श्रीमतीसँग डिभोर्स गर्दै हार्दिक पाण्ड्या, ७० प्रतिशत सम्पत्ति दिन तयार ! – Nepal Press

श्रीमतीसँग डिभोर्स गर्दै हार्दिक पाण्ड्या, ७० प्रतिशत सम्पत्ति दिन तयार !

नताशा बिहेअघि नै गर्भवती भएपछि हतारमा भएको थियो 'कोर्ट म्यारिज'

काठमाडौं । भारतीय क्रिकेटर हार्दिक पाण्ड्याको दिन राम्रो चलिरहेको छैन । प्रोफेसनल करिअरमा लय गुमाइरहेका उनी निजी जीवनमा समेत तनावबाट गुज्रिरहेका छन् ।

केही सञ्चारमाध्यममा प्रकाशित समाचारअनुसार हार्दिकको बैबाहिक सम्बन्ध धरापमा परेको छ । श्रीमतीसित उनको पारपाचुके भइसकेको हल्लासमेत चलेको छ । केही सञ्चारमाध्यमले श्रीमतीलाई ७० प्रतिशत सम्पत्ति दिएर डिभोर्स गर्न हार्दिक तयार बनेको समाचार प्रकाशित गरेका छन् ।

हार्दिकले सन् २०२० को ३१ मेमा सर्भियाकी मोडल नताशा स्टानकोभिकसँग हतारमा कोर्ट म्यारिज गरेका थिए । बिहे अगाडि नै नताशा गर्भवती थिइन् । विवाहको दुई महिनापछि उनीहरूलाई सन्तानलाभ भयो । गत वर्ष उनीहरूले छोरा खेलाउँदै परम्परागत रिवाजअनुसार बिहे गरे ।

तर, अहिले उनीहरू एक-अर्कासँग छुट्टिएको समाचार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । नताशाले केही दिनअघि इन्स्टामा आफ्नो नामबाट पाण्ड्या थर हटाएकी थिइन् । दुवैले एक-अर्कालाई अनफलो गरेका छन् भने एक-अर्काका तस्विरहरू पनि हटाएका छन् ।

नताशा यसपालि आईपीएलमा श्रीमानको खेल हेर्न पनि आइनन् । यसैगरी नताशाको जन्मदिन (गत मार्च ४) मा हार्दिकले केही पनि पोस्ट गरेनन् ।

डिभोर्सको तीव्र हल्ला चलिरहँदा दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् । बरू आज नताशाले आफ्नो पेजमा वर्कआउट गरिरहेको फोटो राखेकी छन् ।

यसपालिको आईपीएल हार्दिकका लागि विर्सनलायक बनेको छ । रोहित शर्माको कप्तानी खोसेर हार्दिकलाई मुम्बई इन्डियन्सको कप्तान बनाइएकोमा चरम आलोचना भयो । मैदानमा दर्शकले उनीमाथि अपमानजनक व्यवहार गरेका थिए ।

हार्दिकको व्यक्तिगत प्रदर्शन पनि दयनीय रह्यो । न उनी ब्याटिङमा चले न त बलिङमा । निजी जीवनको तनावको असर हार्दिकको खेलमा त परेको थिएन भन्ने पनि चर्चा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *