काठमाडौं सडकका पुराना सोलार बत्ती हटाइँदै, १२ करोड खर्चेर नयाँ राखिने (भिडिओ) – Nepal Press

काठमाडौं सडकका पुराना सोलार बत्ती हटाइँदै, १२ करोड खर्चेर नयाँ राखिने (भिडिओ)

काठमाडौं । काठमाडौंको मुख्य सडकहरुमा राखिएका पुरानो सोलार बत्तीको ठाउँमा नयाँ राखिने भएको छ । काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा राखिएका पुराना सोलार बत्ती हटाएर आधुनिक बत्ती राख्न लागिएको हो ।

नयाँ राख्न अहिले पुराना बत्ती धमाधम हटाउन थालिएको छ । विद्युत प्राधिकरणसँगको सहकार्यमै पुरानो प्रतिस्थापन गरिने महानगरपालिकाका नगर प्रहरी निरीक्षक शिव दाहालले बताए ।

दाहालका अनुसार दरबार मार्ग आसपासका सडकहरुबाट पुरानो सोलार बत्ती हटाइसकिएको छ । बबरमहल क्षेत्रमा प्यानल निकाल्न थालिएको छ ।

गत वर्ष माघमा मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गर्न काठमाडौं महानगर र विद्युत प्राधिकरणबीच सम्झौता भएको थियो । सोही सम्झौताअनुसार नयाँ बत्ती राख्न लागिएको प्राधिकरणका प्रवक्ता भगवान ढकालले बताए ।

उनले भने, ‘महानगर क्षेत्रमा सडक बत्ती जडान गर्न महानगरले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने सम्झौता भएअनुसार काम सुरु गरिएको हो । अहिले हटाउने काम भइराखेको छ । त्यो सकिएपछि नयाँ बत्ती राख्ने काम हुन्छ ।’

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । रातिको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगर र प्राधिकरणले जनाएका छन् ।

स्रोतसाधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा सडक सौन्दर्यमा एकरुपता ल्याउन सहकार्य गरिएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले बताए ।

उनले भने, ‘काठमाडौंलाई चिनाउनुपर्‍यो । साथै झिलिमिली उज्यालो पनि चाहियो । त्यहीअनुसार बत्ती फेर्न लागिएको हो ।’

महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शीतल निवाससम्म, सिनामङ्गल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म आधुनिक बत्ती जडान हुनेछ । यी सडक बत्ती संरचनामा महानगरको पहिचान उल्लेख हुनेछ ।

यसैगरी विद्युत प्राधिकरणको लगानीमा सिनामङ्गल विमानस्थलदेखि तीनकुने, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरि बत्ती जडान हुनेछ । सम्झौताअनुसार यस क्षेत्रमा बत्ती जडान भएपछि जगेडा रहेमा आआफ्नो स्वामित्वमा भएका सौर्य बत्ती संरचना र यससँग सम्बन्धित प्यानल, ब्याट्रीलगायत सामानको आफैंले पुनः प्रयोग वा व्यवस्थापन गर्नुपर्नेछ ।

जडान सम्पन्न भएपछि सञ्चालन र व्यवस्थापन गर्न महानगरपालिकालाई हस्तान्तरण गरिने प्राधिकरणले जनाएको छ । यसपछिको मर्मत सम्भार महानगरपालिकाले नै गर्नेछ । त्यसपछि सडक बत्ती प्रयोग भएवापतको शुल्क महानगरपालिकाले प्राधिकरणलाई बुझाउने सम्झौता भएको प्राधिकरणका प्रवक्ता ढकालले बताए ।

अहिले सडकमा राखिएका अधिकांश सोलार बत्ती नबल्ने अवस्थामा छन् र राति सडक अन्धकार हुँदा दुर्घटनाको जोखिम बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर