के हो १५ जना घाइते हुने गरी लमजुङ क्याम्पसमा भएको झडपको वास्तविकता ? – Nepal Press

के हो १५ जना घाइते हुने गरी लमजुङ क्याम्पसमा भएको झडपको वास्तविकता ?

पोखरा । लमजुङमा रहेको लमजुङ कृषि क्याम्पसमा शनिवार दिउँसो भएको झडप १५ जना विद्यार्थी घाइते छन् । क्याम्पसमा एमाले र काँग्रेसका भातृ सङ्गठनका सम्बद्ध विद्यार्थीबीच झडप हुँदा १५ विद्यार्थी घाइते भएका हुन् ।

नेपाल विद्यार्थी सङ्घ र अ‍नेरास्ववियु सम्बद्ध विद्यार्थीहरूबीच झडपबाट उनीहरु घाइते भएका हुन् । केहीको लमजुङमै रहेको नमुना सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । त केही उपचारका लागि पोखरा, चितवन रिफर भएका छन् । झडप क्याम्पसकै होस्टेलमा भएको हो । झडपबाट होस्टेलको गेट र भित्रका सामानहरू टुटफुट भएको क्याम्पसका निमित्त प्रमुख अमृत खनालले बताए ।

गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन रिफर गरिएको छ । मदन रिजाल र वेदान्त घिमिरेको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र बिराज सुवेदी र टिकाराम ढकालको चितवनस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको क्याम्पसका निमित्त प्रमुख खनालले जानकारी दिए । उनका अनुसार झडपबाट मदनको टाउकोमा चोट, वेदान्तको देब्रे हात भाँचिएको, बिराज र टिकारामको नाकको हड्डी भाँचिएको छ ।

क्याम्पसकै होस्टेलमै किन भयो त यति ठुलो झडप ? झडपको विषय नयाँ भर्ना भएका विद्यार्थी कुन सङ्गठनको भन्ने हो । दुवै सङ्गठन नयाँ आउने विद्यार्थीलाई आआफ्नो सङ्गठनमा ल्याउन चाहन्छन् । यसो त उक्त क्याम्पसमा यसअघि पनि विद्यार्थीको विषयमा झडप हुँदै आएको थियो । शनिवार नेविसंघ सम्बद्ध विद्यार्थीहरू क्याम्पस होस्टेलमा पुगेका थिए ।

नेपाल विद्यार्थी सङ्घका क्याम्पस इकाई सभापति असीम वस्तिले नेविसंघको विद्यार्थी अनेरास्ववियुले राखेको भन्दै बुझ्न त्यहाँ पुगेको दाबी गरे । ‘नेविसंघका २ जना साथीहरू लुकाएर राखेको सुनेपछि कुरा गरौँ न भनेर हामी त्यहाँ गएका थियौँ । त्यसपछि त्यहाँ विवाद भयो । अनि दोहोरो झडप भएको हो,’ उनले भने, ‘नेविसंघका साथीहरू केही बढी भएकाले हाम्रो कम क्षति भएको हो । हाम्रा साथीहरू पनि घाइते हुनुहुन्छ ।’

अनेरास्ववियुले भने क्याम्पसको होस्टेलमा प्रवेश गरी नेविसंघको अराजक जत्थाले त्यहाँ बसिरहेका विद्यार्थीमाथि हमला गरेको दाबी गर्दै आएको छ । अनेरास्ववियु लमजुङका अध्यक्ष सागर खड्काले सुनियोजित रूपमै नेविसंघका व्यक्तिले आक्रमण गरेको बताउँछन् । ‘यो चाहिँ पूर्ण सुनियोजित देखिन्छ । नत्र ४०/५० जना व्यक्ति एक पटक रड लिएर ब्याट लिएर आउँदैनन् नि त । कुनै भनाभन, विवाद विनै आक्रमण सुरुवात भएको छ,’ उनले भने ।

नेविसंघले विद्यार्थीलाई छतबाट खसालेसमेत अनेरास्ववियुले आरोप लगाएको छ । तर, नेविसंघले भने दोहोरो झडपमा आफै हाम फालेको दाबी गर्दै आएको छ ।

झडपका क्रममा विद्यार्थीहरूले फलामे रड र क्रिकेटको ब्याट लगायत प्रयोग गरेको देखिएको क्याम्पसका निमित्त प्रमुख खनालले बताए । ‘घटना छात्र होस्टेलमा घटेको हो । क्याम्पसको होस्टेलमा करिब २ सय छात्र होस्टेलमा बस्छन् । होस्टेलको गेटदेखि धेरै सरसामान टुटफुट भएको छ । झडपमा रडहरू, क्रिकेट ब्याटहरू प्रयोग भएको देखिन्छ । थप सम्भावित घटना नहोस् भनेर होस्टेल खाली गरेका छौँ,’ उनले भने ।

होस्टेलभित्रै घटना घटेको जानकारीमा आएको लमजुङका प्रहरी निरीक्षक सूचना अधिकारी थानेश्वर चपाईंले बताए । झडपका घटनामा हालसम्म कसैलाई नियन्त्रणमा नलिएको र अवस्था सामान्य भएको सूचना अधिकारी चपाईंले सुनाए । ‘विद्यार्थी सङ्गठनको विषयमा भएको बुझिएको छ । घाइतेको उपचार भइरहेको छ । विद्यार्थीले नै विद्यार्थीमाथि आक्रमण गरेको देखिन्छ । अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौँ । अहिले अवस्था सामान्य छ,’ उनले भने ।

अनेरास्ववियु केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै लमजुङ क्याम्पसको घटनामा खेद प्रकट गरेको छ । होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघका जत्था प्रवेश गरी कोठा थुनेर गरेको आक्रमण मानव विरोधी गम्भीर अपराध भएको अनेरास्ववियुको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर