सिरोहिया प्रकरणबारे गगन थापाको टिप्पणी- मिडियामाथि ज्ञानेन्द्रकालको भन्दा बढी नियन्त्रण भयो (भिडिओ) – Nepal Press

सिरोहिया प्रकरणबारे गगन थापाको टिप्पणी- मिडियामाथि ज्ञानेन्द्रकालको भन्दा बढी नियन्त्रण भयो (भिडिओ)

‘सरकारको निरंकुश चरित्रविरुद्ध सडकमा आउँदैछौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरिएको घटनाप्रति आक्रोश व्यक्त गरेका छन् । उनले यसलाई सञ्चारमाध्यममाथि नियन्त्रण गर्ने सत्ताको प्रयासका रुपमा चित्रण गरे ।

आज पार्टी निकट पत्रकारको संगठन प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारल शाही सरकारको पालामा भन्दा बढी निरंकुश चरित्र देखाएको दाबीसमेत गरे ।

उनको भनाइको एक अंश

कुनै पनि व्यक्तिको व्यवसायिक र निजी जीवनको जवाफदेही निज आफैं हुनुपर्छ । त्यसैले त हामी गृहमन्त्रीमाथि अनुसन्धान गर भनिरहेका छौं । मेराबारेमा प्रत्येक विषय अनुसन्धान होस् भनिरहेको छु । कुनै एउटा मिडियाकर्मीमाथि अनुसन्धान नै गर्नुहुँदैन भन्ने होइन, तर म सञ्चारमाध्यमका साथीलाई आग्रह गर्न चाहन्छु, अहिले जुन प्रवृत्ति देखिरहेको छु, त्यो चिन्ताजनक छ । हामीले पूर्वराजा ज्ञानेन्द्रको छोटो शासनमा भोग्यौं । सञ्चारमाध्यममा प्रकाशित ‘कन्टेन्ट’माथि, विषयवस्तुमाथि नियन्त्रण गर्ने प्रयास त्योबेलामा पनि यत्ति भएको थिएन ।

मैले हेर्दै गर्दा यो कुनै मिडियासँग जोडिएको विषय होइन । मान्छे म¥यो भन्ने होइन कि काल पल्कियो भन्ने हो । यो भोलि तपाईंकहाँ पनि आइपुग्छ । केही समयपछि सत्ताले भनेको विषयवस्तुलाई चाहेको जसरी प्रश्न गर्नुभयो भने कानून बनाएर नियन्त्रण हुनसक्छ अथवा कानून पनि चाहँदैन । एउटा निर्णयबाट भोलिपल्ट के लेख्ने भन्ने निर्धारण हुनसक्छ । त्यही बाटोतर्फ लैजाने प्रयास भएको छ ।

प्रेस स्वतन्त्रता भनेकै प्रजातन्त्र हो । प्रेसले प्रश्न उठाउन छोड्यो भने त सकियो । कन्टेन्टमाथि सत्ताले कन्ट्रोल गर्ने प्रयास गरेको छ अहिले । हाम्रो सभापतिज्यूले भन्नुभयो कि कान्तिपुर स्थापना भएदेखि आजसम्म सबैभन्दा बढी गाली गरिएको, आलोचना भएको र लखेटेकोमा एक नम्बरमा मेरो नाम आउँछ, तर मेरो र मेरो पार्टीको कुरा आफ्नो ठाउँमा छ । यसको आधारमा मिडियालाई कन्ट्रोल गर्ने कुरा गलत हो ।

म आमनेपाली नागरिकलाई भन्न चाहन्छु । प्रकारान्तरले तपाईंसँग जोडिएको छ कांग्रेसले लिएको पोजिसन । एउटा निहत्था नागरिकले पनि माइतीघरमा उभिएर प्रश्न गर्न पाउनुपर्छ । नडराइकन प्रश्न गर्न पाउनुपर्छ । सत्ताले कसैको मुख थुन्दै गर्दा त्यसको रंग मन पर्दैनथ्यो भन्ने ठाउँबाट गयौं भने भोलि तपाईंको प्रश्न सोध्ने अधिकारलाई पनि कुण्ठित गर्ने ठाउँमा आइपुग्छ ।

यो गठजोड सत्ताको निरंकुशताउन्मुख रवैया छ । अनुदारवादी रवैया छ । अब सबैले बोल्ने बेला आयो । उहाँहरुलाई ठीक ठाउँमा उभ्याउने बेला आयो । हामी आज यसको विरोधमा सडकमा प्रदर्शन गर्न निस्किएका छौं । यो कुनै व्यक्तिसँग जोडिएको विषय होइन । प्रेससँग जोडिएका साथीहरुले यसको गहिराइलाई बुझ्नुपर्छ ।


प्रतिक्रिया

2 thoughts on “सिरोहिया प्रकरणबारे गगन थापाको टिप्पणी- मिडियामाथि ज्ञानेन्द्रकालको भन्दा बढी नियन्त्रण भयो (भिडिओ)

  1. यो के रहेछ स्पष्ट भयो । किर्ते नागरिकतामा छानबिन गर्दा मिडिया नियन्त्रण भन्ने यस्तालाई शिरोहियाको दलाल नभने के भन्ने ?दलाललाई जिताउनु नै हाम्रो महाभूल भएछ । घैटेको त पार्टनर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर