महन्थसँग बिच्किएका राजेन्द्रले लोसपामा गर्लान् त विद्रोह ? – Nepal Press

महन्थसँग बिच्किएका राजेन्द्रले लोसपामा गर्लान् त विद्रोह ?

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच देखिएको विवाद अझै साम्य हुने छाँट देखिएको छैन । केन्द्रीय पदाधिकारी र केन्द्रीय समिति विस्तारमा अध्यक्ष ठाकुरले एकलौटी गरेको आरोप लगाउँदै नेता महतो बिच्किएका हुन् ।

अध्यक्ष ठाकुरले सहमति कार्यान्वयन नगरेको भन्दै आइतबार बसेको केन्द्रीय समितिको बैठक महतोले बहिष्कार गरे । यसअघि बसेको कार्यकारिणी समितिको बैठकमा उनले छुटेका पुराना नेताहरु पदाधिकारी र केन्द्रीय समितिमा ल्याउनुपर्ने अडान राखेका थिए । तर, अध्यक्ष ठाकुरले अहिलेसम्म आफ्नो माग सम्बोधन नगरेको भन्दै महतो थप चिढिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाबाट अगल भएर लोसपा गठन गरेको दुई वर्ष बित्न नपाउँदै पूर्वकांग्रेस पक्षधरका र पूर्वसद्भावनाका नेताहरुबीच टकराव परेको हो । अध्यक्ष ठाकुर पूर्वकांग्रेस हुन् भने महतो तत्कालीन सद्भावनाका हुन् ।

कांग्रेसबाट आएर आफूहरुलाई अध्यक्ष ठाकुरले हेप्न थालेको महतोको बुझाइ छ । अब पार्टीमा कसरी अघि बढ्ने भन्नेबारे आफू निकटका नेताहरुसँग गृहकार्य गरिरहेका छन् । पार्टी विभाजन गर्न नसक्ने अवस्था नभए महातोले नयाँ दल दर्ता गर्नेसम्मको तयारी गरिरहेको बताइन्छ ।

तर, अब कसरी अघि बढ्ने भन्ने कुरा अध्यक्ष ठाकुरको निर्णयमा निर्भर हुने नेता महतोले बताए ।

नयाँ दल खोल्न लागेको हो भन्ने नेपाल प्रेसको जिज्ञासामा उनी भन्छन्, ‘अहिले कुनै तयारी गरेको छैन । ठाकुरजी कसरी अगाडि बढ्नुहुन्छ, हेर्दैछु ।’

बैठक बहिष्कार गरेपछि अहिलेसम्म अध्यक्ष ठाकुरसँग संवाद नभएको उनले बताए । यद्यपि, उनले अध्यक्ष ठाकुरले कार्यशैली नसुधारे सँगै अघि बढ्न नसक्ने बताउन थालेको उनी निकट नेताहरु बताउँछन् ।

तर, अध्यक्ष ठाकुर निकट एक नेता महतोले अहिले नै नयाँ दल दर्ता नगर्ने दाबी गर्छन् ।

ती नेताले भन्छन्, ‘महतोजीले आफू निकटका केही व्यक्तिहरु कमिटीमा नपरेपछि बैठक बहिष्कार गर्नुभएको हो । तर, उहाँ नयाँ पार्टी खोल्नेतिर जानुहुन्छ भन्ने लाग्दैन । अहिलेको परिस्थितिले त्यो देखाउँदैन ।’

ती नेताले अध्यक्ष ठाकुर र महतोबीचको संवादबाट समस्या समाधान हुनसक्ने भए पनि अहिलेसम्म वार्ता नभएको स्वीकारे ।

महतो भन्छन्, ‘अहिले पार्टी खोल्ने कुरा नगर्नुहोस् । हामी अहिले अध्यक्षज्यूको कार्यशैलीको विरोधमा उत्रिएका हौं । आवश्यकअनुसार संघर्ष गर्दै जान्छौं ।’

अर्का नेता अनिल झाले आफूले बैठक बहिष्कार नगरेको जिकिर गर्छन् ।

उनले भने, ‘म केही महिनादेखि निजी काममा छु । त्यसैले नगएको हो । तर, मैले बैठक नै बहिष्कार गरेको भन्ने सत्य होइन ।’

लोसपाले असारमा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति गठन गरेको थियो । केन्द्रीय समितिमा एक अध्यक्षसहित तीन वरिष्ठ नेता, एक वरिष्ठ सहअध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सहमहासचिव, ११ सचिव, २ कोषाध्यक्ष र प्रवक्ता तथा सहकोषाध्यक्ष एकएक जना रहेका छन् ।

यो कमिटी विस्तारको क्रममा अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै नेता महतोले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेपछि विवाद सतहमा आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर