध्ययन गरेर इन्जिनियरहरुले कार तथा हवाईजहाज दुर्घटनाको क्षति कम गर्नसक्ने तर्क गरेका छन् । ध्वनि प्रदूषणले वनस्पति तथा जीवजन्तुको पारिस्थितिक, प्रजनन क्षेत्रमा पारेको असरमा उनले खरो कलम चलाएका छन् । प्लास्टिक प्रयोग गरेर गुँड बनाउने चिलका कथा सबैलाई चित्ताकर्षक लाग्छ ।

१८६ पेजको किताबमा उनले हरेक अध्यायलाई रोचक बनाएका छन् । जलवायु परिवर्तन, वातावरणीय न्यायको विश्व मूलधारको बहसमा आएको हरित लेखन वा प्रकृति लेखनमा सापकोटाले एउटा इँटा थपेका छन् । तारकातार हरित लेखनमा सक्रिय भएर उनले तीन कुराको प्रमाणित गरेका छन्ः

एक, उनी विश्वको हरित लेखनको मूलधारसँग परिचित छन् र त्यसको नेपाली अध्याय थप्न प्रयत्नरत छन् ।

दुई, उनले हरित लेखन मूलधारको लेखन होइन अथवा यसलाई स्थापित प्रकाशन गृहले छाप्दैनन् भने हल्ला गलत प्रमाणित गरे ।

तीन, उनले हरित लेखनलाई रोचक बनाएमा यो आममान्छेको पठनको क्षेत्रमा पर्नसक्छ भन्ने उदाहरण पेस गरे ।

सापकोटाको किताबमा कमजोरी सम्बन्धित क्षेत्रका अध्येयता, वैज्ञानिक, विज्ञले भन्न सक्लान् । एक आमपाठकको लागि उनको किताबमा ५८० रुपैयाँ खर्च गर्दा घाटा हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *