बागमती सरकारले पहिलो चौमासिकमा ९ प्रतिशत मात्र रकम खर्च गर्‍याे – Nepal Press

बागमती सरकारले पहिलो चौमासिकमा ९ प्रतिशत मात्र रकम खर्च गर्‍याे

हेटौंडा । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा निराशाजनक खर्च गरेको पाइएको छ । प्रदेश सरकारले चालु आर्थिकवर्षको पहिलो चौमासिक सकिँदा ५ अर्ब ७८ करोड ७१ लाख ७९ हजार रुपैँया मात्र खर्च गर्न सकेको हो ।

सरकारले चालू आर्थिक वर्षमा ६२ अर्ब ७० करोड १० लाख रुपैँया बजेट विनियोजन गरेकोमा पहिलो चौमासिकमा लक्ष्य भन्दा निकै न्यून रकम मात्र खर्च गर्न सकेको तथ्याङ्कमा उल्लेख छ । प्रदेश लेखा नियन्त्रक कार्यालय बागमती प्रदेश हेटौंडाका अनुसार प्रदेश सरकारले चालु खर्चतर्फ १३.४८ प्रतिशत, पुँजीगततर्फ ६.२१ प्रतिशत बजेट खर्च गरेको छ जुन निकै निराशाजनक प्रर्दशन हो ।

प्रदेश सरकार अन्र्तगत १२ मन्त्रालय मध्य मुख्यमन्त्रीको कार्यालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँमात्र खर्च गर्न सकेको छ ।

चालू आर्थिक वर्षमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको लागि २ अर्ब १० करोड ४९ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरेको मध्य ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँमात्र खर्च भएको छ । यो कुल बजेटको ३ प्रतिशत मात्र हो ।

सरकारको महत्वपूर्ण मन्त्रालयको रुपमा रहेको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको हातल पनि पहिलो चौमासिकमा निराशाजनक देखिएको छ । यो मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा १ अर्ब ७३ करोड २८ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।

सबैभन्दा धेरै बजेट विनियोजन भएको भौतिक मन्त्रालयको निराशाजनक खर्चले प्रदेश सरकारले सुरु गरेको ठुला आयोजना समेत निकै सुस्त गतिमा भैरहेको संकेत गर्दछ ।

भौतिक मन्त्रालयको लागि सरकारले चालुू आर्थिक वर्षमा २१ अर्ब ६६ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर सुरुको आर्थिक वर्षमा जम्माजम्मी ८ प्रतिशत मात्र खर्च हुँदा मन्त्रालयले ६० प्रतिशतको हारहारीमा मात्र काम गर्न सक्ने देखिएको छ ।

चालु आर्थिक वर्षमा बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले १६ प्रतिशत,आर्थिक मामिला तथा योजना मन्त्रालयले विनियोजित बजेटको १२ प्रतिशत,कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हालसम्म ७ प्रतिशत,वन तथा वातावरण मन्त्रालयले १२ प्रतिशत मात्र रकम खर्च गरेको छ ।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले कुल बजेटको ५ प्रतिशत रकम खर्च गर्दा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि कुल बजेटको ५ प्रतिशत मात्र रकम खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले ८ प्रतिशत रकम खर्चा गर्दा स्वास्थ्य मन्त्रालयले भने १३ प्रतिशत रकम खर्च गरेको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालू खर्चतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सबै मन्त्रालयको खर्चको अवस्थालाई मुल्याङ्न गर्दा प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ९ प्रतिशत मात्र बजेट खर्च गर्न सफल भएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर