गठबन्धनबाट सीके राउतलाई हटाइँदै, बालुवाटारमा माधव नेपालसँग देउवा र प्रचण्डको ‘कपाली तमसुक’ – Nepal Press

गठबन्धनबाट सीके राउतलाई हटाइँदै, बालुवाटारमा माधव नेपालसँग देउवा र प्रचण्डको ‘कपाली तमसुक’

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारबाट हटाउन उपेन्द्र यादवभन्दा माधव नेपालको ताकेता बढेको छ ।

सीके र उपेन्द्रबीचको ‘इगो वार’बारे त सबै जानकार छन्,तर माधव नेपाललाई किन सिके राउतलाई सरकारबाट हटाउने हतारो भयो ? यसको खास कारण बालुवाटारमा हालै गरिएको कपाली तमसुक हो ।

गठबन्धनका एक शीर्ष नेताका अनुसार राष्ट्रिय सभाको सीट बाँडफाँटका क्रममा शेरबहादुर देउवा,पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालबीच सादा कागजमा तमसुक गरिएको थियो ।

माधव नेपाल,राजेन्द्र पाण्डे र घनश्याम भुसालले राष्ट्रिय सभाका १९ मध्ये ३ सीटको अडान नछाडेपछि अन्तिममा नेकपा एसलाई एक मन्त्री थप्ने सहमतिमा २ सीटमा मनाइएको थियो । नेपालले बोलीको भर नहुने भन्दै लिखत गर्नुपर्ने अडान लिएपछि एक मन्त्री थप्ने कागजमा तीनै नेताले हस्ताक्षर गरे ।

सोही कपाली तमसुक बोकेर हिँडेका नेपालले चाँडो एक मन्त्री थप्नका लागि सीके राउतलाई सरकार बाहिर पठाउन दबाब बढाएका हुन् । गठबन्धनमा भए पनि राउतले राष्ट्रिय सभामा अलग उम्मेदवार उठाएका छन् । उनी गठबन्धनको पछिल्लो बैठकमा पनि गएका थिएनन् ।

राउतको जनमत पार्टीबाट अनिता साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । राष्ट्रियसभा निर्वाचन लगत्तै अनिता साहलाई हटाएर माधव नेपालको पार्टीका एकजना मन्त्री थपिने सम्भावना रहेको प्रधानमन्त्रीनिकट एक नेताले नेपाल प्रेसलाई बताए ।

राउतलाई मधेश सरकारबाट निकालेका उपेन्द्र यादवले केन्द्र सरकारबाट पनि हटाउन दबाब दिइरहेका थिए । स्रोतका अनुसार जनमत पार्टीलाई हटाएपछि सोही मन्त्रालय नेकपा एसलाई दिने कि अन्य मन्त्रीहरू समेत फेरबदल गरेर मन्त्रालय हेरफेर गर्ने भन्नेबारे टुंगो लागेको छैन ।

कपाली तमसुक भएको बेला बालुवाटार बैठकमा रहेका एक नेताले भने–माधव नेपालले तमसुक कार्यान्वयन गर्न दबाब दिइसकेका छन् ।

सम्भवतः राष्ट्रियसभा निर्वाचनको लगत्तै नेकपा एसले एक मन्त्री थप पाउनेछ । प्रधानमन्त्री त्यही मेलोमा मन्त्रिपरिषद्को सेट नै फेर्न चाहनुहुन्छ तर शेरबहादुर देउवा गृहमन्त्रीबाहेक अरू फेर्न पर्दैन भन्नेमा हुनुहुन्छ । प्रधानमन्त्री चाहिँ अर्थमन्त्री फेर्न चाहने भएकाले गठबन्धनमै कुरा मिलेको छैन । यति चाहिँ प्रष्ट छ कि सीके राउत अब सरकारमा रहन्नन्, एक मन्त्रालय माधव नेपालले थप पाउँछन् ।

१० सीट भएको नेकपा एसले ३ मन्त्रालय पाउँदा १२ सीट भएको जसपाले असन्तुष्टि जनाउने सम्भावना पनि उत्तिकै छ । यद्यपि गठबन्धनमा लिखित सहमति भएकाले त्यो पालना हुने ती नेताले बताए ।

नेकपा एसबाट अहिले प्रकाश ज्वाला भौतिक पूर्वाधार, डा.बेदुराम भुसाल कृषिमन्त्री र नन्दा चपाई राज्यमन्त्री छन् । थप एक मन्त्रालय पाउँदा नेकपा एसबाट सरकारमा चार जनाले प्रतिनिधित्व पाउनेछन् ।

अध्यक्ष माधव नेपाल अहिलेका तीनैजना मन्त्री हटाएर नयाँलाई पालो दिने सोचमा देखिएका छन् । तीन मन्त्रालय पाउँदा एकजना राष्ट्रिय सभाबाट र २ जना प्रतिनिधिसभाबाट आउने बताइएको छ । नेकपा एसका निर्वाचित १० सांसदमध्ये माधव नेपालबाहेक अन्य ९ जनाले यो गठबन्धनको सरकारमा पालैपालो सबैले मन्त्री बन्न पाउने समझदारी समेत बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर